रक्तदाता समूह (ब्लोदान) वीरगंजले विश्व रक्तदाता दिवसको अवसरमा जेठ ३२ गते रक्तदान गर्ने सङ्घसंस्था, व्यक्तिहरूलाई सम्मान गर्ने भएको छ। बुधवार पत्रकार सम्मेलनको आयोजना गरी ब्लड डोनर्स एशोसिएशन, पर्साका अध्यक्ष शत्रुघ्न नेपालले २०८० वैशाखदेखि २०८१ वैशाख मसान्तसम्म ५० पटकभन्दा बढी रक्तदान गरेका सङ्घसंस्था, व्यक्तिहरू ८१ जना, आकस्मिक रक्तदान गर्ने ५४ जना र रक्तदान कार्यक्रमको लागि आर्थिक सहयोग गर्ने व्यक्ति तथा पालिकाहरू १७ समेत १५२ जनालाई सम्मानित गर्ने बताए। उनले गत वर्ष त्रिदिवसीयरूपमा विश्व रक्तदाता दिवस मनाउँदै आएको तर यसपटक अत्यधिक गर्मीका कारण सम्मान कार्यक्रम मात्र गरेर दिवस मनाउने बताए।
पत्रकार सम्मेलनमा २०८० वैशाखदेखि २०८१ वैशाखसम्म १४ हजार ५८३ पिन्ट रक्त सङ्कलन भएको र १६ हजार ३०३ पिन्ट रक्त वितरण भएको जानकारी दिइएको थियो। यस अवधिमा १३ हजार ६१४ जना पुरुष र एक हजार २९ जना महिला सहभागी भएको जानकारी दिइयो। यसैगरी, यस अवधिमा सबैभन्दा बढी साताव्यापी कार्यक्रम गरेर राउन्ड टेबुलले ४६५ पिन्ट, इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीले ३०० र रेडियो वीरगंजले २४५ पिन्ट रगत सङ्कलन गरेको उल्लेख गरिएको थियो।
यसैगरी, यस अवधिमा दुईजना व्यक्ति र पर्सा, बारा, रौतहट गरी १५ वटा गापा, वडापालिकाले गरीब, असहायहरूको लागि निश्शुल्क रगत उपलब्ध गराउन आर्थिक सहयोग गरेको जानकारी गराइएको थियो। पत्रकार सम्मेलनमा एशोसिएशनका सचिव अरविन्द सिंह, शिवप्रसाद गुप्ता, रक्तसञ्चार केन्द्रका राजन रौनियार, नेपाल पत्रकार महासङ्घ पर्साका उपाध्यक्ष् युवराज खड्का, प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष तुलसी भण्डारी, प्रेस सङ्गठन पर्साका अध्यक्ष शम्भुकुमार सुमन, बानका आशिक अन्सारीलगायतको सहभागिता थियो।