काठमाडौं, ३० जेठ/रासस

अस्ट्रेलिया नामिबियालाई हराउँदै आइसिसी टी–२० विश्वकप २०२४ को सुपर आठमा पुगेको छ। वेस्ट इन्डिजको सर भिभियन रिचड्र्स रङ्गशालामा भएको खेलमा अस्ट्रेलियाले नामिबियालाई नौ विकेटले पराजित गर्दै विश्वकपको सुपर आठमा प्रवेश गरेको हो। समूह ‘बी’मा रहेको अस्ट्रेलियाले लगातर तेस्रो जीत निकाल्दै विश्वकपको सुपर आठमा पुगेको हो। अस्ट्रेलियाले यसअघि ओमानलाई ३९ र इङ्ग्ल्यान्डलाई ३६ रनले हराएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार नामिबियाले जीतका लागि दिएको ७३ रनको सामान्य लक्ष्य पछ्याएको अस्ट्रेलियाले पाँच दशमलव चार ओभरमा एक विकेट गुमाउँदै पूरा ग–यो। अस्ट्रेलियाका लागि ट्रभिस हेडले सर्वाधिक ३४ रनको योगदान दिए। उनी १७ बलमा पाँच चौका र दुई छक्कासहित ३४ रनमा अविजित रहे। त्यस्तै, डेविड वार्नरले २० रन जोड्दा कप्तान मिचेल मार्सले १८ रन बनाए। नामिबियाका डेविड विजाले एक विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिड्ढो गरेको नामिबिया १७ ओभरमा सबै विकेट गुमाउँदै ७२ रनमा समेटिएको थियो। नामिबियाका लागि कप्तान जेराल्ड इरास्मसले ४३ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ३६ रनको योगदान दिए। त्यस्तै, माइकल भान लिङ्गेनले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

समूह ‘बी’मा अस्ट्रेलिया तीन खेलमा छ अङ्कका साथ शीर्ष स्थानमा छ। त्यसैगरी, सोही समूहमा रहेको स्कटल्यान्ड तीन खेलमा दुईमा जीत र एक खेलमा अङ्क बाँड्दै पाँच अङ्कका साथ दोस्रो स्थानमा छ। नामिबिया तीन खेलमा एक जीत र दुई खेलमा हारसहित दुर्ई अङ्कका साथ तेस्रो स्थानमा छ। इङ्ग्ल्यान्ड दुई खेलमा एक अङ्कका साथ चौथो स्थानमा छ। ओमान तीन खेलमा जीतविहीन हुँदै विश्वकपबाट बाहिरिसकेको छ। विश्वकपमा सहभागी प्रत्येक समूहका शीर्ष दुई स्थानमा पुग्ने टोली सुपर आठमा पुग्ने प्रावधान रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here