काठमाडौं, ३० जेठ/रासस

फिफा विश्वकप २०२६ अन्तर्गत एशियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपाल र  यमनले समान गोल गरेका छन्। साउदी अरबको दमामस्थित प्रिन्स मोहमद बिन फहद मैदानमा बुधवार बिहान सखारै समाप्त भएको खेलमा नेपाल र यमनबीचको खेल दुई/दुई गोलको बराबरीमा टुङ्गिएको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नेपालका लागि फरवार्डरद्वय सञ्जीव विष्ट र जिलेस्पीजङ्ग कार्कीले समान एक/एक गोल गरे। खेलको  नवौं मिनेटमा पेनाल्टीमार्फत नेपालले गोल खान पुगेको थियो। बक्सभित्र मनीष डाँगीले यमनका खेलाडी रमी अल–वासमानीमाथि खेल नियम उल्लङ्घन गरेपछि यमनले पेनाल्टी पाएको थियो। पेनाल्टी सदुपयोग गर्दै नसीम अल–गाहवाहीले गोल गरेका थिए।

खेलको २२औं मिनेटमा सञ्जीवले गोल फर्काएका थिए। खेलको ६६औं मिनेटमा नेपालले अग्रता लियो। नेपालका छिरिङ लामाले खेलेको क्रसमा सञ्जीवकै हेडरमा जिलेस्पीले गोल गरे। नेपालको दुई–एक गोलको अग्रता लामो समयसम्म टिक्न सकेन। खेलको दोस्रो हाफको अतिरिक्त समयमा यमनका मोहम्मद अल–दाहीले गोल गरेपछि अन्ततः खेल दुई/दुई गोलको बराबरीमा सकियो।

उक्त छनोट प्रतियोगितामा नेपालले एक अङ्क जोडेको छ। नेपालले यसअघि कुनै पनि गोल गर्न सकेको थिएन। यो खेलसँगै नेपालले समूह चरणका छ खेलमा एक अङ्क जोड्दै विश्वकप छनोटको दोस्रो चरणको यात्राको अन्त्य गरेको छ।

यसअघि नेपाल युएईसँग पहिलो खेलमा चार–शून्य र यमनसँग दुई–शून्यले पराजित भएको थियो। बहराइनसँगको पहिलो खेलमा पाँच–शून्य र दोस्रो खेलमा तीन–शून्यले नेपाल पराजित भएको थियो।

नेपाल रहेको समूह ‘एच’मा संयुक्त अरब इमिरेट्स (युएई) १६ अङ्कसहित शीर्षस्थानमा छ भने बहराइन ११ अङ्कसहित दोस्रोमा छ। यी दुई टोली विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गरेका छन्। पाँच अङ्कसहित तेस्रो भएको यमन र नेपालले एशियन कप छनोटको तेस्रो चरणमा पनि स्पर्धा गर्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here