ब्रसेल्स, बेल्जियम, २८ जेठ/एएनआई

बेल्जियमका प्रधानमन्त्री अलेक्ज्यान्डर डी क्रूले आइतवार सम्पन्न राष्ट्रिय र युरोपेली संसदीय चुनावमा आफ्नो दलको हारपछि राजीनामा दिएका छन्।

आइतवार राति ब्रसेल्समा यस्तो घोषणा गर्दा आँसु रोक्न गा–हो भएको भन्दै उनले उपलब्ध नतीजा आफूले  आशा गरेको नतीजा नभएको बताए।

भोलिसम्म प्रधानमन्त्रीको पदबाट राजीनामा दिने र वर्तमान मामिलामा पूर्णरूपमा ध्यान केन्द्रित गर्ने उल्लेख गरेको सिएनएनले जनाएको छ।

आरटिबिएफको मतदानलाई उद्धृत गर्दै सिएनएनले डी क्रूको ‘ओपन भिएलडी’ दलले युरोपेली संसद्मा ५.८ प्रतिशत मत प्राप्त गरेको र यो राम्रो प्रदर्शन नभएको जनाएको छ।

आरटिबिएफको सर्वेक्षणले अति दक्षिणपन्थी ‘भ्लामस बेलाङ पार्टी’ र ‘फ्लेमिश नेशनलिस्ट (एनभिए) पार्टी’ले क्रमशः १४.८ र १४.२ प्रतिशत मतका लागि बराबरी रहेको देखाएको छ।

राजीनामाको घोषणा गर्दै डी क्रूले बेल्जियमलाई आफ्नो कार्य लिन सक्ने पूर्ण शक्तिको नयाँ सरकार चाहिने विश्वासलाई जोड दिंदै आफ्नो उत्तराधिकारीलाई शक्तिको ‘उचित हस्तान्तरण’ गर्ने प्रतिबद्धता जनाए।

सिएनएनका अनुसार युरोपेली सङ्घका २७ सदस्य राष्ट्रमा मतदान हाललाई बन्द भएको छ भने अन्तिम मतदान इटालीमा भएको थियो।

युरोपेली सङ्घको चुनावले विश्वको दोस्रो ठूलो लोकतान्त्रिक अभ्यासको प्रतिनिधित्व गर्छ, जुन परिमाणको हिसाबले भारतको चुनावभन्दा पछाडि छ। युरोपेली सङ्घमा लगभग ४० करोड मतदाताले आर्कटिक सर्कलदेखि अफ्रिका र एशियाको सिमानासम्म फैलिएको युरोपेली संसद्का ७२० सदस्य चयन गर्नेछन्।

यी चुनावको नतीजाले जलवायु परिवर्तन, रक्षादेखि आप्रवासन र चीन र संयुक्त राज्य अमेरिकाजस्ता प्रमुख वैश्विक राजनीतिक खेलाडीसँग अन्तर्राष्ट्रिय सम्बन्धसम्मका विश्वव्यापी मुद्दामा नीति निर्धारण  गर्नेछ। सन् २०१९ को पछिल्लो युरोपेली चुनावदेखि भूराजनीतिक गतिशीलता उल्लेखनीयरूपमा परिवर्तन भएको छ।

रूसले युक्रेनमा गरेको आक्रमणले युरोपेली सङ्घको किनारमा द्वन्द्व ल्याएको छ, जसले यस क्षेत्रमा शान्ति र स्थिरता कायम गर्न सङ्घको भूमिकालाई जोड दिएको छ। युरोपेली सङ्घमा सामेल हुन चाहने युक्रेनले भूराजनीतिक जटिलतालाई थप जोड दिन्छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here