वन संवद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापनसम्बन्धी दुुई दिने तालीम पथलैयामा शुक्रवार सम्पन्न भएको छ।
कार्यक्रममा डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले वन संवद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापनले वन क्षेत्रको विकास, संरक्षण, संवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले वनको साबिक प्राकृतिक स्रोत, साधन, वन पैदावरलाई यथावत् राखी अर्थात् नघट्ने गरी र त्यसभन्दा बढी उत्पादन भएका वन पैदावरको समुचित व्यवस्थापन गर्नु नै दिगो वन व्यवस्थापन हो भन्दै अन्ततः वन क्षेत्रको संरक्षण, विकास, संवद्र्धन, उत्पादनमा वन कर्मचारी, सामुदायिक वन वा साझेदारी वनका पदाधिकारी, उपभोक्ताहरूको सामूहिक प्रयासले सम्भव हुने बताए।
मधेस प्रदेश वन तथा वातावरण मन्त्रालयका वन निर्देशक जगन्ननाथप्रसाद जयसवालले सबैको दायित्व वनको संरक्षण गर्दै वन ऐन कानूनको परिधिभित्र रही उत्पादन भएका वन पैदावरको पारदर्शी ढङ्गले उचित व्यवस्थापन गर्नु रहेको बताए। वनविनाशले वातावरण असन्तुलन हुुने, प्राकृतिक विपत्ति निम्तन सक्ने भन्दै यसतर्फ सबैजना सचेत, सजग र चनाखो हुन जरुरी भएको सुझाए।
मधेस प्रदेश वन तथा वातावरण मन्त्रालयका उपसचिव राजीवकुमार झाले विगतका भन्दा अहिले मधेस प्रदेशको वन क्षेत्रको अवस्था सुधारोन्मुख रहेको बताए। सबैले आफ्नो जिम्मेवारीबाट पछि हट्न नहुने बताउँदै पुनः उत्पादनमा जोड दिन वन क्षेत्रको अतिक्रमित भूभागहरू खाली गराउनुपर्ने उनले बताए। प्राकृतिक स्रोत वन भावी पुस्ताहरूका पनि सार्वजनिक राष्ट्रिय सम्पत्ति भएको बताउँदै यसको संरक्षणमा जोड दिनुपर्ने प्रत्येक नागरिकको जिम्मेवारी भएको उनले जिकिर गरे।
उनले वन ऐन, कानूनको अधीनभित्र रही वनको संरक्षण गर्दै सामुदायिक वन उपभोक्ता समूहले आफ्नो कार्ययोजनाका आधारमा वनको विकास, संवद्र्धन लगायतका कार्य गर्न आग्रह गर्दै सुक्खायाम भएकोले वन डढेलो वन क्षेत्रमा लाग्न नदिने गरी सक्रिय रहन वन समूहका पदाधिकारीहरूलाई आग्रह गरे।
डिभिजन वन कार्यालय, बाराको आयोजनामा गढीमाई साझेदारी वन व्यवस्थापन समिति पथलैयाको सभाहलमा सम्पन्न कार्यक्रममा वन अधिकृतहरू विनोद पटेल, सञ्जयकुुमार चौधरी, नीरज साह, सोमलाल घलान, रेन्जर नीरज पोखरेलले सहजीकरण गरेका थिए। जिल्लाका विभिन्न सामुदायिक वन समूह, साझेदारी वन समितिका पदाधिकारी, प्रतिनिधि तालीममा सहभागी रहेको कार्यक्रम संयोजक वन अधिकृत विनोद पटेलले बताए। गढीमाई साझेदारी वन व्यवस्थापन समिति, पथलैयाका अध्यक्ष रामएकबाल प्रसादको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सन्दीप पटेलले गरेका थिए।