विश्व वातावरण दिवसमा यही जेठ २३ गते बुधवार देशभरि वृक्षारोपण गरियो। ‘हरियो वन नेपालको धन’ लोकोक्ति पछिल्लो समयमा ‘नेपालको वन तस्करको धन’ चरितार्थ भएको छ। वनजङ्गल मासेर बस्ती बसाउने क्रम अहिलेसम्म रोकिएको छैन भने विकासको नाममा वनविनाश गर्ने क्रम पनि बढ्दो छ। दुई दशकअघि नेपालमा घरायसी प्रयोजनमा खाना पकाउन, आगो ताप्न दाउराको प्रयोग बढी हुन्थ्यो। अहिले यसको विकल्पमा खाना पकाउने ग्याँस, विद्युतीय चुलोको प्रयोग बढी रहेको छ। यद्यपि ग्याँसको तुलनामा विद्युतीय चुलोको प्रयोग बढ्न सकेको छैन। मधेस आन्दोलनको क्रममा खाना पकाउने एलपी ग्याँसको अभाव भएको र धेरैजसोको पहुँच दाउराबाट टाढिएकोले विद्युतीय चुलोको प्रयोग बढेको थियो। तर सबै नेपालीले विद्युतीय चुलो प्रयोग गर्न सोअनुरूपको विद्युत् उत्पादन देशमा हुन सकेको छैन। गर्मीयाममा नदीमा पानीको स्तर बढेसँगै विद्युत्को उत्पादन बढ्ने र जाडोयाममा पानीको स्तर घटेर विद्युत् उत्पादन घट्ने हुँदा अहिले पनि हामीले भारतबाट बिजुली आयात गर्नुपर्ने अवस्था छ। साना/ठूला जलविद्युत् गृहको उत्पादनको क्षमता बढाएर भारत, बङ्गलादेशमा बिजुली बिक्री गर्नेगरी तयारी बर्सेनि हुन्छ। तर नियमितरूपमा विद्युत् उत्पादन क्षमता नबढ्दा देशमा उत्पादित विद्युत् बढी भएर निर्यात कार्यले निरन्तरता पाउन सकेको छैन।

विद्युत् उत्पादनसँगै स्वदेशमा यसको प्रयोग बढेको खण्डमा हामी खाना पकाउन, जाडोमा हिटर ताप्न, अनि पानी तताउन ग्याँस र पेट्रोलियम पदार्थमा आश्रित हुनुपर्ने थिएन। हामीले गर्न सक्ने यो काम पनि चाखलाग्दो तरीकाबाट नगर्दा पेट्रोलियम पदार्थमा बढी निर्भर बन्दै गएका छौं र यसबाट ठूलो रकम बाहिरिने क्रम जारी छ। पेट्रोलियम पदार्थको बढी खपत सवारीसाधनमा हुन्छ। हाम्रो देशमा हैसियतवालासँगै उनीहरूको देखासिकी घर खर्च धान्न नसक्नेहरूले पनि सवारीसाधनहरूको प्रयोग बढाउँदा समस्या घट्नुको साटो बढिरहेको हो। यसलाई नियन्त्रणका लागि सरकारले मापदण्ड बनाएर लागू गर्न सकिरहेको छैन। जसरी वैदेशिक रोजगारमा युवाहरू गइरहेका छन् र उनीहरूले पठाएको विप्रेषणले देश चलिरहेको छ, त्यसैगरी विदेशी सवारीसाधनको आयात बढाएर सरकारले बढी मात्रामा कर उठाउँदै आएको छ। गत वर्षसम्म सरकारले वैदेशिक मुद्राको अभाव टार्न विलासिताका सामानहरूको आयातमा रोक लगाएको थियो। त्यसपछि देशको आर्थिक अवस्था केही लयमा आउनासाथ अहिले विलासिताका वस्तुहरूको आयात क्रमशः खुला गर्दै गएको देखिन्छ।

अब कुरा गरौं, विश्व वातावरण दिवस र वृक्षारोपणको। अहिलेसम्म हामीले औपचारिकता पूरा गर्न यो दिवस मनाउने र दिवसका अवसरमा वृक्षारोपण गर्दै आएका छौं।  विभिन्न उत्सवहरूमा वृक्षारोपण गर्ने कार्य फेशन नै भएको छ। तीन/चार दशकदेखि यो फेशन जारी छ। विभिन्न कार्यक्रमहरूमा वृक्षारोपण गरिन्छ। वृक्षारोपण गर्नु राम्रो हो तर देखावटीको लागि होइन। वीरगंजमा गिनेचुनेका संस्थाबाहेक अधिकांशले नाम र चर्चाको लागि वृक्षारोपण गर्ने गरेका छन्। जसरी वृक्षारोपण गरिन्छ, त्यसैगरी हेरचाह पनि हुनुपर्छ। यस्तो जिम्मेवारीपूर्ण कार्यमा हामीचुक्दै आएका छौं, त्यसैले जति नै वृक्षारोपण गरे पनि हरियाली क्षेत्र बढ्न सकेको छैन। जसरी वृक्षारोपण गरिन्छ, त्यसरी नै जिम्मेवारीपूर्वक हेरचाहमा ध्यान दिएमा वातावरण हरियाली हुने थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here