– बैधनाथ श्रमजीवी

यसै हप्ता विश्व वातावरण दिवस २०८१ नेपालभरि स्कूल, कलेज तथा विभिन्न सङ्घसंस्थामा रूख–बिरुवा रोपेर मनाइयो। वातावरण भन्नाले  प्राकतिक, सांस्कृतिक र सामाजिक प्रणाली, आर्थिक तथा मानवीय क्रियाकलापसमेतको अवस्था बुझिन्छ। त्यसैगरी प्रदूषण भन्नाले फोहरमैला, रसायन, ताप, ध्वनि, विद्युतीय, विद्युत–चुम्बकीय वा रेडियोधर्मी विकिरणका कारण प्रत्यक्ष वा अप्रत्यक्ष परिवर्तन ल्याई वातावरणमा उल्लेखनीय ह्रास ल्याउने, क्षति पु–याउने वातावरणको लाभदायी वा उपयोगी प्रयोजनमा हानि पु–याउने कार्यहरू बुझ्नुपर्छ।

अहिले संसारभरि आठ अर्ब मानिस छन्। करीब अठासी लाख प्राणीमध्ये मानिसलाई सर्वश्रेष्ठ पनि भनिन्छ। त्यसैले उसले निरन्तर आफ्नो जीवनलाई सहज र सरल बनाउन चाहन्छ। यस क्रममा मानिसले धेरै नयाँ आविष्कार पनि गरेको छ तर आफ्नो जीवनलाई अझ सुखमय बनाउन प्रकृति र यसको संरक्षणतर्फ खासै गम्भीर देखिंदैन। आफ्नो स्वार्थका लागि प्राकृतिक वातावरणलाई निरन्तर नाश गर्दैछ। त्यसैले आज पहिलेको तुलनामा गर्मी, जाडो, वर्षा, अकाल, आगलागीजस्ता घटना बढेका छन्। यसरी आज प्रकृति प्रतिकूल हुनुको प्रमुख कारण हामी नै हौं र यसले गर्दा मानवको साथै पृथ्वीमा बसोवास गर्ने सम्पूर्ण प्राणीको जीवनमा समस्या देखिएको छ।

आजको मानिस आधुनिक र विकसित मानिस हो। मानिसहरू उपलब्ध सुविधाबाट खुशी त छन्, सन्तुष्ट भने छैनन्। यसको मुख्य कारण प्रतिकूल हुँदै गएको प्राकृतिक प्रणाली हो। कलकारखानाबाट निस्कने फोहोर र दुर्गन्ध, मोटरगाडीले फाल्ने धूवाँ र वन फडानीजस्ता कामले हावा र माटो दुवै दूषित हुँदै गएका छन्। यसले मानिसको जीवनमा ठूलो असर पारिरहेको छ। वातावरण सफा र स्वच्छ भए मानिसको सोचमा सकारात्मकता आउँछ। शुद्ध प्राकृतिक वातावरणमा मानिसलगायत अरू प्राणी पनि स्वस्थ रहन सक्छन् आजको मानिस प्रतिकूल वातावरणका कारण विभिन्न खालका रोगले गिजोलिएको छ। मज्जको कुरा के हो भने यी सबै समस्याको मुख्य कारण मानिस आफैं हो।

वास्तवमा वातावरण भनेको प्राकृतिक सम्पदा हो । तर बढ्दो वातावरण विनाशले गर्दा केही वनस्पति तथा जीवजन्तु लोप हुँदैछन् भने केही लोपोन्मुख  अवस्थामा छन् । विकासको नाममा सिर्जित शहरीकरण, फोहोरमैला, आणविक भट्टीबाट निस्कने विषालु ग्याँस, तीव्र जनसङ्ख्या वृद्धि, प्राकृतिक सम्पदाको तीव्र दोहनले वातावरणीय विनाश तीव्रतर भएको छ । वातावरणीय विनाशले मरुभूमीकरण, ओजन तहको नाश, बाढी–पहिरो र हरितगृह प्रभाव बढ्ने क्रममा छ । मानवीय क्रियाकलापले हुने वातावरणीय विनाशलाई वायु, जल, भू र खाद्य विनाशको रूपमा विभाजन गर्न सकिन्छ ।

यतिबेला नेपालमा जल, वायु, भूमि प्रदूषणका साथै दृश्य प्रदूषण पनि बढेको छ । यहाँ अग्ला भवन निर्माण र ती भवनहरूमाथि राखिएका होर्डिङ बोर्डहरूले दुर्घटनाहरू निम्त्याइरहेका छन् भने मनोहर दृश्यहरू छेकिएका छन् । भवन आचारसंहितालाई कडाइका साथ लागू गर्न नसक्दा यहाँको भौतिक सम्पदा मासिने र ठूला भवनहरूले पुरातात्विक महत्वका मठ–मन्दिरहरू छेकिएका छन् । यी कुराहरूलाई बेवास्ता गरेमा कुनै पनि बेला विश्व सम्पदा सूचीमा रहेका पशुपतिनाथ, स्वयम्भू, चाँगुनारायण, काठमाडौं, ललितपुर र भक्तपुर दरबार स्क्वायरजस्ता क्षेत्र उक्त सूचीमा नरहन सक्छन् ।

नेपालको संविधान ०७२ को धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हक प्रत्याभूत गर्नुको साथै पीडित पक्षलाई वातावरणीय प्रदूषण वा ह्रास वा कानूनबमोजिम क्षतिपूर्ति पाउने व्यवस्था छ । तर वर्तमान समयमा यहाँको वातावरण प्रदूषणले मानव स्वास्थ्य मात्र होइन, सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा समेत गम्भीर असर परेको छ । यहाँको वातावरण स्वच्छ राख्न दिगो विकासको अवधारणा, वातावरणीय प्रभाव मूल्याङ्कन, पूर्व सावधानी, सार्वजनिक न्यायलगायत विषयमा ध्यान दिन आवश्यक छ । योबाहेक सरकारले वातावरण संरक्षणका लागि विद्यालयस्तरमा पाठ्यपुस्तक, सञ्चार माध्यमहरूमा चेतनामूलक सामग्रीहरू प्रचारप्रसार गर्न पनि उत्तिकै जरूरी छ ।

सिमसार क्षेत्रमा विभिन्न किसिमका वनस्पति हुन्छन् । यहाँ धेरैथरीका जीवजन्तु बसोवास गर्ने हुनाले उक्त क्षेत्रको संरक्षण गरेमा वनस्पति तथा जीवजन्तुहरूको सुरक्षा हुन्छ । फलतः वातावरण संरक्षणमा पनि सकारात्मक प्रभाव पर्छ । तर धेरैजसो देशमा सिमसार क्षेत्रको अस्तित्व नै सङ्कटमा परेको छ । भू–माफियाहरूको चलखेलको कारण उक्त क्षेत्र तीव्ररूपले अतिक्रमित हुँदैछ भने अव्यवस्थितरूपमा बढिरहेको आवास क्षेत्रको कारण केही सिमसारको अस्तित्व लोप हुने अवस्था छ ।

सबैले बुझेकै कुरो हो अधिकांश जीवजन्तुले वनजङ्गल, घाँसे मैदान, जलक्षेत्र वरपर बच्चा कोरल्ने, वासस्थान बनाउने र विचरण गर्ने हुनाले सिमसार क्षेत्रले जैविक विविधताको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्छ । तर वनजङ्गलको बढ्दो अतिक्रमण, चुरे क्षेत्रको अत्यधिक दोहन, भू–माफियाहरूद्वारा जग्गा अतिक्रमण र अव्यवस्थित फोहोरमैला विसर्जनका कारण नेपालका सिमसार क्षेत्र घट्दो क्रममा छ । एक आधिकारिक तथ्याङ्क अनुसार नेपालमा ६०,५६१ हेक्टर जग्गा सिमसार क्षेत्रले ओगटेको छ । त्यसैले उक्त क्षेत्र संरक्षण गर्न सके वातावरण संरक्षणमा ठूलो योगदान पुग्नेछ ।

वातावरण रहे मात्र हामी बाँच्न सक्छौं भन्ने कुराको बेवास्ता गरेर दिनानुदिन शहरीकरण, आणविक हातहतियार तथा विषालु रसायनको प्रयोगले गर्दा मानव जातिको मात्र नभई पृथ्वीमा रहेका जीवजन्तु तथा वनस्पतिको समेत नाश हुन सक्ने गम्भीर परिवेश हाम्रो अगाडि विद्यमान छ ।

 वातावरणीय संरक्षणका लागि सन् १९८३ मा संयुक्त राष्ट्रसङ्घीय विकास तथा वातावरणसम्बन्धी आयोग गठन भएको थियो । उक्त प्रतिवेदन कार्यान्वयन गर्न सन् १९९२ मा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम अन्तर्गत, ब्रजीलको रियो दि जेनेरियोमा सम्पन्न वातावरण सम्मेलनले हरित गृहको शुभारम्भ र एक मात्र पृथ्वीको स्याहार र उपयोग गरौं भन्ने नारा पारित भएको थियो । उक्त सम्मेलनमा मौसम परिवर्तन तथा वनजङ्गल संरक्षण नीति पनि बनाइएको थियो । तर व्यवहारमा लागू हुन नसक्दा वातावरण संरक्षणमा खास प्रगति भएको देखिंदैन ।

वातावरण प्रदूषण हुन नदिन बढ्दो जनसङ्ख्या कम गर्नुपर्ने, जैविक विविधताको संरक्षण गर्नुपर्ने, प्राकृतिक स्रोतसाधनहरूको समुचित प्रयोग, उद्योगीकरण तथा शहरीकरण गर्दा वातावरणीय प्रभावलाई ध्यान दिनुपर्ने, क्लोरोफ्लोरो कार्बन र मिथेनजस्ता विषालु ग्याँस उत्पादनमा रोक लगाउनुपर्ने, कीटनाशक औषधि र रसायनको प्रयोग कम गर्दै जानुपर्ने र यातायातका साधनहरूको प्रदूषण कम गर्दै जानुपर्ने देखिन्छ । यति मात्र होइन, वातावरणीय शिक्षाको व्यापक प्रचार–प्रसार गरी जनचेतना अभिवृद्धि गर्नुपर्ने देखिन्छ । नेपाल सरकारले सातौं पञ्चवर्षीय योजनादेखि वातावरण संरक्षणलाई प्रत्येक विकास योजना अन्तर्गत ध्यान दिंदै आएको छ । बढ्दो वातावरण प्रदूषण न्यूनीकरण गर्न नेपाल सरकारले वातावरणसम्बन्धी ऐन–नियम बनाएर आम नागरिकलाई सुसूचित गर्ने प्रयास गरेको छ ।

वातावरण र मानवबीच गहिरो सम्बन्ध छ । तसर्थ यसको प्रवद्र्धन तथा संवद्र्धनका लागि राजनीतिक नेतृत्व, नीति निर्माता र प्रशासनिक नेतृत्वको ध्यान आकृष्ट हुनु जरुरी छ । स्वायत्त र शक्तिसम्पन्न भएको वर्तमान अवस्थामा स्थानीय तहहरूले पर्यावरणमैत्री दीर्घकालीन योजना तर्जुमा गर्न आवश्यक छ भने केन्द्र सरकारले पनि अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौता कार्यान्वयन गर्न गराउन जरुरी छ ।

एउटा अन्तर्राष्ट्रिय संस्थाद्वारा प्रकाशित प्रतिवेदन अनुसार अन्तर्राष्ट्रिय मापदण्डभन्दा बढी वायु प्रदूषण हुने देशहरूमा नेपाल पाँचौं स्थानमा छ । वायु प्रदूषण न्यून गर्न ठोस काम नगर्दा यस्तो अवस्था सिर्जना भएको हो । साँच्ची भन्ने हो भने वातावरणीय प्रदूषणले मानव स्वास्थ्य मात्र होइनस सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रलाई पनि असर पार्छ । त्यसैले वातावरणलाई स्वच्छ राख्न दिगो विकासको अवधारणा, वातावरणीय प्रभाव मूल्याङ्कन, पूर्वसावधानी, सार्वजनिक न्यायलगायत विषयमा ध्यान दिन आवश्यक छ । साथै आम सरोकारवाला एकजुट एवं जागरुक हुन पनि उत्तिकै जरुरी छ ।

संयुक्त राष्ट्र सङ्घको आह्वानमा हरेक वर्ष जून ५ लाई विश्व वातावरण दिवसको रूपमा मनाइँदै आएकोमा जेठ २२ गते तदनुसार जुन ५, २०१७ को दिन “प्रकृतिसँग हाम्रो सम्बन्धः रहिरहोस् अनन्त (ऋयललभअतष्लन एभयउभि तय ल्बतगचभ) भन्ने नाराका साथ नेपालमा पनि विश्व वातावरण दिवस मनाइयो । पृथ्वी र प्रकृति सबैको साझा हो भने मानव समाज प्राकृतिक वातावरणको एक महत्वपूर्ण अङ्ग हो। यी सबको संरक्षण गर्दै वातावरणीय सन्तुलन कायम गर्ने हाम्रो कर्तव्य तथा जिम्मेवारी हो। स्वस्थ एवं स्वच्छ वातावरण सिर्जना गर्न प्रण गर्ने दिन पनि हो। हाम्रो अमूल्य प्राकृतिक स्रोतहरूको संरक्षण गर्दै स्वस्थ पृथ्वी र प्रकृतिको पुस्तागत हस्तान्तरण साध्य बनाउनु हामी सबैको साझा दायित्व हो। नेपालको संविधानले हामी सबै नेपालीका लागि स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गरेको छ। नेपाल सरकारले सन्तुलित, दिगो र तीव्र आर्थिक सामाजिक विकासका लागि वातावरणमैत्री नीति तथा प्रविधिको उपयोग र प्रवद्र्धन गर्ने नीति लिएको छ। जनसङ्ख्याको बढ्दो चाप, विकास निर्माणलाई प्राथमिकता र बदलिंदो मानव व्यवहारले गर्दा वन, जैविक विविधता र प्रकृतिको विनाश, भूक्षय, प्रदूषण तथा जलवायु परिवर्तनले प्रकृतिको स्वाभाविक चक्र अवरुद्ध भएको छ। स्वच्छ र स्वस्थ जीवन निर्वाहका लागि प्रकृति एवं प्राकृतिक वातावरणको दिगो संरक्षण गर्दै वातावरण र विकास तथा सूचना प्रविधिबीच सन्तुलन कायम राख्न सबै प्रतिवद्ध एवं एकबद्ध हुनु आवश्यक छ। मानिसले आफैं झाँक्री आफैं बोक्सीको चरित्र परित्याग गर्नैपर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here