हामीले बाल्यकालमा पढ्ने घमण्डी सिंहको कथा र भारतमा मोदीको व्यथा उस्ताउस्तै देखिएको छ। भारतीय लोकसभा निर्वाचनको परिणामले भाजपालाई घरको न घाटको बनाएको छ। ‘खाए खा नखाए घिच्’ भनेझैं साना दलहरूको शरणमा पर्न बाध्य बनाएको छ। नूर झरेको मोदी रुँचे हाँसोसहित तेस्रोपटक प्रधानमन्त्री बन्न विवश छन्। राम नामसहित थुप्रै धामी, झाँक्रीको प्रयोग गर्दासमेत ‘अब कि बार मोदी दोसौं पारमा’ अड्किए। पल्टुराम भनिने बिहारका नीतीश कुमार र आन्ध्रका चन्द्रबाबू नायडु अहिले मोदीका लागि विशेष भएका छन्। मोदी एन्ड कम्पनीको सरकारको भोटेताल्चाको चाभी अब पल्टुरामकै हातमा छ। आधुनिक भारतका निर्माता तिलस्मी मोदी, भगवान्का अवतार ५६ इन्च सिना आदि सबै निर्वाचन परिणामले बेतुका र बकवास साबित गरिदिएको छ। ‘हार मे भी जीत है’ भनेझैं विपक्षी खेमा दङ्ग छ। यसपटक भारतमा कमल न खिले पनि विपक्षीको चेहरा खिलखिलाएको देखिन्छ। भारतको लोकसभा निर्वाचन परिणामले भाजपाको मात्र होश गुम भएको छैन, अपितु एक्जिट पोलको कोठे अनुमानलाई समेत नकारा साबित गरिदिएको छ। कुनै बेला नेपालमा नाकाबन्दी गरेर मुँछमा ताउ दिने मोदीलाई त्यहाँको जनताले करीब सफाचट नै गरिदिएका छन्। ‘अब कि बार चार सौ पार’ ‘उडायो सपना सबै हुरीले’मा परिणत भएपछि मोदी एन्ड कम्पनीको तेज निस्तेज भएर भारतमा कमजोर र लाचार सरकार बन्ने भएपछि पल्टुरामहरूले सत्तामा धमाचौकडी मचाउने, बार्गेनिङ गर्ने सङ्केत दिन थालिसकेका छन्। भनिन्छ, निर्वाचनअघिका साम, दाम, दण्ड, भेद आदि नै भाजपाका खातिर काल बन्यो रे। मतगणना परिणाम मोदीका लागि रामायणकी खलनायिका कैकेयी साबित भएको छ। परिणामले त मोदीलाई झण्डकमण्डल बोकेर पाँच वर्ष वनबास जाने सन्देश दिएको छ। कहाँ राजा भोज, कहाँ गङ्गु तेली ?
राम ने हसकर सब सुख त्यागे, मोदीजी दुःख से डरकर भागे अर्थात् वनवास सट्टा मोदीले सत्तावास
(प्रधानमन्त्री पद) नै रोज्ने देखिन्छ। सङ्क्षेपमा भन्ने हो भने राजनीतिक जादूगर भनिने मोदीको ‘हातकी सफाइ रामजीकी दुहाइ’ सबै नकारा नै साबित भए। मिलीजुली सरकारलाई विदेशमा ‘हङ पार्लियामेन्ट’ भनिन्छ। अनि हङ पार्लियामेन्टमा आत्मविश्वासको कमी, विदेशी राष्ट्रहरूको अविश्वास, झर्ला र खाउँला भन्नेहरूको सक्रियता, जनताको हेय नजर आदिका कारण यस्ता सरकारहरूको अवस्था ‘राजाको काम कहिले जाला घाम’ झैं हुन्छ। भारतको बहुमतको एकलौटी सरकारहरूले साना छिमेकी राष्ट्रहरूलाई हप्काइदप्काइ कस र वशमा राख्ने गर्थे। तर भारतको राजनीतिक अवस्था अब त्यस्तो द–हो छैन। तसर्थ नेपाल जस्ता छोटे राष्ट्रहरूले समेत अब आफ्नो हकअधिकारका लागि राष्ट्रहितका मामिलामा आँखामा आँखा जुधाएर कुरा राख्ने हैसियत बनाउनुपर्छ। वैशाखीमा टिक्न पुगेको मोदी सरकार आफैं दिनगन्तीको बन्दी बन्न पुगेको छ। अबको मोदी सरकार अर्थात् सर्कसको बाघ। त्यसैले नेपाल, भुटान, श्रीलङ्का, मालद्वीप्स र बङ्गलादेश जस्ता मुलुकहरूले आफ्ना खोसिएका अधिकारका खातिर भारतको कमजोर सरकारसँग मुकाबिला गर्न अबेर गर्नुहुँदैन। कम्तीमा अबको पाँच वर्ष मोदीले छानीछानी कहिले देउवा, कहिले ओली त कहिले प्रचण्डलाई बलिको बकरा (प्रधानमन्त्री) बनाउन सक्दैनन्। २००७ सालको क्रान्तिदेखि नै नेपाल भारतको प्रभावमा पार्दै आएको हो, जुन अहिलेसम्म निरन्तर चल्दैछ। त्यसैले भारतको कमजोर सरकारको फाइदा उठाउँदै जनहित र राष्ट्रहितको काममा हाम्रा नेताहरू जुर्मुराउन जरुरी छ। हिजोको जवान मोदीलाई २०२४ को निर्वाचनले बूढो बनाइसकेको छ। स्वदेश र विदेशमा अब मोदीको बन्दरघुर्की चल्दैन।