– डा शिवशङ्कर यादव

स्थानीय अथवा नजीकको बिरुवा धतुरोपछि त्यस्तै स्थानीय बिरुवा कनेरको विषाक्तताबारे पनि विवेचना गर्नु उचित होला। तर विषय प्रवेशमा जानुभन्दा पहिले म गताङ्कमा धतुरोको वर्णनमा सम्पादनमा भएको एउटा त्रुटि औंल्याउन चाहन्छु। त्यो के भने धतुुरोलाई ‘अकवन’ पनि भनिन्छ भनेर सम्पादन गरिएको छ। त्यसो होइन। धतुरो र अकवन फरक बिरुवा हुन्।

कनेरलाई हिन्दीमा कनेर, भोजपुरीमा कनइल र नेपालीमा करवीर र अङ्ग्रेजीमा ओलिएन्डर भनिन्छ। यो तपाईंको बारीमा पनि हुनुपर्छ र मेरो बारीमा त छ नै। सडकको डिभाइडरमा अन्य बिरुवाका साथै यसलाई पनि लगाइन्छ, किनभने यो धेरै छिटो बढ्छ र यो थोरै पानीमा पनि हुर्कन्छ तथा सौन्दर्यीकरणको लागि यसको फूल आकर्षक मानिन्छ। बाइपास वा त्रिभुवन राजपथको डिभाइडरमा पनि यो थुप्रै लगाईको देख्न सकिन्छ। यसको बिरुवा २ देखि १० फीट सम्म अग्लो र झाडीदार हुन्छ। यसको फूल गुलाबी, सेतो र पहेंलो रङ्गको हुन्छ। सेतो फूल फुल्ने कनेरलाई वनस्पतिशास्त्रमा नेरियम ओडोरम वा ह्वाइट ओलिएन्डर तथा पहेंलोलाई सरबेरा थेबिएटिया वा एलो ओलिएन्डर भनिन्छ। यसको फूल सानो घण्टीको आकारको एकदेखि डेढ इन्च लामो हुन्छ तथा पात दुवैतर्फ धार भएको छुरी जस्तो चारदेखि सात इन्च लामो, पातलो र एक इन्च चौडा हुन्छ। जसरी धतुरोको फूल भगवान् शङ्करलाई अर्पण गरिन्छ, त्यस्तै कनेरको फूल पनि अर्पण गरिन्छ। शायद भोले शङ्करलाई यस्तै विषाक्त बिरुवा प्रिय हुन्छन्। गाउँका मानिस यसको विषाक्त र औषधीय दुवै गुणसँग परिचित हुन्छन्। जसरी धतुरोको पातको जोर्नी दुःखाइमा पट्टी बाँधिन्छ, खाइँदैन त्यस्तै कनेरको पात र बोक्रालाई घाउ, सङ्क्रमण, सर्पदंश, बढी दुःखाइ हुने महीनावारी, मलेरिया, छारे रोग, भेनेरियल रोग, दमा, क्यान्सर, रिंगवर्म अर्थात दाद, कुष्ठ, अपच र सबैभन्दा बढी कार्डियक कन्डिशनमा उपयोग गरिन्छ।

कनेरको बिरुवा सदाबहार र गहिरो हरियो रङ्गको हुन्छ, जसमा पतझर हुँदैन। यो बिरुवा एपोसाइनेसी परिवारमा पर्छ। सेतो कनेरको फलमा धेरै बीउ हुन्छ तर पहेंलोमा एउटा मात्र बीउ हुन्छ। सेतो कनेरमा पाइने विषको नाम नेरीन हो जुन एक सेतो क्रिस्टेलाइन ग्लाइकोसाइड हो, जुन पानी, इथर र बेन्जिनमा कम तर अल्कोहल, एसिटोन र क्लोरोफार्ममा शीघ्र घुलनशील हुन्छ। यो १२३ डिग्री सेग्रेमा पग्लिन्छ र धेरै विषाक्त हुन्छ। यसको विषाक्तले मुख्यतः आमाशय र आन्द्राको इरिटेशन हुन्छ। यसको डिजिटलिसजस्तो कार्य हो, जसले मुटुमा प्रभाव पार्छ। अर्को लक्षण निल्नमा कठिनाइ, पेट दुखाइ, बान्ता, झागयुक्त प्रचुर –याल र पखालाको रूपमा प्रकट हुन्छ। नाडी सुस्त र कमजोर हुन्छ। त्यसपछि आँखाको नानी फैलिन्छ।

मांसपेशी फर्फराउने, टिटेनसजस्तो कन्भल्शन, लठ्ठिने, चेतनहीनता, कोमा र अन्ततः मृत्यु हुन्छ। प्रायः बङ्गारा खुल्दैन र डायरिया नहुन पनि सक्छ। यसको मृत्युकारक डोज अनिश्चित हुन्छ। प्रायः कनेरको ताजा बोक्राको चार ग्रामले विषाक्त लक्षण पैदा गर्छ। लगभग १६.६ ग्राम बोक्रा वयस्क व्यक्तिको मृत्युको कारण बन्छ। मृत्युको अवधि पनि अनिश्चित हुन्छ तर २४ देखि ३६ घण्टा लाग्न सक्छ। एकजना महिलाले कनेरबाट गर्भपात गराउँदा दुई दिनपछि मरिन्। नेरियम ओडोरमको एउटा सिङ्गो पात पनि मृत्युको कारण बन्न सक्छ।

उपचारमा आमाशयको सफाइपछि लक्षणको उपचार गरिन्छ। मुटुको एरिद्मिया छ भने एन्टिएरिद्मिक औषधि दिइन्छ। फेनिट्वायन सोडियम नामक औषधि २०० मि.ग्रा. मुखबाट हरेक छ घण्टामा वा प्रोपेनोलोल एकदेखि तीन मिलीग्राम नसामा दिइन्छ। गाउँघरमा अज्ञानतावश यौनरोग निको पार्न कनेरको जराको काँढा बनाएर खान्छन् र मृत्युवरण गर्छन्। एकचोटि जाँघ–सन्धिको दुःखाइ निवारण गर्न दुईजना महिलाले एक/एक कप सेतो कनेरको काँढा खाए। एकजनाको ३६ घण्टामा मृत्यु भयो र अर्की लामो समय अस्वस्थ रहेपछि निको भयो। यसको जराको पेस्ट बनाएर क्यान्सरको घाउमा लगाउँदा फाइदा देखिएको छ। शरीरको सुन्निएको भागमा पातको रसको लेप लगाउँदा निको हुन्छ। गर्भपतनका लागि यसको जरा पाठेघरमा लगाउने र खाएको पनि देखिएको छ, तर यो सरासर अपराध हो।

पहेंलो कनेर पनि त्यत्तिकै विषालु हुन्छ। यसको कार्यशील रसायनको नाम थिवेटिन र सरबेरिन ग्लाइकोसाइड हो। यसको रङ्ग सेतो हुन्छ र काट्दा बिरुवाको हरेक भागबाट निस्कन्छ। थिवेटिन पानीमा कम तर क्लोराफार्ममा शीघ्र घुल्छ। यसले सेतो कनेरजस्तो पक्षाघात गराउँदैन। बीउबाट थिवेटिन र थिवेटोक्सिन रसायन प्राप्त हुन्छ। थिवेटिन क्रिस्टेलाइन पदार्थ बर्फजस्तो सेतो हुन्छ तथा १९२ डिग्री सेल्सियसमा पग्लिन्छ। अर्को थिवेटोक्सिन १२३ डिग्रीमा पग्लिन्छ। यी दुवै धेरै विषालु त हुन्छ तर प्रयोगले के देखिएको छ भने थिवेटोक्सिन थिवेटिन भन्दा कम विषालु हुन्छ। एस रङ्गास्वामीले पहेंलो कनेरबाट पारुभोसाइड नामक तत्व पहिचान गरेका छन्, जुन मुटुरोगको सर्वोत्तम औषधि हो।

पहेंलो कनेरको विषाक्ततामा पनि मुख पोल्ने, घाँटी सुक्ने, जिभ्रो रबरबाउने र लाटो हुने, बान्ता र प्रायः पखाला चल्ने, टाउको दुख्ने, चक्कर आउने, आँखाको नानी फैलिने, मांसपेशीको शक्तिमा –हास, मूर्छा, सुस्त नाडी जुन पछि बढे पनि कमजोर र अनियमित हुने, विभिन्न प्रकारको हर्टब्लFक जुन कोलेप्सतिर बढ्ने र पेरिफेरल रक्तसञ्चार फेल भएर मृत्यु हुने हुन्छ। यसको पनि मृत्युकारक डोज अनिश्चित छ। एउटा बीउले चार वर्षीय एक बच्चाको मृत्यु भएको देखिएको छ। आठ वा १० वटा बीउले एकजना वयस्कको ज्यान लिन्छ। यसको मृत्यु अवधि पनि अनिश्चित नै छ। पीठोमा यसको जरा मिसाएर खाएकी एउटी युवतीको तीन घण्टामा मृत्यु भएको देखिएको छ। जरा वा बीउ घोटेर पानी वा तेलमा मिसाएर गर्भपात, आत्महत्या वा हत्यामा प्रयोग गरेको पाइन्छ। चेन्नई र मुम्बईमा चपाती र मकैको घाँसमा छोपेर जनावरलाई खुवाएर हत्या गरेको उदाहरण पनि छ। सन् १९८३ मा एउटा बच्चा यसको फूल खाएपछि मरेको थियो।

पहेंलो कनेरको विषाक्तताको उपचारमा गैस्ट्रिक लभाजपछि दुवै हातमध्ये एकमा मोलर लैक्टेट र अर्कोमा पाँच प्रतिशत ग्लुकोज एक साथ चलाउनु बेस हुन्छ। ग्लुकोजको बोतलमा १.२ मिग्रा. एट्रोपिन र २ मिग्रा. एड्रिनलिन जसमा नरएड्रिनलिन पनि मिसाएर दिइन्छ। मोलर लैक्टेटले एसिडोसिसलाई ठीक पार्छ। एट्रोपिन र एड्रिनलिनले हर्टब्लFक र नरएड्रिनलिनले कम रक्तचापलाई ठीक पार्छ। अस्तु !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here