ओमप्रकाश चौधरी, सेढवा, २४ जेठ/

पर्सामा सिंचाइका लागि सङ्घीय सरकारले ल्याएको योजना सात वर्षदेखि अलपत्र छ। पर्सा राष्ट्रिय निकुञ्जमा रहेको घोडेमसान खोलाबाट सिंचाइका लागि पानी ल्याउने योजना अलपत्रमा परेको हो।

जीराभवानी र ठोरी गाउँपालिका अन्तर्गतका खेतीयोग्य जमीन सिंचाइका लागि सो सिंचाइ आयोजना करीब १८ करोड रुपियाँको लागतमा निर्माण हुने योजना थियो। तर विगत सात वर्षदेखि सो योजना अलपत्र अवस्थामा छ। मानवबस्तीबाट १७ किलोमिटर टाढा जङ्गलभित्र रहेको सो खोलाबाट पानी ल्याउन जङ्गल भित्र र बाहिर कुलो निर्माण कार्य आर्व २०७३/७४ मा  सम्पन्न गरिएको निर्माण समितिका सचिव सूर्य कोइरालाले बताए। सो आवमा निकुञ्जभित्र कुलो निर्माण कार्यको लागि ६५ लाख र बाहिर कुलो निर्माण कार्यको लागि ८५ लाख रुपियाँ लगानी भएको सचिव कोइरालाले बताए। कुलोको कतिपय स्थानमा पर्ने खोलामा पक्की साइफन

(अन्डरग्राउन्ड कुलो)समेत निर्माण गरिएका छन्। जङ्गलभित्रभन्दा बाहिर ठोरी गाउँपालिका वडा नं ५ मा पर्ने गडुवालाइन, क्षेत्रीलाइन, छिरिङलाइन, सुवर्णपुर, प्रधानटोल, बथेटोललगायतका क्षेत्रमा कुलो निर्माण गरिएको छ। यसका साथै डिभिजन वन कार्यालय, पर्सा अन्तर्गतका वनमा र जीराभवानी गाउँपालिकामा पर्ने शान्तिनगर, हरैया, काठमाडौंटोल, वसन्तपुर, सखुवनिया क्षेत्रमा कुलो निर्माण गरिएको छ। सो समयमा निर्माण गरिएको करीब ४० किलोमिटरभन्दा बढी लामो कुलो पुरिएर समथर बनेको शान्तिनगरका रविमोहन सापकोटाले बताए। सिंचाइ योजनाको काम बन्द हुँदा यस क्षेत्रका किसानहरू निराश भएका सापकोटाले बताए।

पानी नपरेर खडेरी परेको बेला ठूलो रकम खर्च गरी सिंचाइ गर्ने झन्झटबाट मुक्ति पाउने आसमा यहाँका किसानहरू छन्। तर कछुवाको चालमा भइरहेको निर्माण कार्यले किसानहरू निराश छन्। यो योजना पूर्ण भएमा करीब एक हजार पाँच सय हेक्टर जमीनका एक हजारभन्दा बढी किसान लाभान्वित हुनेछन्। सिंचाइ डिभिजन कार्यालय, पर्साका तत्कालीन प्रमुख राजकुमार खङ्गले यस योजनाको निर्माण कार्य शुरू गराएका थिए।

तर खङ्गको सरुवा भएपछि सिंचाइ डिभिजन कार्यालयले कुनै वास्ता नगरेको निर्माण समितिका सदस्य भीमबहादुर पाख्रिनले बताए। योजनाको बाँकी कार्यको लागि थप बजेट विनियोजनका लागि प्रदेश तथा सङ्घीय सांसदसँग पटकपटक आग्रह गरे पनि कसैले कुनै वास्ता नगरेका समितिका सदस्यहरूले गुनासो गरेका छन्।

आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म कुनै पनि कार्य नगरिएको समितिका सदस्यहरूले बताएका छन्। सो कुलोबाट साबिक गाविस सुवर्णपुर, महादेवपट्टि, सेढवा र शङ्करसरैयाका किसानहरू प्रत्यक्ष लाभान्वित हुने देखिन्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here