वीरगंज महानगरपालिका स्वास्थ्य तथा सामाजिक महाशाखा र जनस्वास्थ्य प्रवद्र्धन शाखा पर्साको आयोजनामा एक दिने किशोरकिशोरी कार्यक्रमसम्बन्धी ‘स्वास्थ्य संस्थास्तरीय होलसाइट’ अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
वीरगंज–२५ स्थित श्रीसिया स्वास्थ्य चौकीमा आयोजना भएको कार्यक्रममा वीरगंज महानगरपालिकाका श्रीसिया, विन्ध्यवासिनी, हरपतगंज, बगही, लालपर्सा गरी पाँचवटा वडामा लागू भएको र यसले आगामी दिनमा किशोरकिशोरीबीच हुने विभिन्न हिंसा न्यूनीकरण गर्ने जानकारी गराइएको थियो। १० देखि १९ वर्ष उमेर समूहका बालबालिकाहरूलाई किशोरावस्थाको उमेर भनिन्छ। जसमा किशोरकिशोरीहरूको सामाजिक, शारीरिक, मनोवैज्ञानिकलगायतको वृद्धि विकास हुने उमेर भएकोले यसलाई खतरनाक उमेर समूह भनी विश्लेषकहरू विश्लेषण गर्छन्।
कार्यक्रममा राष्ट्रमा दक्ष जनशक्ति उत्पादन हेतु जबसम्म किशोरकिशोरीमैत्री पालिका बन्दैन, तबसम्म उनीहरूको वृत्ति विकास हुन नसक्ने र भविष्यमा दक्ष जनशक्ति बन्न नसक्ने भएकोले यस्तो कार्यक्रम लागू भएको जनाइएको थियो।
कार्यक्रममा यही उमेरमा शरीरका विभिन्न भागमा विभिन्न परिवर्तन देखा पर्छ, यसैगरी विभिन्न किसिमका हार्मोनको कारण सकारात्मक र नकारात्मक लक्षण देखा पर्छन्। उत्साह बढी हुने भएकोले यस उमेरका किशोरकिशोरीहरू जुन पनि काम गर्न जिद्दी गर्ने र यौन उत्तेजना पनि बढी हुने भएकोले यौन दुव्र्यवहारको शिकार हुने भएकाले यौन शिक्षा दिनुपर्ने आवश्यकता रहेको बताइएको थियो।
अबदेखि नजीकको स्वास्थ्य संस्थामा किशोरकिशोरीहरूका विभिन्न समस्या समाधानका लागि एउटा छुट्टै कक्ष निर्माण गरी गोप्य किसिमले उनीहरूको समस्या सुन्ने, सम्बोधन गर्नेलगायतका काम गर्ने स्वास्थ्य तथा सामाजिक विकास शाखाकी इन्दिरा लोहनीले बताइन्।
वडा नं २५ की वडासदस्य तेतरी देवीको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्य फुलेना देवी, जगदीश साह, सिकेन्द्र साह, नेराआवि श्रीसिया आदर्शचोककी प्रधानाध्यापिका अञ्जु साह, स्वास्थ्य चौकी श्रीसियाका इन्चार्ज शत्रुघ्न यादव, स्वयंसेविका, किशोरकिशोरीहरूलगायतको सहभागिता थियो।