याङ्गुन, २४ जेठ/एएफपी

म्यानमाको खानीमा गएको पहिरोमा परी दुईजना चिनियाँ नागरिकसहित कम्तीमा पाँचजनाको मृत्यु हुनुका साथै अन्य सातजना बेपत्ता भएका खानीमा कार्यरत एक कामदारले बताए।

चीनसँग सीमा जोडिएको कचिन राज्यको पाङ्वामा रहेको खानीका केही भाग मङ्गलवार बिहान खसेको खानीमा काम गर्ने कामदारले बताएका छन्।

उनीहरूका अनुसार पहिरोका कारण पूरै पहाड झरेको, ठूलाठूला रूख ढल्दा निकै ठूलो जङ्गली क्षेत्र कटान भएको र कम्तीमा पाँचजनाको मृत्यु भएको साथै सातजना हराइरहेका छन्।

उद्धारकर्ताले दुई चिनियाँ नागरिक, दुई सुरक्षाकर्मी र एक कामदारसहित पाँचजनाको शव फेला पारेको स्रोतले जनाएको छ।

स्थानीय सञ्चारमाध्यमले खानीमा पाँचजनाको मृत्यु भएको र कम्तीमा २० जना हराइरहेका बताएका छन्।

म्यान्माको सुदूरउत्तरमा मूल्यवान् पत्थर, सुन र काठजस्ता अन्य प्रचुर प्राकृतिक स्रोतहरूको खानी रहेको कचिन राज्यमा यी प्राकृतिक स्रोत जातीय कचिन विद्रोही र म्यान्माको सेनालाई दशकौं लामो गृहयुद्धका क्रममा आकर्षक आम्दानीको रूपमा रहेका छन्।

यो क्षेत्र इलेक्ट्रिक साधनहरूमा प्रयोग हुने चुम्बकको खानीका लागि पनि प्रसिद्ध छ।

ग्लोबल विटनेसले गत महीना सेटेलाइट इमेजरीलाई उद्धृत गर्दै पाङ्वा शहरको वरपर ३०० भन्दा बढी खानी स्थल रहेका बताएको थियो। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here