आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमवार भएको खेलमा नामिबिया विजयी भएको छ। बार्बाडोसको केन्सिङ्टन मैदानमा सम्पन्न खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा पराजित गरेको हो। सुपर ओभरमा पहिले ब्याटिङ गरेको नामिबियाले २१ रन बनाएको थियो भने ओमान १० रनमा सीमित रह्यो।
त्यस अघि ओमानले दिएको ११० रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा छ विकेट गुमाएर १०९ रन बनाएपछि खेल सुपरओभरमा पुगेको हो। नामिबियाका लागि जान फ्रिलिङ्कले ४८ बलमा छ चौकाको सहयोगमा सर्वाधिक ४५ रन बनाए। त्यस्तै, निकोलस डेभिडले ३१ बलमा दुई चौका र एक छक्का प्रहार गरी २४ रन जोडे। कप्तान गेहार्ड इरास्मसले १६ बल खेलेर १३ रन बनाए।
बलिङतर्फ ओमानका मेहरान खानले तीन विकेट लिए भने बिलाल खान, अकिब इलियास र आयान खानले समान एक/एक विकेट लिएका थिए।
त्यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ओमान १९ दशमलव चार ओभरमा सबै विकेट गुमाएर १०९ रन बनाएको थियो। ओमानलाई सामान्य योगफलमा समेट्न नामिबियाका रूबेन ट्रम्पलम्यानले चार विकेट लिएका थिए।
प्रतियोगितामा ओमानका लागि खालिद काइलले ३४, जिसन मक्सुदले २२, आयान खानले १५ तथा शकील अहमदले ११ रन बनाए। नामिबियाका रूबिन ट्रम्पलम्यानले चार विकेट लिए भने डेभिड विसले तीन विकेट लिए। त्यस्तै, जेराल्ड इरास्मसले दुई तथा बर्नार्ड स्कोल्जले एक विकेट लिएका थिए।