दुबई, २१ जेठ/एएफपी

विश्वका वायुसेवा कम्पनी (एयरलाइन्स)ले सन् २०२४ मा करीब पाँच अर्ब यात्री बोक्ने अपेक्षा गरेको र यो सङ्ख्या कोभिड–१९ महामारी अघिको उच्च रेकर्डभन्दा पनि बढी भएको अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (आइएटिए)ले सोमवार जनाएको छ।

आइएटिएले यस वर्ष विश्वका वायुसेवा कम्पनीहरूले ३० अर्ब अमेरिकी डलर आम्दानी गर्ने अपेक्षा गरेको छ।

आइएटिएका महानिर्देशक विली वाल्शले दुबईमा उक्त संस्थाको वार्षिक साधारणसभामा भने– “अपेक्षित लाभ ‘हालको गहिरो महामारी घाटा’लाई ध्यानमा राख्दै एक ठूलो उपलब्धि हो।”

“व्यक्ति र अर्थव्यवस्थाको महत्वाकाङ्क्षा र समृद्धिको लागि उड्डयन निस्सन्देह पनि महत्वपूर्ण छ। एयरलाइन्सको नाफा बलियो बनाउनु र वित्तीय लचिलोपन बढाउनु महत्वपूर्ण छ”–उनले भने।

विश्वभरका ३०० भन्दा बढी एयरलाइन्सहरू समावेश रहेको आएटिएले वैश्विक ट्राफिकको ८३ प्रतिशतको लागि लेखाङ्कन गर्छ। आइएटिएले संयुक्त अरब इमिरेट्सको वित्तीय हब दुबईमा संस्थाको ८०औं वार्षिक साधारणसभा आयोजना गर्दैछ।

बलियो आँकडाका बावजूद पार्टपुर्जाहरूको अभाव र श्रम तथा जलवायु परिवर्तनसँग सम्बन्धित चुनौतीहरूका कारण एयरलाइन्सहरूले लागतमा तीव्र वृद्धिको सामना गरिरहेका छन्। आइएटिएका अनुसार यो वर्ष उनीहरूको कुल खर्च ९.४ प्रतिशतले बढेर ९३६ अर्ब डलर पुग्ने अनुमान गरिएको छ।

एयरलाइन्स उद्योगको कुल आम्दानी भने करीब १० प्रतिशत बढेर ९९६ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको आइएटिएले जनाएको छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here