जीवनमा कुनै पनि पक्ष वा वर्ग यस्तो छैन, जसले कुनै न कुनै रूपमा जनावरहरूद्वारा दिइने सेवाको लाभ नउठाएको होस्। जो कोही पनि जनावरहरूको सेवाबाट लाभान्वित नै भएका छन्। यस्ता कोही पनि भेटिंदैनन्, जसको जीवनमा जनावरहरूको उपयोगिता नहोस्। किसानदेखि व्यापारीसम्म, दूध बेच्नेदेखि लिएर टाँगा, बैलगाडा हाँक्नेसम्म वा गरीबदेखि धनी सबैजना जनावरका ऋणी छन्। यदि दुधालु जनावरबाट हामीलाई दूध प्राप्त हुन्छ भने घोडा, उँट, खच्चर, हात्ती, गदहा आदिको उपयोगिता पनि कसैसँग लुकेको छैन। यदि भेडा, चौंरी गाई, खरायोबाट हामीलाई नरम र राम्रोखाले ऊन हासिल हुन्छ भने उँटको कडा कपालबाट चीसोयाममा न्यानो पार्ने ऊन प्राप्त हुन्छ। यसैगरी, हात्ती, घोडा र उँट सवारी र सामान ढुवानी गर्ने साधन मात्र नभई प्राचीनकालमा युद्ध क्षेत्रमा पनि आप्mनो कौशल प्रदर्शित गरेका कैंयन उदाहरणहरू छन्।
यदि हात्तीबाट हात्ती दाँत र बाघ, सिंह, हिरण, गैंडा आदिबाट उनीहरूको छाला प्राप्त हुन्छ भने बाघको हड्डीबाट गठिया रोग, उसको जुँगाबाट टाउको दुखाइ र आँखामा हुने छारेरोग निको पार्ने औषधि हासिल हुन्छ। त्यसैगरी, गैंडाको नाकमाथि रहेको सिंह औषधीय गुणको खानी हो भने हिरणबाट प्राप्त हुने कस्तुरी धेरै हितकारी हुन्छ। त्यहीं कुकुरको अग्नाशयबाट मधुमेहको अचूक औखति इन्सुलिन प्राप्त हुन्छ भने गाईको शरीरमा हात फेर्नाले मात्र उच्च रक्तचापमा फाइदा पुग्छ।
वर्तमान समयमा गाई, भैंसी, भेडा, बाख्रा, घोडा, बैल, खच्चर, गदहा, बाँदर, सुङ्गुर आदि घरपालुवा जनावरभन्दा पनि धेरैजसो घरमा कुकुर पाल्ने चलन स्टेटस र स्ट्यान्डर्डको प्रतीक बनेको छ। यसभन्दा पनि बढी उसको विशिष्ट योग्यताबाट लाभ उठाउन उसले प्रहरीको खुफिया विभागमा समेत प्रवेश पाएको छ। आज कुकुर प्रहरी निरीक्षक बनेर चोरदेखि हत्याराहरूलाई समात्ने र विस्फोटक तथा लागू पदार्थ पत्ता लगाउने काममा सहयोगी साबित भएको छ।
मानिसको जीवनमा जनावरहरूको उपयोगिताको परिणामस्वरूप नै विष्णु शर्मा र नारायण पण्डितले जनावरमा आधारित शिक्षाप्रद कथा पञ्चतन्त्र र हितोपदेशको रचना गर्न सफल भएका छन्। यसैगरी, बोधित्सवको जीवनसँग सम्बन्धित जातक कथाहरू, भारतीय कथाकार मुन्सी प्रेमचन्दको “कुत्तेकी कहानी”, सीतारामको “शेरनीका प्रेम”, सर्वेश्वर दयाल सक्सेनाको “हाथीकी पौं” र अन्य लेखकहरूको समेत जनावरमाथि आधारित कैंयन कथाका पुस्तकहरू रहेका छन्। शिकार कथाका लागि प्रसिद्ध जिम कार्बेट र श्रीराम शर्मालाई कसले चिन्दैन ? त्यहीं अर्कोतिर यस्ता धेरै चित्रकार र मूर्तिकारहरू छन्, जसले “पाषाणयुग”देखि आजसम्म आफ्नो कलाको माध्यमले जनावरहरूको उपयोगितालाई प्रदर्शित गरेका छन्।
जनावरहरूप्रति मानिसको आकर्षण आजसम्म कायमै छ। यस कारण गाई हाम्रो राष्ट्रिय पशु र डाँफे हाम्रो राष्ट्रिय चराको रूपमा रहेका छन्। त्यसैगरी, नेपाली मुद्रासहित डाँक टिकटहरूमा पनि जनावरहरूका चित्र अङ्कित गरिएका छन्। यसैगरी, नेपाली मन्दिरहरूका प्रवेशद्वार र भित्ताहरूमा समेत कैंयन जनावरहरूको चित्र हेर्न सकिन्छ। नेपालको कब स्काउट “मोगलीको कथा”मा नै आधारित छ। जसमा बालकको समुचित विकासमा जनावरहरूको योगदानको वर्णन गरिएको छ।
त्यहीं फिल्म निर्माताहरू पनि जनावरसँग आकर्षित भएर सफेद हाथी, हाथी मेरे साथी, तेरी मेहरबानिया, मैं तेरा दुश्मन जस्ता फिल्म बनाएका छन् भने आवर पैट्स, गुरु घण्टाल, मिक्की माउस, वाइल्ड एनिमल्स जस्ता टिभी सिरियलहरू निर्माण गरेर एक प्रकारले जनावरहरूको मानवजीवनमा रहेका उपयोगितालाई रेखाङ्कित गर्ने प्रयास गरेका छन्। खुशीको कुरो त वस्तुको प्रचारप्रसारको लागि विज्ञापन बनाउने कम्पनीहरू पनि जनावरबाट आकर्षित भएर विज्ञापनमा जनावरहरूलाई ठाउँ दिन थालेका छन्।
सर्वविदित तथ्य के पनि रहेको छ भने ज्योतिष विज्ञानका १२ राशिमध्ये चार राशि मेष, वृष, सिंह, मकर तथा भगवान् विष्णुका अवतारहरूमध्ये तीन अवतार कूर्म, बराह र नृसिंह अवतार जनावरमाथि आधारित छन्। यसैगरी, १८ पुराणमध्ये कूर्म पुराण र बराह पुराण पनि जनावरमाथि नै आधारित छन्। त्यसैगरी, हिन्दू देवीदेवताहरूको वाहनको रूपमा मुसा, ऐरावत हात्ती, नन्दी, सिंह, भैंसी, उल्लू आदि महमद साहबको साथमा उँटनी र ईसा मसीहसँग भेडाको बच्चा हुनुले के सङ्केत गर्छ भने चाहे इहलोक होस् वा परलोक जनावरको सहभागिताबाट कुनै पनि लोक वञ्चित छैनन्। यसैगरी, तिहारका पाँच दिनमध्ये चार दिन काग, कुकुर, गाई र गोवर्धन पूजा गरिन्छ, जसले जीवनमा जनावरहरूको उपयोगितालाई दर्शाउँछ। यस कारणले नै लोकगीत, लोककथा, लोकचित्रसहित दोहा र अलङ्कारमा पनि प्रस्टरूपमा यसको झलक सुन्न सकिन्छ।
चिकित्सा क्षेत्रमा अध्ययन, अनुसन्धानको क्रममा जनावरहरूको प्रयोग सर्वविदित नै छ। नेपाललगायत भारतमा जनावरहरूलाई पशुधन भनिएको छ। जोसँग जति पशुधन हुन्छ, ऊ त्यत्तिकै समृद्धशाली मानिन्छ। तर अब अर्थवादको युगमा प्रतिबन्धित जनावरको मासुको अवैध बिक्रीले लोभी मानिसहरूको लोभलाई धेरै बढाइदिएको छ। आज लोभी मानिसहरूलाई धनी बनाउने साधनको रूपमा पनि जनावरहरू प्रयोग भइरहेका छन्। पर्यावरणीय प्रदूषणलाई रोक्नमा पशुहरूको भागीदारीबारे शायद हामीलाई थाहा नै छैन। सडेगलेका तरकारी, फल, खाद्यान्न आदि जसलाई हामीले यत्रतत्र सर्वत्र फाल्ने गर्छौं, त्यसलाई यदि जनावरहरूले नखाएको भए कति फोहर र त्यसबाट निस्कने दुर्गन्धले वायु कतिको प्रदूषित हुन्थ्यो, त्यसको कल्पना पनि गर्न सकिंदैन। अन्धविश्वासका कारण नदीमा बगाइने शवहरूलाई यदि गोही, कछुवा, माछाहरूले खाएनन् भने त्यहाँको पानी खाने योग्य रहँदैन।
यदि गाईको गोबर घर लिप्न, पोत्न र कीराहरूलाई मार्न प्रयोग गरिन्छ भने त्यही गोबर इन्धनको रूपमा पनि प्रयोग गरिन्छ। जनावरहरूको खाद्य शृङ्खला जनावर र पर्यावरणबीच सन्तुलन कायम गर्ने काममा पनि सहयोगी साबित भएको छ। सुप्रसिद्ध शिकारी जिम कार्बेटले पनि आप्mनो किताबमा बाघलाई पर्यावरणको सबैभन्दा ठूलो संरक्षक भनेका छन्। भारतीय लेखिका जया नर्गिसले आप्mनो पुस्तक “पशुओं से प्यार”मा लेखेकी छन्– पर्यावरण र त्यसको सुरक्षाचक्र जनावरको सुरक्षाबेगर पूरा हुँदैन। यदि कुनै पनि जनावरको जाति वा प्रजाति नष्ट हुन्छ भने पर्यावरणीय सन्तुलन बिग्रन्छ र यसको प्रभाव मानिस, जनावर र वनस्पतिमाथि पर्छ।
वास्तवमैं जनावर र मानिसबीच गहिरो सम्बन्ध रहेको छ, यसबेगर मानव अस्तित्वको कल्पना गर्न सकिंदैन। जनावर नभएको भए न त दुग्ध उद्योग हुन्थ्यो, न त छाला उद्योग। यसैगरी, उनीहरूको सिंहबाट बन्ने काइयो, वाद्ययन्त्र, शोपिस र रगतबाट बन्ने सरेस नै हामीलाई प्राप्त हुन्थ्यो। यस कारण ध्ध्F ले सन् १९८६ मा इटालीको सिसलीमा भएको रजत महोत्सवमा विश्वसँग जनावरहरूलाई जोगाउने अपील गरेको थियो। नेपालले पनि जनावरहरूको शिकारमा रोक लगाउनुका साथै जनावरहरूको संरक्षणका लागि जनचेतना फैलाउने काम गरिरहेको छ। यस कारण प्रत्येक वर्ष अक्टुबरको पहिलो साता ‘वन्य प्राणी संरक्षण सप्ताह’ मनाइन्छ। तर चाहिएको जति प्रतिफल देखा परिरहेको छैन।
मनोचिकित्सक जेम्स लिन्च र एरन कैचरका अनुसार घरपालुवा जनावरहरूको सम्पर्कमा बस्ने मानिसहरू रक्तचाप र मानसिक तनावबाट मुक्त हुन्छन्। यसैगरी, ह्दयघात भइसकेका मानिसहरूले जनावर पाल्दा चमत्कारी लाभ हासिल भएको पाइएको छ। अहङ्कार र रिसको आवेगमा हामीले अरूलाई “किन पशुजस्तो हर्कत गरेको ? तिमी त गदहा हौ” जस्ता वचन बोलेर पशुहरूको अपमान गरिराखेका हुन्छौं। भारतीय कवि मैथिलीशरण गुप्तले सही नै लेखेका छन्– “मैं मनुष्यताको सुरत्व की सीढी भी कह सकता हुँ/किन्तु पतितको पशु कहना भी नहीं सह सकता हँु।” न्यायको कुरो त के हो भने हामी जसलाई जे मन लाग्छ भनौं तर त्यस भनाइमा निरीह पशुहरूलाई सामेल गर्नु कदापि उचित होइन। यदि हामी यसो गर्न सक्दैनौं भने स्वयंसँग के प्रश्न गरौं भने के हामीले पशुहरूको बारेमा “जिन्दा हाथी लाखका, मरा सवा लाखका” भन्ने लोकोक्तिको मर्मलाई गम्भीरतापूर्वक बुझ्ने प्रयास गरेका छौं ? होइन भने धन्य छन् कवि दयाराम जसले मरेर पनि मानवजीवनमा भागीदारी निभाउने पशुहरूको बारेमा लेखेका छन्– “भैंसन की खाल के जुत्ता बने भाँतीभाँती/छेरी की खाल कछु जल भर लाई है/गेंडे की खाल को ओढत सिपाही लोग/मृगन की खाल तपस्विन मन भायी है/और मानव…” तर आफूलाई सर्वश्रेष्ठ ठान्ने मानिसको छाला कुनै काम लाग्दैन। कविले भनेका छन्– “कहे कवि ‘दयाराम’ राम के भजन बिन/मानुस की खाल काहु काम में न आई है।”