वीरगंज महानगरपालिकामा विगत पाँच वर्षदेखि कपडा बैंक सञ्चालनमा छ। छिमेकी भारत बिहारको रक्सौलमा स्थानीय महिलाहरूले रक्सौल बैंक सञ्चालन गरेर दीन–दुःखीहरूलाई लगाउनका लागि कपडाको व्यवस्था गर्दै आएबाट प्रभावित भएर वीरगंजमा पनि कपडा बैंक सञ्चालनमा आएको हो। राम्रो कामको सिको गर्दा सकारात्मक सोचको विकास हुन्छ र मानिसहरू असल काम गर्नतर्फ अग्रसर हुन्छन्। बिहार सरकारको नै निकै लोकप्रिय थियो– ‘बेटी पढाओ, बेटी बचाओ’ कार्यक्रम जसलाई यस अघिको मधेस प्रदेश सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम सञ्चालन गरेर लोकप्रियता बटुलेको थियो। सो अभियान अन्तर्गत शुरूमा विद्यालयमा अध्ययनरत छात्राहरूलाई साइकल वितरण गरिएको थियो भने त्यसपछि बीमा कार्यक्रम लागू गरिएको थियो। तर साइकलमा भ्रष्टाचार भएको अख्तियारमार्फत सार्वजनिक भएपछि साइकल वितरण कार्यक्रम रोकियो भने बीमा कार्यक्रम पनि अहिले स्थगित प्रायः छ। अभियान असल भएपनि नियत राम्रो नभएर दीर्घकालीनरूपमा सञ्चालन हुन सकेन।
लोकप्रिय कार्यक्रमको नाममा अलोकप्रिय काम गरेर आफ्नो स्वार्थसिद्ध गर्नेहरूको यहाँ कमी छैन। पञ्चायतकालमा हुने कर्तुतहरू लुकाउनका लागि तत्कालीन अवस्थामा विकास निर्माण योजनाहरूको शिलान्यास, उद्घाटन राजाबाट गराइन्थ्यो। पूर्वराजाहरूले शिलान्यास, उद्घाटन गरेका विकास निर्माण योजनाहरूमा हुने गरेका अनियमितताको त्यत्ति उठान हुँदैन थियो। अहिले ठूला दलका नेताहरूबाट शिलान्यास, उद्घाटन गराउनुको पछाडि पनि यही तथ्य लुकेका हुन्छन्। जसरी राम्रो काम गर्दा सुगन्ध आफैं फैलन्छ, त्यसरी नै नराम्रो काम गर्दा दुर्गन्ध पनि आफैं फैलन्छ। कपडा बैंक राम्रो काम हो र यसको सुगन्ध अहिले वीरगंजभरि फैलिएको छ। यहाँ दुईवटा कपडा बैंक छन्, दुवै पाँच वर्षदेखि निरन्तर सेवारत छन्। एउटाले प्रत्येक शुक्रवार वितरण गर्छ भने अर्काेले दैनिक। कपडा वितरणसँगै वीरगंजमा विगत छ वर्षदेखि साप्ताहिकरूपमा खाना खुवाएर परोपकारका कामहरू पनि भएका छन्। सद्भाव समितिले आदर्शनगरमा विगत छ वर्षदेखि निश्शुल्क खाना खुवाउँदै आएको छ। कोरोनाकालमा यस प्रकारका परोपकारी काममा लाग्ने संस्थाहरू थुप्रै सक्रिय थिए। अहिले सामान्य अवस्थामा पनि एकपछि अर्का संस्थाहरू परोपकारी काममा साथ दिंदैछन्।
वीरगंज महानगरका आधा दर्जन स्थानमा शनिवार साप्ताहिक र मासिकरूपमा भोजन गराउने संस्थाहरू सक्रिय देखिएका छन्। कसैले लामो समयदेखि यो काम गर्दै आएका छन् भने कसैले भर्खर एकाध महीनादेखि सुरुआत गरेका छन्। कहिले अचाक्ली गर्मी त कहिले अचाक्ली जाडो हुन्छ। परिश्रम गरेर दैनिक गुजारा गर्नेहरूलाई यस्तो समयमा खाना र लगाउने कपडाको अभाव हुन्छ। कपडा बैंकको लोकप्रियता बढेसँगै अहिले दैनिक निश्शुल्क भोजनको पहल शुरू गरिएको ती संस्थाहरूले जनाएका छन। यो प्रयास आफैंमा असल काम हो। यस प्रकारका असल कामहरू हुने हो भने मानिसहरूमा असल काम गर्ने भावना जागृत हुन्छ। शुल्क लाग्दैन, निश्शुल्क हो, यसको फाइदा लिऊँ भन्ने भावना कमैमा हुन्छ। त्यसैले यस अभियानका अभियानकर्ताहरूले हुनेले दिने र नहुनेले लिने भन्ने नारा घन्क्याएका छन्। यस कार्यलाई निरन्तरता प्रदान गर्न सबैको साथ र सहयोग जरुरी छ।