साना (यमन), १९ जेठ/एएनआई

यमनमा अमेरिका र बेलायतले हालै गरेको घातक आक्रमणको जवाफमा हुथी समूहले लाल सागरमा संयुक्त राज्य अमेरिकाको जहाजमा मिसाइल आक्रमण गरेको छ ।

यमनको होदेइदाह प्रान्तमा अमेरिका र बेलायतको संयुक्त आक्रमणमा कम्तीमा १६ जनाको मृत्यु भएको समूहको दाबीपछि हुथी सैन्य प्रवक्ता याहया सारीले शुक्रवार आइसेनहावर जहाजमा आक्रमणको घोषणा गरेका थिए । हुथी नियन्त्रित च्यानल अल मासिराह टेलिभिजनले बिहीवारको आक्रमणको नतीजा खुलासा गर्दै होदेइदाहमा घाइते नागरिकको उपचार भइरहेको फुटेज प्रसारण गरेको थियो । उक्त आक्रमणमा कम्तीमा ४२ जना घाइते भएका बताइएको छ ।

“अमेरिकी–बेलायती आक्रमणले हामीलाई प्यालेस्टाइनको समर्थनमा सैन्य कारबाही जारी राख्नबाट रोक्न सक्दैन, विद्रोहीले बढ्दो तनावको सामना गर्नुपर्नेछ”–हुथी अधिकारी मोहम्मद अल–बुखाइतीले सामाजिक सञ्जाल एक्समा भनेका छन् ।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले आक्रमणलाई ‘हुथीविरुद्ध आत्मरक्षाको एक रूप’ रहेको बताएका छन् ।

इरान समर्थित हुथी समूहले पश्चिमी समर्थित र साउदी नेतृत्वको गठबन्धनविरुद्ध लगभग एक दशकको द्वन्द्वपछि यमनको महŒवपूर्ण भाग नियन्त्रणमा लिएको हो । गाजामा इजरायलको चलिरहेको द्वन्द्वबीच उनीहरूले प्यालेस्टिनीलाई समर्थन गरेका छन् । उनीहरूले नोभेम्बरदेखि लाल सागर, बाब अल–मन्डेब जलडमरूमध्य र एडनको खाडीमा जहाजमा बारम्बार ड्रोन र मिसाइल आक्रमण शुरू गरेका छन् ।

इरानले अमेरिका–बेलायतको आक्रमणलाई ‘यमनको सार्वभौमिकता र क्षेत्रीय अखण्डता, अन्तर्राष्ट्रिय कानून र मानव अधिकारको उल्लङ्घन’ भएको भनेर निन्दा गरेको छ ।

“आक्रमणकारी अमेरिका र बेलायती सरकार यमनी जनताविरुद्ध यी अपराधको परिणामका लागि जिम्मेवार छन्”–इरानी विदेश मन्त्रालयका प्रवक्ता नासिर कनानीले भने । अमेरिकी समुद्री प्रशासनका अनुसार हुथीले ढुवानी जहाजमा ५० भन्दा बढी आक्रमण गरेका छन्, जसको परिणामस्वरूप हताहत, जहाज कब्जा र विश्वव्यापी व्यापार मार्गमा अवरोध आएको छ । हुथीले ढुवानी कम्पनीलाई वैकल्पिक मार्ग खोज्न बाध्य पारेका छन् । जसका कारण लाल सागर पार गर्ने विश्वव्यापी व्यापारको लगभग १२ प्रतिशत जहाजलाई असर गरेको छ ।

हुथीको क्षमता घटाउने उद्देश्यले अमेरिका र बेलायतले संयुक्त हमला गरे पनि विद्रोहीले आक्रमण जारी राखेका छन् । पछिल्लो कारबाहीमा उनीहरूले ग्रीसको स्वामित्वमा रहेको ढुवानी जहाज र अन्य जहाजमा आक्रमण गरेको अल–जजिराले जनाएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here