जिल्ला ट्राफिक कार्यालय, रौतहटले नौ दिनमा रु छ लाख तीन हजार पाँच सय जरिवाना सङ्कलन गरेको छ। जेठ ९ देखि १७ गतेसम्म नौ दिनमा ५२५ जना सवारी चालकलाई सवारी नियम उल्लङ्घन गरेको कसूरमा कारबाही गरेर उक्त परिमाणको जरिवाना असुल गरिएको जिट्राप्रका, रौतहटले जनाएको छ।
छिमेकी राष्ट्र भारत, बिहार राज्यको सीतामढी र पूर्वी चम्पारण जिल्लामा लोकसभा निर्वाचनको समयमा ७२ घण्टापूर्व सीमानाका बन्द गरिएको र सोको एक दिन अगावैदेखि गौर भन्सार कार्यालयले भारतीय गाडीहरूको सशुल्क प्रवेशाज्ञामा रोक लगाएको थियो। भन्सारले एक दिनअगावै रोक लगाएको कारण थुप्रै भारतीय सवारीसाधनहरू गौरमा घेरिएका थिए र यसरी घेरिएका सवारीसाधनबाट ट्राफिक प्रहरीले जरिवाना असुल गरेको हो।