सादा जीवन–उच्च विचार हाम्रो संस्कृतिको मूलभूत सूत्र हो। हाम्रो संस्कृतिका प्रणेता ऋषिगण सादा जीवन उच्च विचारका पक्षपाती थिएस किनकि उनीहरूले जीवनको तत्व बुझेका थिए तथा बाह्य जीवनको सापेक्ष सत्यतासँग राम्ररी परिचित थिए।
मानवीय चेतनाका मर्मज्ञ ऋषिगण आत्मसत्ताको सत्यबाट जीवन र समाजको सञ्चालनमा विश्वास गर्दथे। उनीहरू वन–उपवनमा, प्रकृतिको काखमा, आश्रममा बस्दथे तथा आफ्नो गुरुकुलबाट लोक–परलोक सिद्ध गर्ने खालका शिक्षा एवं विद्यारूपी ज्ञानयज्ञको सञ्चालन गर्दथे।
उनका त्याग–तपस्या एवं सादगीपूर्ण सादा जीवन–उच्च विचारकै प्रताप हो कि जनमानसको हृदयमा उनकाप्रति विशिष्ट श्रद्धा थियो तथा सामान्य घरदेखि राजघरानाका बच्चाहरू शिक्षा एवं विद्या आर्जनका लागि उनका समीप आउँथे। प्रत्येक युगमा ऋषिहरूका यस्ता गुरुकुल–आश्रमहरूको वर्णन पाइन्छ।
त्रेतायुगमा राजकुमार रामसहित भाइ लक्ष्मण, भरत, शत्रुघ्न वनमा महर्षि विश्वामित्रको गुरुकुलमा विद्या–आर्जनका लागि गएका थिए। यसैप्रकार द्वापर युगमा सुदामादेखि राजकुमार कृष्ण–बलरामले पनि संदीपनि ऋषिको गुरुकुलमा वास गरे।
आज परिस्थिति भिन्न छ, तर शान्तिकुञ्ज आश्रममा परमपूज्य गुरुदेवले अखिल विश्व गायत्री परिवारलाई सादा जीवन–उच्च विचारको उत्तराधिकार दिएका छन्। युगऋषि पूज्यवर पुरातन ऋषि परम्पराका संवाहक थिए, जो जङ्गलमा कुटी बनाएर साधना गर्दथे, न्यूनतममा निर्वाह गर्दै, मानव चेतनाको अनुसन्धान र लोकसेवामा तल्लीन रहन्थे।