हाम्रो मुलुक नेपालको पर्यावरण तथा वातावरण बिगँ्रदो छ। मुलुकको कुल क्षेत्रफलमध्ये ४० दशमलव ३६ प्रतिशत क्षेत्रफल ओगटेको वनजङ्गल वार्षिक करीब दुई प्रतिशतको दरले मासिंदैछ। हावा प्रदूषित छ, विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डभन्दा हाम्रो मुलुकको हावा १० गुणा बढी प्रदूषित छ। बितेका केही वर्षदेखि हाम्रो सङ्घीय राजधानी काठमाडौं संसारको सबैभन्दा प्रदूषित शहरको दर्जामा पुगेको छ। अवैज्ञानिक र अवैधानिक तरीकाबाट गिट्टी, बालुवा उत्खनन एवं निर्यात भइरहेको छ। विगतदेखि हालसम्मका सरकारको बजेट वक्तव्यमैं प्राकृतिक स्रोत गिट्टी, बालुवा, ढुङ्गा निर्यात खुलाउने कुराले प्राथमिकता पाउँदा चुरेवासी त्रसित छन्। सरकारको यो कदमले नयाँ बहस जन्माएको छ। दिगो तथा वैज्ञानिक विधिले उपयोग गर्न नजान्दा नेपाल काठ निर्यात गर्ने देशबाट आयात गर्ने देश बन्न पुग्यो। वातावरणीय असन्तुलन जस्तै पहाडमा पहिरो, तराईमा बाढी, नदी कटान र सिंचाइको अभावका कारण उब्जनी कम हुँदा नेपाल अन्न आयात गर्नुपर्ने अवस्थामा आएको छ। कुनै बेला हाम्रो मुलुकले धान, चामल, दाल निर्यात गरेको कुरा

इतिहास भइसकेको छ। यसै हो भने एक दिन हामीलाई चाहिने गिट्टी, बालुवा पनि आयात गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न।

हाम्रो गिट्टी, बालुवाको स्रोत चुरे पहाड हो, जुन अन्य पहाडको तुलनामा अत्यन्त कमजोर छ। कानूनी प्रतिबन्ध हुँदा पनि गिट्टी, बालुवा प्रशस्त चोरी निकासी भइरहेको अवस्थामा निकासी फुकुवा भयो, चुरेको हालत के हुने होला ? चुरे तराई सिञ्चित गर्ने पानीको स्रोतका साथै मलिलो माटो र तराई–मधेस क्षेत्रको संरक्षणको आधार हो। चुरे पहाड प्रशस्त लोपोन्मुख जीव, वनस्पतिहरूको वासस्थान पनि हो। वासस्थान मासिंदै जाँदा त्यहाँ पाइने खर मयूर, गिद्द, गोहरोलगायत लोपोन्मुख जीवहरूको अस्तित्व प्रायः नामेट हुने क्रममा छन्। वनजङ्गल र रूखबिरुवाको महत्व केवल घाँस, दाउरा, काठ र फलफूलका लागि मात्र होइन। पर्यावरण संरक्षण तथा वातावरण संतुलनमा पनि यसले महत्वपूर्ण योगदान पु–याइरहेको छ। विश्वमा पानीको भण्डार वा स्रोतका सबै पारिस्थितिकीय प्रणालीहरू निकै प्रदूषित बनिसकेका छन्। प्लास्टिकले गर्दा सामुद्रिक जीवजन्तुलाई असर पारिराखेको छ। समुद्रमा समेत प्लास्टिकाका टुक्राहरू कहालीलाग्दो परिमाणमा छन्। यता हाम्रा धारा पधेंरामा पानी छैन, जथाभावी रूख फँडानीले खोल्साखोल्सीका धेरैजसो मूल सुकिसके। प्रकृतिले दिने शुद्ध हावा र पानी हाम्रै कारण प्रदूषित भएका छन्।

रूखबिरुवाको महत्व र तिनले दिने प्राणवायु अमूल्य छ। हामीले लिने शुद्ध हावामा लगभग २० प्रतिशत अक्सिजन हुन्छ। एक स्वस्थ मानिसले एक दिनमा ५५० लिटर शुद्ध अक्सिजन लिनुपर्छ। जसको मूल्य अहिलेको बजारमा करीब १८ हजार रुपैयाँ पर्न आउँछ। कोभिड–१९ सङ्क्रमणका बेला अक्सिजनको अभावमा जीवन गुमाउने परिवारले अक्सिजनको मूल्य अझै नजीकबाट अनुभूत गरेको हुनुपर्छ। चुरे तथा वनजङ्गल मासिंदा शुद्ध अक्सिजनबाट हामी वञ्चित हुनुपर्छ। यसको अलावा चुरे र तराईमा पाइने खयर, सिमल, चिउरी, महुवा जस्ता वनस्पति मासिंदा यसमा आश्रित रैथाने मौरी आदि कीट पनि लोपोन्मुख भएका छन्। यी सबै पक्षलाई जोगाउन चुरे जोगाउनुपर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here