हामी नेपालीहरू विदेशी भाषा, संस्कृति, पहिरन, रहनसहन र राजनीतिक विचारधारालाई समेत आत्मसात् गरी त्यसलाई नेपाली रूपमा प्रस्तुत गर्दै आएका छौं। जबकि नेपाल सनातन धर्म–संस्कृतिको लामो इतिहास बोक्दै आएको देश हो। हाम्रो आफ्नो भाषा, संस्कृति, धर्म, परम्परा, तीर्थस्थलहरू गर्व गर्न लायक छन् र हालका दिनमा पश्चिमाहरूले समेत यसको अनुकरण गर्दै आएका छन्। नेपालमा कम्युनिस्ट पार्टीको वर्चस्व छ र नेपाली कम्युनिस्टहरू अहिले आफूलाई चिनियाँ कम्युनिस्ट पार्टीको शाखाका रूपमा सम्झिरहेका छन्। सायद त्यही भएर होला निरन्तररूपमा भेटघाट गर्ने र प्रशिक्षण लिने गरेका छन्। माओको देश चीनमा पनि अब माओको विचारधारा औचित्यहीन साबित भएको छ। माओको दर्शन गर्न लायक त्यस्तो केही पनि नरहेकाले चिनियाँहरूले देङ सियाओ पिड्ढो आर्थिक उदारवादको नीतिलाई विगत चार/पाँच दशकदेखि आत्मसात् गर्दै आएका छन् र माओको सांस्कृतिक क्रान्तिलाई समेत औचित्यहीन र व्यर्थ साबित गर्दै कन्फुसियस विचारधारालाई पुनः आत्मसात् गर्दैछन्, प्रचारप्रसार गर्दैछन् र यसलाई सांस्कृतिक पुनर्जागरणको नाम दिएका छन्। माओका नेपाली चेलाहरूले उनका किताब पढेर हिन्दू धर्म–संस्कृतिलाई अपमानित गर्ने काम त गरे तर अब चीनले पनि सांस्कृतिक पुनर्जागरणको नाममा कन्फुसियस विचारधारालाई आत्मसात् गरेको छ। यस्तोमा के नेपालका माओवादी र कम्युनिस्टहरूले पनि आफ्नो सनातन धर्म–संस्कृतिको प्रचारप्रसारमा ध्यान दिनेछन् ? नेपालमा कन्फुसियस सेन्टरको शाखा खोल्न लगाएर चिनियाँ भाषा, संस्कृतिको नेपालमा पनि संरक्षण, संवर्धन र प्रवर्धन गर्नुभन्दा त विश्वकै पुरानो, सम्मानित र गौरवशाली पूर्वीय सभ्यता र संस्कृतिको विकासमाथि ध्यान दिनु उचित हुनेछ।
नेपालका माओवादीले आफ्नो एक दशक लामो सशस्त्र सङ्घर्षमा हिन्दू धर्म–संस्कृतिलाई आफ्नो तारो बनाएका थिए, पण्डितको घाँटी छिनाल्ने काम गरे। संस्कृत पढ्ने वटुकको शिखा काटिदिए, ठाउँठाउँमा मठमन्दिरका पुजारीलाई अपमानित गर्ने काम भयो। आफ्नो अतीतको यस गलतीका लागि नेपाली जनतासामु उसले पश्चात्ताप गर्नुपर्छ।
माओ त्से तुड्ढो नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले सन् १९४९ मा नयाँ जनवादी क्रान्ति गरेको थियो। माओको नेतृत्वमा सर्वहारा सांस्कृतिक (१९६६–७६) क्रान्ति चलेको थियो। सांस्कृतिक क्रान्तिकालमा पुराना विचार संस्कार, संस्कृति, इतिहासलाई नामेट गर्न ठूलो अभियानहरू चले। पुराना ऐतिहासिक स्थलहरू पनि भत्क्याइए। घरमा समेत भएका मूर्तिहरू जफत गरियो र तिनीहरूलाई विनाश गरियो। त्यही सांस्कृतिक क्रान्तिकालमा कन्फुसियसको विचारधारा र दर्शनमाथि कडा आक्रमण भयो। उनका दार्शनिक पुस्तक र अभिलेखहरू खोजीखोजी नष्ट गर्ने कामसमेत गरियो। पुराना विचारधारा र दार्शनिक मान्यताका कारणले चिनियाँ समाजको पछौटेपनको दोषारोपणसमेत भयो। सर्वहारा संस्कृतिमा कन्फुसियसको दर्शनलाई तारो बनाएर उनका पुरातात्विक वस्तुहरूलाई नष्ट गर्ने काम भयो। उनका अनुयायीहरूलाई समेत मुख्य निशाना बनाउने काम भयो। पार्टीभित्र नेता, कार्यकर्तामाथि अनुयायी भएकै कारण माओले तारो बनाए। लिन प्याओ, चाउ ऐनलाईसमेत कन्फुसियसका अनुयायी भएका कारणले राजनीतिकरूपमा प्रतिशोधको भावनाले हेर्ने काम भयो। माओले स्थापना गर्न खोजेको समाजवाद र साम्यवादको विरोधी दर्शनका रूपमा कन्फुसियसलाई मानेको थियो। माओले आफ्नो यात्रामा कन्फुसियस दर्शनलाई तगारोको रूपमा चित्रण गरेका थिए। माओको सांस्कृतिक क्रान्तिको बढी प्रभाव तिब्बतमाथि परेको थियो। बुद्ध धर्म र संस्कृतिमाथि पनि यसको दुष्प्रभाव पर्न गयो। अब अहिले त तिब्बतमा हान जातिहरूको सङ्ख्या पनि तिब्बतीहरूभन्दा कम छैन। आज चीनमा एकपटक फेरि पनि कन्फुसियसको विचारधारालाई आत्मसात् गर्ने काम भइरहेको छ। चिनियाँहरू कन्फुसियस दर्शनमाथि गर्व गर्न थालेका छन्। वर्तमान चिनियाँ राष्ट्रपति सी जिनपिङले अघि सारेको ग्लोबल सिभिलाइजेशन इनिशिएटिभ (जिसिआई) मूलतः कन्फुसियसकै विचारधारा र चिनियाँ संस्कृतिको विश्वव्यापी प्रभाव बढाउने पहल नै हो। जुन चीनले दशकअघिसम्म कन्फुसियस विचारधारालाई देशको आर्थिक विकासमा बाधक मान्ने काम गरेको थियो। आज त्यही चीनले आफ्नो पुरानो संस्कृति, परम्परा र धर्ममाथि नै गर्व गर्न थालेको छ। माओको देशमा नै माओको विचारधारा अप्रासाङ्गिक साबित भइरहेको छ। यस्तोमा नेपाली माओवादी र वामपन्थीले माओको मन्त्रलाई अन्तिम सत्य मान्नुको कुनै अर्थ छैन।
माओको मृत्युपछि चिनियाँ कम्युनिस्ट पार्टीले नयाँ मोड लियो। आर्थिक उदारीकरणको बाटोमा देशलाई हिंडाउने काम ग–यो। देङ सियाओ पिड्ढो यस पहलकै कारण चीन अहिले विश्वको प्रमुख आर्थिक शक्तिमध्येको एक बन्न गएको छ। पछिल्लो चार दशकको उसको आर्थिक उदारवादको नीतिले उसलाई विकासोन्मुख मुलुकबाट बाहिर ल्याएर विश्वको सम्मानित अर्थतन्त्र बनाएको छ। विश्वका चार प्रमुख आर्थिक शक्तिमा जापान, चीन र भारत तीनवटा एशियाबाटै आउँछन्। एशियामा शक्ति केन्द्र स्थानान्तरण हुने प्रक्रिया तीव्र गतिमा बढेको छ। प्रमुख आर्थिक शक्ति बन्ने होडमा भारत र चीनबीच प्रतिस्पर्धा भइरहने निश्चित जस्तै छ। अहिलेको चीन माओवादीकालीन गरीब, कमजोर र भोकमरीले थिलथिलो भएको देश होइन।
केवल राजनीतिक विचारधारा तथा दर्शनको अध्ययनले मात्रै काम चल्दैन। आँखा चिम्लेर कसैको अन्धो समर्थक र भक्त हुनु उचित होइन। अध्ययनपश्चात् मनन पनि आवश्यक छ। विश्वव्यापी अनुभवबाट पनि केही सिक्नुपर्छ। आज नेपालजस्तो देशमा पनि त्यही माओको देश चीनले आफ्नो दार्शनिक कन्फुसियसको विचार र चिनियाँ संस्कृतिको व्यापकरूपमा प्रचारप्रसार गर्न चाहन्छ। नेपालजस्तो देशलाई चिनियाँ अथवा पश्चिमा दार्शनिकहरूको अनुभव र विचार चाहिएको छैन। हाम्रा आफ्नै महापुरुष र ऋषिमुनिहरूले वर्षाैंको तपस्या र अध्ययनपश्चात् रचना गरेका महान् ग्रन्थहरू हाम्रानिम्ति प्रेरणाका स्रोत हुन्। चार वेद, उपनिषद्हरू, रामायण, महाभारत र विभिन्न स्मृति ग्रन्थहरूमा सबै कुरा लेखिएका छन्। सनातन धर्म–संस्कृति स्वयम् नै ज्ञानको भण्डार हो। जसरी चिनियाँहरूले आफ्नो संस्कृति र दार्शनिकमाथि विश्वास गरेका छन्, त्यसरी नै हामीले पनि हाम्रा महापुरुषहरूबाट सिक्ने प्रयास गर्नुपर्छ।