– बैद्यनाथ ठाकुर

मानिस सोच्न सक्ने प्राणी हो। यही सोचले गर्दा मानिसको व्यवहार निरन्तर परिवर्तन भइरहन्छ। सोच अनुसारको व्यवहारलाई संस्कार भनिन्छ। तिनै संस्कारहरू पुरानो हुँदै गएपछि त्यसलाई दिवसको रूपमा मनाउने चलन बसेको हो। यति बेला हाम्रो समाजमा नयाँ–नयाँ दिवस देखा परेका छन् भने पुराना दिवसहरू पनि चलि नै रहेका छन्। नयाँ दिवस नयाँ सोचबाट आएको हो। नयाँ सोच नयाँ पुस्ताले ल्याएको हो। पुरानो सोच पुरानो पुस्तामा कायम छ। त्यस्तोमा कतिपय पुरानो सोचबाट नयाँ पुस्ता मुक्त हुन सकेको छैन भने नयाँ सोच अनुसार नयाँ दिवस पनि मनाउन थालेको देखिन्छ। यति बेला समाजभित्र विज्ञान दिवस, पुस्तक दिवस, भौतिकवादी दिवस, नास्तिक दिवस, जात व्यवस्थाविरुद्ध विद्रोह दिवस आदि दिवसहरू पनि मनाउन थालिएको छ। यही १० गते जेठ देशव्यापी रूपमा जात व्यवस्थाविरुद्ध तेस्रो विद्रोह दिवस मनाएको देखियो।

अन्धविश्वासका संरक्षक एकथरी मान्छेले ‘काम अनुसार जात निर्माण गरिएको हो’ – भनेर अथ्र्याउने गरेको पाइन्छ। जात व्यवस्थाबाट कुनै समस्या नरहेको, यो कामको बाँडफाड मात्र हो, भन्ने तर्क उनीहरू गर्छन्। यिनको दृष्टिमा जात व्यवस्थाले समाजभित्र कुनै असमानता उत्पन्न गरेको छैन।

अन्धविश्वास, रूढिवाद तथा पाखण्डका कट्टर समर्थक र संरक्षक अर्काथरी मानिसको अनुसार हिन्दू धर्मले व्याख्या गरे अनुसार हाम्रो समाजमा ब्रह्माले मान्छेको सृष्टि गर्दा चारवटा जात जन्माए। ब्रह्माको मुखबाट जन्मेका ब्राह्मण, भुजाबाट जन्मेका क्षत्री, पेटबाट जन्मेका वैश्य र खुट्टाबाट जन्मेका शुद्र भए भनी धर्मग्रन्थमा लेखेका छन्। यसरी पूजापाठ गर्ने, होम–यज्ञ गर्ने र शिक्षादीक्षा दिने काम गर्ने भएकोले समाजमा सबैभन्दा श्रेष्ठ ब्राह्मण नै हुन् भन्ने गरेका छन्।           त्यसैगरी क्षत्रीको काम राजपाट गर्ने, युद्ध गर्ने, वैश्यको काम व्यापार गर्ने तथा शुद्रको काम यी तीनवटै जातिको सेवा गर्ने कर्तव्य भनी धर्मग्रन्थमा उल्लेख गरिएको छ।

परम्परागत कम्युनिस्ट आन्दोलनसँग सम्बन्धित व्यक्तिहरू जात व्यवस्थालाई वर्गीय समस्याको रूपमा हेर्ने गर्छन्। जबसम्म समाजमा वर्गीय समस्या रहन्छ तबसम्म जात व्यवस्था रहन्छ। त्यसैले वर्गीय मुक्तिसँगै जात व्यवस्थाबाट पनि मानव समाजले मुक्ति पाउँछ भन्ने धारणा राख्दछन्। वर्गीय मुक्तिभन्दा पर जात व्यवस्था कुनै समस्या नरहेको यिनीहरू व्याख्या गर्छन्। त्यसकारण कुनै पनि कम्युनिस्ट पार्टीभित्र दलितहरूलाई पार्टीको हाई कमान्डमा वर्चस्व हुने गरी आजसम्म स्थान दिएको देखिंदैन। बरु यसको ठीक उल्टो सबै कम्युनिस्ट पार्टीभित्र उही धार्मिक कर्मकाण्डी बाहुनहरूकै हालीमुहाली छ। फलस्वरूप एक नम्बर क्रान्तिकारी इतिहास बोकेका बाहुन कम्युनिस्टहरू कोही उज्यानमा गएर धोती र रामनामी लगाएर शिवको पूजा गर्छन् भने कोही पशुपतिमा सुनको जलहरी व्यवस्थापन गर्छन्।

संसारभरिकै कम्युनिस्ट आन्दोलनमा आएको पतनको कारण खोज्दै जाँदा वर्तमान अवस्थामा जबसम्म आत्मनिर्भर समुदायको निर्माणमा विज्ञान प्रविधिको प्रयोग गर्दै कम्युनिस्ट पार्टीहरू वर्ग सङ्घर्षलाई जात व्यवस्था उन्मूलनको मुद्दासहित सडकमा जाँदैनन्, तबसम्म वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न हुन सक्दैन भन्ने सोच राख्ने एकथरी कम्युनिस्ट देखिन्छन्। यिनीहरूका अनुसार जात व्यवस्था यसरी निर्माण गरिएको छ कि हाम्रो समाजभित्र त्यसले नै वर्गको निर्माणमा जगको काम गरेको छ। जात व्यवस्था नभत्काएसम्म क्रान्ति नै सम्पन्न नहुने, समाजवाद आउनै नसक्ने टुङ्गोमा यस्ताहरू पुगेका छन्। यसकारण पनि जात व्यवस्था, वर्गीय मुद्दा मात्र होइन, यसबारे छुट्टै जात व्यवस्था उन्मूलन अभियान, क्रान्तिको केन्द्रमा राखेर चलाउन जरूरी छ। यसरी हाम्रो समाजमा जात व्यवस्थाप्रति एउटै राय देखिदैन।

वास्तवमा जात व्यवस्था जति सजिलो देखिन्छ, यो त्यति नै पेचिलो चीज हो। जात व्यवस्थाले मानिसको दिमागमा यस्तो मनोविज्ञान स्थापित गरेको छ कि सबैभन्दा माथि हुनेले आपूmभन्दा तल कोलाई थिच्ने तथा यो थिच्ने निरन्तरता तल–तल सर्दै जाने र सबैभन्दा तल भएको जातले समेत भुईं खोस्रेर कसलाई थिच्ने भनी खोजी हिंड्ने अवस्था रहेको छ। हाम्रो समाजमा सबै सामाजिक कार्य जातकै आधारमा हुने गरेको सजिलै देख्न सकिन्छ। प्रेम गर्दा जात हेर्नुपर्ने, नहेरेर अन्तर्जातीय प्रेम गरेकै कारण मृत्युदण्ड पाउने घटनाहरूको लामो शृङ्खला छ। कथित तल्लो र उपल्लो जातको बीचमा मात्र होइन, कथित उपल्लो जातभित्र पनि प्रेम सम्बन्ध कायम हुन नसक्नेगरी उपजात व्यवस्थामा आधारित तहगत  संरचना छ। जात व्यवस्थाको प्रमुख वैचारिकी रक्त शुद्धता हो। आप्mनो जातभन्दा भिन्न जातमा प्रेम वा विवाह गरे रक्त शुद्धता कायम नरहने हुँदा सजातीय  विवाह अनिवार्य छ। जबकि मानव स्वयं एउटा जाति हो। मानिस भित्र रक्त समूहको आधारमा कुरा गर्ने हो भने मान्छेले निर्माण गरेको जातिको कुनै रक्त समूह हुँदैन। यो पूर्णतः अवैज्ञानिक कुरो हो। सजातीय विवाहविरुद्ध समय–समयमा प्रतिरोध र विद्रोह पनि भइरहेकै छ। विभिन्न समयमा अन्तर्जातीय प्रेम विवाह गरेका जोडीहरू यो समाजमा बाँच्न नसकी सामूहिक आत्महत्या गरेका घटनाहरू खोज्ने हो भने प्रत्येक गाउँमा भेटिन्छ। यसको ज्वलन्त उदाहरण पछिल्लो घटनाको रूपमा रूकुम जनसंहारलाई लिन सकिन्छ। विजातीय प्रेम गर्दा समाजले सामूहिक हत्या गरेको उनै नवराज विक र उनका साथीहरूको स्मरण गर्दै जात व्यवस्थाविरुद्ध विद्रोह दिवस २०७९ जेठ १० देखि मनाउन थालिएको हो।

जात व्यवस्थाको इतिहासतिर फर्कंदा साढे तीन शताब्दी पहिले वर्णाश्रम व्यवस्थाको उदयसँगै व्यवस्थितरूपमा समाजभित्र जातको आधारमा शोषण र विभेद, राजनीतिक संरक्षणमा धार्मिक लेपनभित्र शुरू भएको देखिन्छ। जात व्यवस्थाले यसको शिखरमा रहेको ब्राह्मण समुदायलाई सबैभन्दा बढी फाइदा पु–याउँदै आएको छ भने यसको पिंधमा रहेको दलित समुदायलाई सबैभन्दा बढी नोक्सान पु–याएको छ।

२०७७ जेठ १० गते अन्तर्जातीय प्रेम विवाहको समर्थनमा भेरी वारि र पारिबाट जम्मा भएर रूकुम (पश्चिम) चौरजहारी सोती पुगेका जन्तीमध्ये जात व्यवस्थाका मतियारहरूले आधा दर्जनको हत्या गरे र दर्जनौंलाई घाइते बनाए। सो नरसंहारपछि जात व्यवस्था अन्तर्गत उपल्लो जातमा दर्ज भएकी रूकुम

(पश्चिम) सोतीकी सुषमा मल्ल र तल्लो जातमा दर्ज भएका जाजरकोट रानागाउँँका नवराज विकको प्रेमसम्बन्ध वैवाहिक सम्बन्धमा परिणत हुन सकेन।

समयको गतिसँगै चार वर्ष पहिले जाजरकोट र पश्चिम रूकुमका युवाले सङ्गठित र वैचारिक सचेतनाद्वारा दलित मुक्ति आन्दोलनका निम्ति उक्त कदम पक्कै चालेका थिएनन्। साँच्चै प्रेम अन्धो हुन्छ। प्रेमले जातपात हेर्दैन। तर त्यही भयो त्यति बेला। प्रेम आफैंमा एउटा विद्रोह पनि हो। परम्परागत बिहेविरुद्ध बिगुल हो प्रेम विवाहस त्यसमा पनि अन्तर्जातीय विवाह सशक्त विद्रोह हो।

विनायोजना सहजतापूर्वक जात व्यवस्थाको साङ्लो भाँच्न गरिएको सो प्रेमिल प्रतिरोधको सम्मान गर्दै विद्रोहको स्तरसम्म पु–याउन बाँचिरहेका सबै प्रगतिशील वामपन्थी क्रान्तिकारी समाजमा रूपान्तरण चाहने भौतिकवादी व्यक्तिहरूको लागि यो एउटा दिवसको रूपमा मनाउने अवसर जुरेको छ। हुनत घटना घटेको साढे तीन वर्षपछि २०८० साल मङ्सिर १९ गते जिल्ला अदालत, रूकुम (पश्चिम)ले एक नाबालकसहित २४ जनालाई जन्मकैद (२५ वर्ष) र नवराजकी प्रेमिकासहित तीनजनालाई जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसूर र सजाय) ऐन, २०६८ अन्तर्गत जनही २ वर्ष कैद र ५० हजार जरिवानाको फैसला सुनाइसकेको छ तर अदालती प्रक्रिया अनुसार अझै पनि अभियोगीहरू उच्च अदालत र सर्वाेच्च अदालतमा जान सक्ने अवस्था भएको हुँदा अन्तिम टुङ्गो के हुन्छ अहिले नै भन्न सकिंदैन।

जे होस् जात व्यवस्था यतिन्जेल सांस्कृतिकरूपमा मात्र धानिएको छैन। यसलाई धार्मिक आवरणभित्र राखेर जसरी राज्यले पूर्ण संरक्षण दिएको छ त्यो पनि एउटा ठूलो कारण छ जसले गर्दा जात व्यवस्था चल्दैछ। हुनत संविधानमा छुवाछूत निषेध गरिएको छ। अपराध मानिएको छ। तर यस विषयमा सार्वजनिकरूपमा थुप्रै चोटी विभेद भएको घटना प्रकाशमा आउँदा पनि कानूनले खासै सजाय गरेको देखिंदैन। त्यसैले जात व्यवस्था केवल छुवाछूत वा छोइ छिटोको समस्या होइन। यो जति गम्भीर सामाजिक र सांस्कृतिक स्वरूपमा देखिन्छ त्योभन्दा बढी गम्भीर राजनीतिक र आर्थिकरूपमा छ। जसरी एकातर्फ राज्यको महत्वपूर्ण निकायमा दलितहरूको उपस्थिति लगभग शून्य छ। त्यसैगरी आर्थिकरूपमा समेत उनीहरूसँग शून्यताकै अवस्थामा जग्गा–जमीन पनि छ। दिनरात परिश्रम गरेपनि उनीहरूको नाममा जग्गाको लालपुर्जा बन्नेगरी आम्दानी नहुनुको कारण के होला ? आजको सङ्घीय लोकतान्त्रिक गणतन्त्रका सहधर्मीहरूको निधार खुम्चनुपर्छ कि पर्दैन ? धर्मग्रन्थहरूमा मानव सबै एक हुन् लेख्ने तर शुद्रहरूले तपस्या गरेकै कारण तिनका घाँटी काटिदिने भगवान्हरूको गुणगान गरेका कथाहरू, व्यास गद्दी लगाएर दिनरात टेलिभिजनबाट प्रसारण गर्दा समाजमा सबै मानव एक हुन् भन्ने पर्छ कि मानव–मानवबीच विभेदको बलियो पर्खाल ठडिन्छ ? मुखले जतिसुकै शान्ति–शान्ति कराए पनि धार्मिक ग्रन्थहरूमा शान्ति शान्ति जति लेखे पनि, हाम्रो समाज निरन्तर अशान्त बन्दै गएको अनुभूति सबैले गरेकै हो। वास्तविक अवस्था अहिले के सम्म छ भने एउटा मान्छेमा मानवता समेत पाउन गाह्रो छ। हजारौं लाखौं मानिस भोकभोकै छन् तर लाखौं क्विन्टल खाद्य सामग्रीहरू वेस्टको रूपमा दिनहुँ फालेको भोजभतेरमा हामी देखि नै रहेका छौं। यस्तोमा मानवता कहाँ देखिन्छ ? वास्तवमा समाजबाट मानवता हराउनुको एउटा मूल जिम्मेवार जात व्यवस्था पनि हो। यसले मानिसको मनोविज्ञानमा कसैलाई म ठूलो र कसैलाई म सानो  भन्ने कुरा बलियोसँग पारिदिएको छ। त्यसैले साँच्चीकै समाजमा मानवता स्थापना गर्ने हो भने जात व्यवस्था समूल भत्काउन ढिलो भइसक्यो भन्ने कुरो सरोकारवाला सबैले बुझ्न जरूरी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here