राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले गणतन्त्र दिवसको अवसरमा विभिन्न चार खेलका आठजना खेलाडीलाई मङ्गलवार नगदसहित पुरस्कृत गरेको छ। एथलेटिक्स र शारीरिक सुगठनका समान तीन/तीन तथा मुवाँथाई र उसुका समान एक/एक खेलाडीलाई प्रोत्साहनस्वरूप पुरस्कार प्रदान गरिएको छ।
उनीहरूलाई राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्यसचिव टङ्कलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठलगायतले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकूद परिसरमा आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरेका थिए।
एथलेटिक्सबाट सन्तोषी श्रेष्ठ, राजपुरा पछाईं र राममाया बूढा पुरस्कृत भएका छन्। सन्तोषीले बङ्गलादेशमा भएको ढाका म्याराथनको दक्षिण एशियाली प्रतिस्पर्धामा स्वर्ण तथा राजपुरा र राममायाले नेपालमा भएको १६औं एशियाली क्रस कन्ट्रीको व्यक्तिगत र टीम स्पर्धामा रजत जितेका थिए।
शारीरिक सुगठनबाट ललित धिमाल, रजनी श्रेष्ठ र समन मूलगुठीलाई पुरस्कृत गरियो। ललितले माल्दिभ्समा भएको १३औं दक्षिण एशियाली शारीरिक सुगठनमा स्वर्ण तथा रजनी र समनले नेपालमा भएको ५५औं एशियाली शारीरिक सुगठन तथा स्पोट्र्स फिजिक च्याम्पियनशिपमा स्वर्ण पदक जितेका थिए।
मुवाँथाईबाट गुणराज रुचाल तथा उसुबाट विजयी सिजालीले पुरस्कार पाएका छन्। गुणराजले थाइल्यान्डमा भएको १९औं विश्व मुवाँथाई च्याम्पियनशिपको सेमीप्रो स्पर्धामा स्वर्ण जितेका थिए। विश्व च्याम्पियनशिपको सेमीप्रोमा गुणराजअघि कुनै पनि नेपाली खेलाडीले पदक जित्न सकेका थिएनन्। विजयीले साउदी अरबमा भएको विश्व कम्ब्याट गेम्समा स्वर्ण पदक जितेका थिए।
आठ खेलाडीलाई गरी रु छ लाख ५० हजार नगद पुरस्कार वितरण गरिएको राखेपका उपाध्यक्ष कोइरालाले जानकारी दिए। उनका अनुसार राजपुरा र राममायाले जनही रु ५५ हजार नगद पुरस्कार पाएका छन्। बाँकी खेलाडीलाई जनही रु ९० हजार नगद पुरस्कार प्रदान गरियो।
कार्यक्रममा उपाध्यक्ष कोइरालाले पुरस्कृत खेलाडीलाई बधाई दिंदै आगामी दिन अझ बढी सफलता हासिल गर्न शुभकामना दिए। उनले नेपाललाई खेलाडीको देश भनेर चिनाउन सबैले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
राखेपका सदस्यसचिव घिसिङले ऐतिहासिक दिवसका अवसरमा परिषद्ले खेलाडीलाई सम्मान गरेको भन्दै कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता बेलैमा शुरू नगरे खेलाडीबाट ठूलो सफलताको अपेक्षा गर्नु न्यायोचित नहुने उल्लेख गरे। उनले ओलम्पिकमा पदक हासिल गर्ने हो भने खेलकूदलाई विद्यालय तहबाटै पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिए। यस अभियानमा सरोकार भएका निकाय तथा आमनागरिकको एक स्वर हुनुपर्ने उनको भनाइ थियो।
खेलाडी छनोट गर्न राखेपले तालीम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माको संयोजकत्वमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ र सङ्घसंस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राई सदस्य रहने गरी तीन सदस्यीय खेलाडी छनोट कार्यदल गठन गरेको थियो।