आइसिसी टी–२० विश्वकप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाल पहिलो अभ्यास खेलमा क्यानडासँग पराजित भएको छ। क्यानडाले नेपाललाई ६३ रनले हराएको हो।
अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी रङ्गशालमा सोमवार भएको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो। क्यानडाले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १८३ रन बनायो। जीतका लागि १८४ रनको लक्ष्य पाएको नेपाल १९.३ ओभरमा १२० रनमा समेटियो।
नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन बनाए। उनले ३० बल खेल्दै दुई चौका र दुई छक्का हाने। यस्तै, अनिल साहले १६ बलमा २४, आसिफ शेखले २२ बलमा २२ तथा कुशल भुर्तेलले १६ बलमा १० रन बनाए।
बलिङतर्फ क्यानडाका लागि डिलन हेलिगरले चार, साद बिन जाफर र जेरेमी गोर्डनले दुई/दुई तथा कलिम साना र परगट सिंहले एक/एक विकेट लिए।
यस अघि क्यानडाका लागि ब्याटिङ गर्ने क्रममा निकोलस कीर्तनले अर्धशतकीय पारी खेले। उनले ३९ बल खेल्दै चार चौका र दुई छक्काको मदतमा ५२ रन बनाए। यस्तै, रवीन्द्रपाल सिंहले १७ बलमा ४१ रन बनाए। उनले एक चौका र चार छक्का प्रहार गरे। नवनीत धालिवालले २७ बलमा ३२, डिलन हेलिगरले १३ तथा परगट सिंहले १३ रन बनाए।
बलिङतर्फ नेपालका लागि अविनाश बोहोराले दुई तथा करण केसी, सागर ढकाल, सोमपाल कामी र गुलशन झाले एक/एक विकेट लिए।
नेपालले दोस्रो अभ्यास खेल यही जेठ १७ गते अमेरिकासँग खेल्नेछ। जेठ १९ गतेदेखि शुरू हुने आइसिसी टी–२० विश्वकपको पहिलो खेल नेपालले जेठ २३ गते नेदरल्यान्ड्ससँग खेल्नेछ।