प्रस, वीरगंज, १३ जेठ/

नारायणी अस्पताल वीरगंजको पाँच सय शøयाको भवन निर्माण योजना अहिलेसम्म अदालतमा विचाराधीन छ। गत जेठ ६ गते मुद्दाको पेशी रहे पनि अहिले हेर्दाहेर्दैमा रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चित्तरञ्जन साहले बताए।

अस्पतालमा पाँच सय शøया निर्माणको लागि शहरी विकास तथा भवन निर्माण कार्यालयले २०७६/१/८ गते पहिलोपटक बोलपत्र आह्वान गरेको थियो। यो बोलपत्रमा ठेकेदार कम्पनीले पेश गरेको कागजातमा भौचरमा नाम फरक भएको भन्दै ठेक्का रद्द गरिएको थियो। र अर्काे बोलपत्र आह्वान गरिएको थियो। यसबीचमा ठेकेदार कम्पनीले उच्च अदालतमा रिट दिएको थियो र अदालतले २०७७/७/१७ मा दोस्रोपटकको बोलपत्र आह्वान रद्द गर्न आदेश गरेको थियो। यस आदेशविरुद्ध शहरी विकास तथा भवन निर्माण विभागले २०७७/९/२ गते सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको थियो।

ठेकेदार कम्पनीले दुई अर्ब रुपियाँँको लागतमा ५०० शøयाको अस्पताल निर्माण गर्न ठेक्का सकार गरेको थियो। हाल नारायणी अस्पताल २५० शøयाको स्वीकृत भएर सञ्चालन भएपनि बिरामीको अत्यधिक चापका कारण अहिले ४०० शøयामा सञ्चालन भइरहेको नारायणी अस्पतालका प्रवक्ता डा उदयनारायण सिंहले बताए।

भौतिक संरचनामा सुधार नभएका कारण अहिले नारायणी अस्पतालको सेवाप्रवाह प्रभावित हुँदै आएको छ। ५०० शøयाको अस्पताल निर्माण योजनासँगै नारायणी अस्पतालमा निर्मित ५० शøयाको आकस्मिक कक्ष ओझेलमा परेको छ। ५०० शøयाको अस्पताल निर्माण हुने पुरानो महेन्द्र आरोग्य भवनदेखि उत्तरतर्फ ५० शøयाको आकस्मिक कक्ष निर्माण भइसकेको छ तर सञ्चालनमा आउन सकेको छैन।

बिरामीहरूले बहिरङ्ग सेवाको लागि सडकदेखि पश्चिमपट्टि पुरानो महेन्द्र आरोग्य भवन रहेको परिसरबाट सेवा लिनुपरिरहेको र भर्नाको लागि सडकदेखि पूर्वतर्फ प्रसूति गृहमा जानुपर्ने अवस्था विद्यमान नै छ।

यसैगरी, औषधिको लागि पनि पूर्वतर्फ प्रसूतिगृहमा जानुपर्ने अवस्था छ। भौतिक संरचना एकै ठाउँमा नहुँदा बिरामीहरूलाई सडकवारिपारि गर्नुपर्ने बाध्यता छ।

सडकको पूर्वपट्टि पुरानो आकस्मिक कक्षमा भर्ना गर्नुपर्ने, भिडियो एक्स–रे, एक्स–रे, प्रयोगशालाको लागि सडकदेखि पश्चिमतर्फ आउनुपर्ने र फेरि भर्नाको लागि पूर्वपट्टि प्रसूतिगृहमा जानुपर्ने बाध्यता छ। गर्मी र जाडोयाम दुवैमा बिरामीहरूले यो बाध्यता भोग्दै आएका छन्।

पाँच वर्षदेखि क्याथ ल्याब सञ्चालनमा आएन

मुटुरोगसम्बन्धी परीक्ष्ण गर्ने करोडौं मूल्य बराबरको क्याथ ल्याब नारायणी अस्पतालमा पाँच वर्ष बित्न लाग्दा पनि सञ्चालनमा आएको छैन। २०७५ सालमा प्रदेश सरकारले क्याथ ल्याबको लागि २० करोड रुपियाँ विनियोजन गरेर पठाएको र सोको लागि १२ करोड खर्च भएपछि बाँकी रकम फिर्ता गरिएको थियो। अस्पतालका मेसु डा साहले तत्कालीन अवस्थामा क्याथ ल्याब सञ्चालन गर्ने स्थानमा कोरोनाको कारण अन्य काम गर्नुपरेकोले नयाँ भवन निर्माण गरेर क्याथ ल्याब सञ्चालन गर्ने सरकारी नीति रहेको र भवन निर्माण भइरहेको बताए। उनले २०७८ सालदेखि नयाँ भवन निर्माण भइरहेको र यही असार मसान्तमा सम्पन्न हुने सम्झौता रहेको बताए। उनले भवन निर्माणपछि क्याथ ल्याब सञ्चालनमा आउने बताए।

बायोमेडिकल इन्जिनीयरको अभाव

नारायणी अस्पतालमा अहिलेसम्म बायोमेडिकल इन्जिनीयरको दरबन्दी हुन सकेको छैन। बायोमेडिकल इन्जिनीयरको दरबन्दी नहुँदा अस्पतालमा रहेका महँगा उपकरणहरू त्यत्तिकै थन्किएर बिग्रिएका छन्। अस्पतालमा अहिले १५ वटा डायलाइसिस, आइसियू र सिसियू गरी १८ वटा, एनआइसियू/पिआइसियू गरी १८ वटा, सिटी स्क्यान, एमआरआई, युएसपी (भिडियो एक्स–रे), प्रयोगशाला सञ्चालनमा छन् तर बायोमेडिकल इन्जिनीयर नहुँदा ती उपकरणहरू मरम्मतसम्भारको अभावमा थन्किएर बिग्रिरहेको बताए। उनले लाखौं, करोडौं मूल्यका उपकरणहरू मरम्मतसम्भार नहुँदा थन्किएर बिग्रिएको र बायोमेडिकल इन्जिनीयरको दरबन्दी भएको भए मरम्मतसम्भारबाट सञ्चालनमा आउने सम्भावना रहेको बताए।

जनशक्ति अभाव, बिरामीको चाप बढ्दै

नारायणी अस्पतालमा अहिले बिरामीको चाप अत्यधिक छ। २५० शøयाको अस्पताल ४०० शøयामा सञ्चालन गर्दा पनि दैनिक ५० भन्दा बढी बिरामी शøया अभावमा फर्कने गरेका छन्। अस्पतालको बहिरङ्ग विभागमा दैनिक १२ सयदेखि १५ सयसम्म बिरामीहरू उपचार गराउन आउँछन्। गर्मीयाममा बिरामीहरूको चाप बढेको र सोअनुरूपको सेवा दिन नसकेको प्रवक्ता डा सिंह बताउँछन्। भौतिक संरचना र जनशक्तिको अभावमा बिरामीहरूलाई आशाप्रदरूपमा सेवा दिन नसकिएको उनी बताउँछन्। नारायणी अस्पतालमा अहिले १९१ जना चिकित्सक, स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारीहरूको दरबन्दी छ। तर यस दरबन्दीमा केवल १३४ जना मात्र कार्यरत छन्। अस्पताल विकास समितिबाट ९२ जना र दैनिक ज्यालादारीमा १३८ जना कार्यरत छन्। यो जनशक्ति पनि मौजूदा अस्पतालको बिरामी सङ्ख्याको तुलनामा कम भएको मेसु डा साह बताउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here