अत्यधिक गर्मी तथा टन्टलापुर घामका कारण दैनिक पठनपाठनमा नराम्रो असर परेको छ। केही दिनदेखि हावा नचल्दा गर्मीले उकुसमुकुस भएपछि विद्यार्थी तथा शिक्षकहरू कक्षाकोठामा बस्न सकेका छैनन्। बिहान ७ बजेदेखि नै कक्षाकोठामा बस्दा गर्मी र पसिनाले भिज्ने गरेको विद्यार्थीहरूले बताए।
जीराभवानी गाउँपालिका–१ स्थित शिवशक्ति प्रावि शान्तिनगरका प्रधानाध्यापक रविमोहन सापकोटाले पानी नपरेको र हावा नचलेकोले अत्यधिक गर्मी भएर कक्षा सञ्चालन गर्न कठिनाइ भएको बताए। विद्यालयमा पङ्खाले पनि तातो हावा दिने गरेको कारण शिक्षक तथा विद्यार्थीहरू पसिनाले निथु्रक्कै भिज्ने गरेको उनले बताए। प्राविमा अध्ययनरत ससाना नानीहरू पसिनाले भिज्दा जोखिम बढिरहेको प्रअ सापकोटाले बताए।
पटेर्वासुगौली गापा–५ स्थित नेरामावि निचुटाका प्रधानाध्यापक श्याम घिमिरेले एउटा कक्षामा एक सयभन्दा बढी विद्यार्थी भएकाले सहनै नसक्ने गर्मी हुने गरेको बताए। आज गर्मीका कारण एकजना छात्राले बान्ता गरेको उनले बताए। त्यस्तै, गर्मीको समयमा भोल्टेज अपडाउन हुने तथा लोडसेडिड्ढो कारण झनै समस्या भएको उनले बताए। विशेषगरी मध्याह्न १२ बजे बिदा भएपछि टाढाटाढाबाट आएका विद्यार्थीहरूलाई घर फर्र्किन समस्या भएको उनले बताए।
नेरामावि रङ्गपुरका एकजना शिक्षकले हरेक कक्षाकोठामा सयभन्दा बढी विद्यार्थी हुने गरेको र उनीहरूको लागि दुईवटा पङ्खा मात्र रहँदा पठनपाठन अस्तव्यस्त भएको बताए।
यसैगरी, ग्रामीण भेगका कतिपय विद्यालयमा हालसम्म विद्युतीय मिटरसमेत जडान भएका छैनन्। जसका कारण पङ्खासमेत जडान नभएको शिक्षकहरूले गुनासो गरेका छन्। यसैबीच, मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन तराईमा अत्यधिक गर्मी बढ्ने भन्दै सोबाट जोगिन सतर्कता अपनाउन अनुरोध गरेको छ। महाशाखाले आइतवार तातो दिन तथा तातो लहरसम्बन्धी विशेष बुलेटिन प्रकाशित गरी आगामी तीन दिनसम्म तराईको भूभागमा तातो हावा र तातो लहरको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले विगत केही दिनदेखि तराईमा ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको र यो क्रममा तातो हावा र लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउडिने, चक्कर आउने, बेहोश हुने, मांसपेशी दुख्ने, बान्ता हुनेलगायतका समस्या हुने भन्दै सो सम्बन्धमा सतर्कता अपनाउँदै घरभित्रै चीसो स्थानमा बस्न अनुरोध गरेको छ।
मौसम पूर्वानुमान महाशाखाले यो अवधिमा बाहिरी वातावरणमा नजान, घाममा नहिंड्न, हलुका सुतीको कपडा लगाउन र बाहिर निस्कँदा टाउको छोप्न र अत्यधिक मात्रामा पानीलगायत झोलिलो पदार्थ सेवन गर्न आग्रह गरेको छ।