गर्मी र वर्षात्को मौसममा सर्पदंशका घटनाहरू बढी हुने गर्छन्। साँपको रगत चीसो हुने हुँदा यसले गर्मी र उकुसमुकुस सहन सक्दैन र यस्तो मौसममा बाहिर खुलामा निस्कने गर्छ। सर्पले कसैलाई डस्दैन तर उसले आफ्नो ज्यानमाथि खतरा महसूस गरेपछि डस्न पनि छाड्दैन। अँध्यारोमा आवश्यक उपकरणविना बाहिर निस्कँदा सर्पदंशका घटना हुने गर्छन्। मानिसको खुट्टा सर्पमा पर्दा वा अन्य कुनै कारणले उसले आफ्नो ज्यानमा खतरा देख्यो भने डस्छ। साँप सबै विषालु पनि हुँदैनन्। साँप देख्यो कि मारिहाल्नुपर्छ भन्ने आम सोच विद्यमान छ। तर साँप मित्रजीव हो भन्ने कुरा पनि हामीले बिर्सनुभएन। हामीबाट उसलाई जान अनजान हानि नपुगोस् भन्नेतर्फ भने ध्यान दिन जरुरी छ। साँप प्रायः अँध्यारो, ओसिलो, खरपात, ओसिएको पराल, पोखरीको डिल अनि काठपातबीच बस्न मन पराउँछ। यस्तो ठाउँमा जाँदा सावधानी मात्र अपनाउने हो भने साँपको टोकाइबाट जोगिन सकिन्छ। साँप प्रायः जमीनमा बस्ने हुँदा यसले खुट्टामा टोक्छ र साँप बसेको ठाउँमा हातले कुनै काम गर्दा हातमा टोक्छ।

साँपले टोकेपछि मानिस आत्तिनु स्वाभाविकै हो। तर यसरी आत्तिने क्रममा रगत प्रवाहमा असामान्य वृद्धि हुन्छ र साँपको विष शरीरमा छिटै फैलिने खतरा हुन्छ। साँपले टोकेमा त्यसविरुद्ध प्रयोग हुने एन्टिस्नेक भेनम औषधि पनि साँपकै विषबाट बन्छ। चिकित्सकको भनाइ अनुसार जुन जातको साँपले टोकेको छ, त्यसैको विषबाट बनाइएको एन्टिभेनम छ भने सामान्य मात्राको औषधिले पनि विष झर्छ। अरू एन्टिभेनम प–यो भने बढी मात्रामा औषधि दिनुपर्छ। तर हामीकहाँ भने एकै खालको एन्टिभेनम औषधि प्रयोग हुने गरेको छ। जसले गर्दा कहिलेकाहीं एउटै मानिसलाई कैयौं मात्रा दिनुपर्ने हुन्छ र अस्पतालहरूमा जहिले पनि यो औषधिको अभाव हुन्छ।

साँपले टोकेपछि उपचार त आवश्यक पर्छ नै तर सामान्य सावधानी अपनाउने हो भने सर्पदंशबाट जोगिन पनि सकिन्छ। साँप बस्ने ठाउँमा नजाने र जानै परे लामो जुत्ता लगाएर जाने, काठपात वा परालमा झ्वाट्ट हात हाल्नुको साटो लौरोले चाहिनेजति झिकेर अनि मात्र हात लगाउने। यस्ता कुराको परामर्श गाउँँघरमा बूढापाकाले दिंदै आएका पनि छन्। यसलाई अहिले विभिन्न सङ्घसंस्थाहरूमार्फत पालिका, वडापालिकाहरूले प्रचारप्रसार गर्दा साँपको टोकाइबाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ। गाउँँघरतिर रातबिरात हिंड्दा लौरो जमीनमा बजार्दै, जुत्ता, चप्पल फटकार्दै हिंड्दा पनि सर्पदंशबाट जोगिन सकिन्छ। साँपले जमीनमा कम्पन महसूस गरेर कसैको उपस्थिति थाहा पाउने गर्छ।

 हामीकहाँ अहिले पनि खुला शौच गर्ने परिपाटी हटिसकेको छैन। खुला शौच गर्ने बानीले गर्दा मानिस झ्याङ, असुरक्षित बाटो भएर, जुन ठाउँमा सर्प बस्न मन पराउँछ, हिंड्छ र प्रायः नाङ्गो खुट्टा हिंड्छ। यस्तो अवस्थामा रातिको बेला मानिसको खुट्टा सर्पमा प–यो भने उसले प्रत्याक्रमण गर्छ। पर्साका ग्रामीण क्षेत्र र त्यसमा पनि ठोरी, जीराभवानीमा सबैभन्दा बढी सर्पदंशका घटनाहरू हुने गरेका छन्। चार वर्ष अघि सर्पदंश उपचार केन्द्र स्थापनापछि सर्पदंशका घटनाहरूबाट मानिसको मृत्यु हुने क्रम धेरै न्यून भएको छ। त्यस अघि वीरगंज, जीतपुर पु–याउँदा मानिसहरूको अकालमा मृत्यु हुने गरेको थियो। सबैभन्दा बढी सर्पदंश हुने स्थानमा उपचार केन्द्र स्थापनाले स्थानीयलाई राहत दिएको छ। सर्पबारे व्यापक जनचेतना विस्तार गरी सम्भावित जोखिमबाट बच्न सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here