गुजरात, १ जेठ/एएनआई

राजकोटको बालबालिका खेल्ने स्थान (गेम जोन)मा शनिवार साँझ ४ः३० बजे भएको भीषण आगलागीमा परी बालबालिकासहित २७ जनाको मृत्यु भएको गुजरातका गृहमन्त्री हर्ष सङ्घवीले पुष्टि गरेका छन्।

गृहमन्त्री सङ्घवीले आगलागी स्थलको आइतवार बिहानै निरीक्षण गरेका थिए। आगलागीपछि अझै एकजना सम्पर्कमा नआएको र उक्त व्यक्तिको खोजी भइरहेको उनले बताए।

शनिवार राति राजकोटका प्रहरी आयुक्त राजु भार्गवले दिएको जानकारी अनुसार कम्तीमा २० जनाको मृत्यु भएको र केही सम्पर्कमा नआएका उल्लेख गरिएको थियो।

भार्गवले भने–“राजकोटको गो–कार्टिङ, बलिङ र अन्य साहसिक खेलहरू जस्ता मनोरञ्जन गतिविधिहरूको हब ‘टिआरपी गेमिङ जोन’मा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ। उनीहरूको मृत शरीर परीक्षणका लागि अस्पताल पठाइएको छ।”

भार्गवका अनुसार ‘गेमिङ जोन’ युवराज सिंह सोलङ्की नाम गरेका व्यक्तिको स्वामित्वमा छ। लापरवाही र मृत्युका लागि उनीविरुद्ध हामी अपराधसम्बन्धी मुद्दा दर्ता गर्नेछौं। उद्धार कार्य पूरा गरेपछि थप अनुसन्धान अघि बढाइनेछ।”

राजकोट आगलागी ः मालिक र व्यवस्थापक सोधपूछका लागि प्रहरी नियन्त्रणमा

भारतको गुजरात राज्यको राजधानी राजकोटस्थित बालबालिका खेल्ने  (टिआरपी गेम जोन) स्थलमा शनिवार भएको भीषण आगलागीमा परी बालबालिकासहित २७ जनाको मृत्यु भएको घटनाबारे सोधपूछका लागि राजकोटस्थित संस्थाका मालिकसहित व्यवस्थापकलाई प्रहरी नियन्त्रणमा लिइएको छ।  अधिकारीहरूका अनुसार शनिवार अपराह्न ४ः३० बजेतिर आगलागी भएको थियो।

राजकोटका प्रहरी आयुक्त राजु भार्गवले घटनाबारे जानकारी दिंदै भने, “आगलागीबारे प्रहरी अनुसन्धान तथा कारबाई शुरू भएको छ। ‘टिआरपी गेम जोन’का मालिक र व्यवस्थापकलाई सोधपूछका लागि प्रहरी नियन्त्रणमा लिइएको छ।

यसैबीच, गुजरातका प्रहरी महानिर्देशकले राज्यका सबै गेम जोनको निरीक्षण गर्न र आगलागीबाट हुन सक्ने सुरक्षाका लागि अनुमतिविना चलिरहेका गेम जोनहरू बन्द गर्न प्रहरी आयुक्तहरू र जिल्ला प्रहरी उपरीक्षकहरूलाई निर्देशन दिएका छन्।

प्रहरी महानिरीक्षकले नगरपालिका र नगरपालिकाका दमकल अधिकृत र स्थानीय प्रणालीसँग समन्वय गरी यो प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन्। राजकोटको गेम जोनमा भएको आगलागीको घटनापछि यस्तो निर्देशन जारी गरिएको हो।

दिल्लीः अस्पतालमा सात नवजात शिशुको अगलागीमा परी मृत्यु

दिल्लीको विवेक विहारस्थित ‘न्यू बर्न बेबी केयर’ अस्पतालमा शनिवार राति आगलागी हुँदा कम्तीमा सातजना बालबालिकाको मृत्यु भएको शनिवार अधिकारीहरूले पुष्टि गरेका छन्। घटनामा परी घाइते भएका अन्य छ शिशुको ‘इस्ट दिल्ली एनआइसियू हस्पिटल’मा उपचार भइरहेको छ।

राष्ट्रपति द्रौपदी मुर्मूले दिल्लीस्थित उक्त अस्पतालमा आगलागीमा परी सात नवजात शिशुको मृत्युको घटनालाई लिएर दुःख व्यक्त गरेकी छन्। “दिल्लीको विवेक विहारस्थित एक अस्पतालमा आगलागीका कारण धेरै बालबालिकाको मृत्यु भएको खबर ह्दयविदारक छ,” राष्ट्रपति मुर्मूले एक्स (ट्वीटर) मा लेखेकी छ। उनले भनेकी छन्, “शोकसन्तप्त आमाबाबु र आफन्तहरूलाई यो आघात सहन परमेश्वरले बल दिनुहोस्। यस घटनामा घाइते भएका अन्य बालबालिकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्छु।”

यसैगरी, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन्। केजरीवालले एक्समा लेखेका छन्, “बालबालिकाको अस्पतालमा भएको आगलागीको यो घटना ह्दयविदारक छ। यस दुर्घटनामा आफ्ना निर्दाेष छोराछोरी गुमाएकाहरूको साथमा हामी सबै उभिएका छौं।”

मुख्यमन्त्री केजरीवालले भने, “सरकार र प्रशासनका अधिकारीहरू घटनास्थलमा नै घाइतेहरूको उपचारमा व्यस्त छन्। घटनाको कारणबारे अनुसन्धान भइरहेको छ र यो लापरवाहीका लागि जो कोही पनि जिम्मेवार छ, उसलाई छुट दिइनेछैन।”

दिल्लीका स्वास्थ्यमन्त्री सौरभ भारद्वाजले पनि घटनालाई गम्भीरतापूर्वक लिंदै कडा कदम चाल्ने आश्वासन दिएका छन्। उनले भने, “मैले स्वास्थ्य सचिवलाई वर्तमान स्थितिको बारेमा अद्यावधिक गर्न भनेको छु। दोषीलाई छुट दिइनेछैन। लापरवाही गर्ने वा कुनै पनि गलत कार्यमा संलग्न हुनेलाई कडाभन्दा कडा सजाय हुनेछ।”

अधिकारीहरूका अनुसार १२ जना बालबालिकालाई घटनास्थलबाट उद्धार गरिएको थियो। तीमध्ये एकजनाको घटनास्थलमा नै मृत्यु भइसकेको थियो।

आगलागीमा परी छ नवजात शिशुको मृत्यु भएको र अन्य पाँचजनालाई अस्पतालमा भर्ना गरिएको दिल्ली प्रहरीले जनाएको छ।

केयर सेन्टरका मालिक नवीन किची घटनापछि फरार रहेका छन्। दिल्ली प्रहरीका अनुसार उनीविरुद्ध धारा ३३६ र ३०४ ‘ए’ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here