जिल्लास्तरीय खोप समन्वय समितिको आयोजनामा शनिवार वीरगंज हेल्थ केयरमा पोलियो खोपबारे पत्रकारहरूसँग अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा मुक्तिनारायण साहले राष्ट्रिय पोलियो खोप अभियान–२०८१ पर्सामा भोलि जेठ १३ गतेदेखि दुई चरणमा शुरू हुन गइरहेको बताए। उनले देशव्यापी यो अभियान यसपटक दुई चरणमा हुने र पहिलो चरणमा भोलि जेठ १३ देखि १६ गतेसम्म र दोस्रो चरणमा जेठ २० देखि २६ गतेसम्म सञ्चालन हुने बताए।
पहिलो चरणमा भोलिदेखि वीरगंज महानगरपालिकाका वडा नं १–१६, बहुदरमाई नगरपालिका, विन्ध्यवासिनी, पकाहामैनपुर, छिपहरमाई, धोबिनी, कालिकामाई र ठोरी गाउँपालिकामा पोलियो खोप अभियान सञ्चालन हुने डा साहले बताए।
दोस्रो चरणमा जेठ २० देखि २६ गतेसम्म वीरगंज महानगरपालिकामा वडा नं १७ देखि ३२, पोखरिया, पर्सागढी नगरपालिका, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली र सखुवाप्रसौनी गाउँपालिकामा अभियान सञ्चालन हुने उनले बताए।
स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत जयमोद ठाकुरले राष्ट्रिय पोलियो खोप अभियान अन्तर्गत भोलिदेखि सञ्चालित अभियानमा २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मेका बालबालिकाहरूलाई सहभागी गराइने बताए।
त्यस अवधिमा पोलियो खोप अभाव रहेकोले त्यस अवधिमा जन्मेका बालबालिकाहरू खोपबाट वञ्चित रहेकाले यो अभियानमा उनीहरूलाई मात्र लक्षित गरिएको बताए।
यो सङ्ख्या देशभर १४ लाख ६२ हजार ७१२ रहेको र मधेस प्रदेशमा मात्र दुई लाख ९२ हजार ९५९ तथा पर्सा जिल्लामा ३१ हजार ८१२ रहेको बताए। खोप अधिकृत ठाकुरले पहिलो चरणको खोप अभियानको लागि सबै गृहकार्य पूरा भएको र दोस्रो चरणको कार्यक्रमको लागि पहिलो चरणको कार्यक्रम सकिएलगत्तै तयारी शुरू गरिने बताए।
जिल्ला समन्वय समिति, पर्साका प्रमुख एवं खोप समन्वय समिति, पर्साका संयोजक अजय सर्राफको अध्यक्षतामा भएको कार्यक्रममा सहसंयोजक पुरनकुमार कुर्मी, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, वीउवासङ्घका अध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष माधव राजपाललगायत सञ्चारकर्मीहरूको सहभागिता थियो।