मस्तिष्क यस्तो अङ्ग हो, यसमा एकपटक समस्या भएपछि पूर्णरूपमा समाधान हुन कठिन हुन्छ। मस्तिष्क लचकदार एवं खुम्चन सक्ने प्रकृतिको हुन्छ। यो दहीजस्तो जमेको स्थितिमा हुन्छ। जब मस्तिष्कमा रक्तस्राव हुन्छ, तब त्यसले मस्तिष्कलाई खुम्चिन र फैलन दिंदैन। रगत तरल अवस्थामा भएपनि बाहिर बगेपछि यो ठोस हुन्छ। यसले मस्तिष्कलाई दबाब दिन थाल्छ। जति धेरै रक्तस्राव हुन्छ, उत्ति नै बढी जोखिम हुन्छ। कतिपय अवस्थामा मस्तिष्क रक्तस्रावले तुरुन्तै मानिसको मृत्यु हुन सक्छ।

मस्तिष्कका विभिन्न समस्यामध्ये मस्तिष्क रक्तस्राव (ब्रेन ह्यामरेज)लाई एक प्रमुख जटिल समस्याका रूपमा लिने गरिन्छ। यो एक प्रकारको मस्तिष्कघात (स्ट्रोक) नै हो। मस्तिष्क रक्तस्राव भन्नाले मस्तिष्कभित्रको सानो या ठूलो रक्तनली फुटी मस्तिष्कभित्र रगत जम्नुलाई बुझिन्छ। मस्तिष्कमा रक्तसञ्चार धेरै भएर रक्तनली फुटी रक्तस्राव हुनु नै मस्तिष्क रक्तस्राव हो। यसले गर्दा मस्तिष्कघात, पक्षघात जस्ता समस्याहरू निम्त्याउँछन्।

मस्तिष्कघात मृत्युको चौथो वा पाँचौं नम्बरमा पर्छ। मस्तिष्क रक्तस्रावले मानव शरीरलाई क्षति पु–याइ ज्यानसम्म जाने हुन्छ तर समयमैं सही उपचार गर्न सकियो भने ज्यान बचाउन सकिन्छ। एकचोटि मस्तिष्कमा असर परिसकेपछि कसैकसैमा शारीरिक दुर्बलता अर्थात पक्षघात पनि हुन सक्छ। तथापि उपचारपछि बिरामी राम्रो भई पूर्वअवस्थामा फर्केका उदाहरण पनि प्रशस्त छन्।

मस्तिष्क रक्तस्रावको प्रमुख कारण उच्च रक्तचाप नै हो। त्यसबाहेक एभिएम, ट्युमर रक्तस्राव र रगत पातलो हुने औषधिको सेवनजस्ता कारणले पनि मस्तिष्क रक्तस्राव हुने गर्छ। मुटुरोगमा मस्तिष्कमा रक्तस्राव हुनासाथ सास फेर्न कठिन हुने र पक्षघात हुन सक्ने अवस्था रहन्छ। मस्तिष्क रक्तस्राव भएका १० प्रतिशत बिरामीको मृत्यु हुन सक्छ भने पक्षघात हुने जोखिम ७० प्रतिशतमा हुन सक्छ। मस्तिष्क रक्तस्राव कति भएको छ, त्यहीअनुरूप उपचार कति सम्भव छ वा छैन भन्न सकिन्छ। पाँच एमएल मात्र रक्तस्राव भएको छ भने उपचारपछि त्यसको नतीजा सकारात्मक हुन्छ। यदि सय एमएल रक्तस्राव भएको छ भने उनीहरूको दुर्ई घण्टामैं मृत्यु हुन सक्ने जोखिम उच्च रहन्छ।

मस्तिष्कघात हुने अवस्था दुई किसिमको हुन्छ, मस्तिष्क रक्तस्राव भएर हुने र मस्तिष्कमा रगत आपूर्ति नभएर हुने। यी दुईमध्ये दिमागको नसा सुक्ने समस्या ८५ प्रतिशतमा छ भने १५ प्रतिशतमा मस्तिष्क रक्तस्राव रहेको अनुसन्धानले देखाएको छ। ब्रेन ह्यामरेज वा नसा सुकेमा त्यसले आँखा, कान, घाँटीमा समस्या आउनुका साथै शरीरका कुनै अङ्गमा पक्षघात हुने, छारेरोग हुनेजस्ता प्रत्यक्ष समस्या देखिन सक्छन्। मस्तिष्कमा रगत जाने नली सुक्यो वा बन्द भयो भने यस्तो समस्या हुन्छ। जुन किसिमले यसको समस्या बढ्दैछ आगामी पाँच/सात वर्षमा एक नम्बरमा पर्ने देखिन्छ। किनकि मानिसहरूको बदलिंदो जीवनशैली, खानपिन, तनावले गर्दा मस्तिष्कघातको जोखिम उच्च दरमा बढिरहेको छ। जे कारणले मस्तिष्कघात भएको छ, त्यसमा ध्यान दिएमा सजिलै बचाउन पनि सकिन्छ। तर धेरै मानिसमा समस्या थाहा पाएपछि पनि वास्ता नगर्ने प्रवृत्ति छ। उमेर अनुसार स्वास्थ्य जाँच नगर्ने, औषधिसेवन नगर्ने, व्यायाम नगर्ने, खानामा लापरवाही गर्ने, आराम नगर्ने, निद्रा नपु–याउने, तनाव लिनेजस्ता कारणले पनि पछिल्लो समय मस्तिष्कघातको समस्या बढ्दो छ।

मस्तिष्क रक्तस्रावको मुख्य कारण उच्च रक्तचाप नै हो। उच्च रक्तचापको समस्या धेरै छ। रक्तचापको बिमारी जति पुरानो हुँदै गयो, रक्तचाप जति बढ्दै गयो रक्तनलीहरू त्यति नै पातलो हुँदै खिइँदै जाने हुँदा रक्तनलीमा प्वाल परी फुट्ने र रक्तस्राब हुने जोखिम रहन्छ। कतिपय व्यक्तिले रक्तचाप नियन्त्रण भयो भनेर औषधि छोड्ने गर्छन्। यस्तो अवस्थामा रक्तचाप अचानक उच्च हुन पुगी नसा फुटी मस्तिष्क रक्तस्राव हुन्छ। त्यसैले उच्च रक्तचापलाई नियन्त्रण गर्न नियमित औषधि खानुपर्छ। मस्तिष्कघात भएको साढे चार घण्टामा अस्पताल पु–याउन सके बिरामीलाई बचाउन सकिन्छ। धेरैले मस्तिष्कघात भएमा घरमैं आराम गराएर राख्ने गर्छन्। नसा फुटेको अवस्थामा पनि शल्यक्रियाबाट उपचार गर्न सकिन्छ।

मस्तिष्क रक्तस्रावका लक्षण उपचार

मस्तिष्क रक्तस्राव एक आकस्मिक अवस्था हो। यो समस्या अचानक आउँछ र यसले क्षणभरमैं गम्भीर अवस्था ल्याउन सक्छ। टाउको दुख्नेक्रम नियमितरूपमा बढ्दैछ, निद्रा लाग्दैन, बिहान उठ्नेबित्तिकै बान्ता हुन्छ, आँखा हेर्न गा–हो पर्छ भने मस्तिष्कघातका लक्षण हो। अचानक टाउको दुख्नु, बेहोश हुनु, बान्ता हुनु, शरीरको एक पाखा नचली पक्षघात हुनु आदि यसका लक्षणहरू हुन्। साथै क्षारेरोगको कम्पन हुनु, बोली नखोल्नु, आँखा, मुख टेडो हुनुजस्ता समस्याहरू पनि हुन सक्छन्। यस्ता लक्षणहरू देखिनासाथ तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ।

रक्तस्रावको अवस्था अनुसार बिरामीलाई औषधि खुवाउने वा शल्यक्रिया गर्ने भन्न सकिन्छ। रक्तस्रावको मात्रा ३० मिलीभन्दा कम छ भने औषधिसेवनबाट पनि ठीक हुन्छ। यदि रक्तस्राव धेरै ठूलो छ र यसको मात्रा ३० मिलीभन्दा धेरै छ र बिरामीको अवस्था पनि नाजुक अवस्थामा छ भने औषधि उपचारले मात्रै ठीक नभई शल्यक्रिया नै गर्नुपर्ने हुन्छ। शल्यक्रियाबाट जमेको रगत निकालिन्छ। अभ्यासमा सयमा ८० जना यसरी औषधिबाटै निको भएका छन् भने बाँकी २० जनालाई मात्रै शल्यक्रिया गर्नुपर्ने हुन्छ।

नतीजा सन्तोषजनक छैन

नेपालमा स्नायुरोगको उपचारको अवस्था राम्रो छ। यहाँ जस्तोसुकै शल्यक्रिया पनि गर्न सम्भव छ। शल्यक्रिया मस्तिष्क रक्तस्रावको एक राम्रो उपचार विधि हो। सही समयमा उपचार गरेर यस रोग लागी गम्भीर अवस्थामा पुगेको बिरामीलाई बचाउन सकिन्छ। तर सही समयमा सही शल्यक्रिया नगर्ने हो भने बिरामीको ज्यान उच्च जोखिममा पर्न सक्छ। शल्यक्रिया हामी सबैको लागि एक आवश्यकता तथा बाध्यता हो, रहर होइन। रक्तस्रावको शल्यक्रिया भन्नाले शल्यक्रिया गरेर मस्तिष्कभित्र रहेको रगतको ढिक्कालाई निकालिन्छ। बिरामीको ज्यान बचाउन र शारीरिक क्षतिलाई कम गरी दुर्बल र अपाङ्ग हुनबाट बचाउन शल्यक्रिया गरिन्छ। शल्यक्रियाबाट त्रसित नभई समयमा सही उपचार गरी ज्यान बचाउनका लागि अनिवार्यरूपमा लिनुपर्छ।

नेपालको उपचार अवस्थालाई विकसित देशहरूको तुलनामा नराम्रो भन्न मिल्दैन तर नतीजा भने सन्तोषजनक छैन। मस्तिष्क रक्तस्रावको समस्या हाम्रोजस्तो विकासोन्मुख मुलुकहरूमा मात्र नभएर अमेरिकाजस्ता विकसित देशमा पनि बढ्दै गएको छ। तर त्यहाँ रोगको लक्षण देख्नासाथ चिकित्सकसँग परीक्षण गरी उनीहरूको सल्लाह अनुसार उपचार गराउँछन् भने हाम्रोजस्तो देशका नागरिकमा रोगलाई महत्व नदिने वा त्यस अनुसार नसासम्बन्धी पालना गर्नुपर्ने अनुशासनतर्फ वास्ता नगर्ने प्रवृत्ति निकै छ।

अधिकांश बिरामीको सफल उपचारपछि पनि सामान्य अवस्थामा आउन सकेका छैनन्। अस्पतालबाट डिस्चार्ज हुनेबित्तिकै उनीहरूलाई पुनस्र्थापना केन्द्रमा राखेर हेर्नुपर्ने हुन्छ। देशमा सरकारीस्तरमा यस्ता पुनस्र्थापना केन्द्रहरू छैनन्, निजी क्षेत्रबाट स्थापना भएका केन्द्रहरू आर्थिक हिसाबले महँगो मात्र होइन, कतिपयले व्यापारिक हिसाबले मात्र सञ्चालन गर्न खोज्दा स्तरीय पनि छैनन्। यस्ता बिरामीलाई घरमा लैजाँदा आवश्यक हेरविचार पुग्न सक्दैन। यसले गर्दा बिरामीको छ महीना पनि नपुग्दै मृत्यु हुने गर्छ। (वीर अस्पतालको स्नायुरोग विभाग प्रमुख र नर्भिक इन्टरनेशनल अस्पतालको न्युरो सर्जरी विभाग प्रमुख प्राडा झासँग गरिएको कुराकानीमा आधारित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here