आकाशमा बादलको दशा र दिशा, हावाको दिशा र गति अनुसार परिवर्तन भइरहन्छ। त्यसैगरी, समाजमा एक प्रकरण सेलाउन नपाउँदै अर्को प्रकरण प्रकट हुन्छ। किनभने सामाजिक वातावरण गतिशील हुन्छ। त्यस कारण समयक्रममा सामाजिक/राजनीतिक वृतमा घटना, परिघटना उदय र अस्त हुुने क्रम चलिरहन्छ। कुनै पनि प्रकरणमा सामाजिक विचार फरकफरक आउनु अस्वाभाविक होइन। यद्यपि प्रायःजसो प्रकरणमा सम्प्रेषित विचार स्वार्थयुक्त हुन्छ र सोको गन्ध महसूस गर्न कठिन हुँदैन। दुर्ई स्थानमा एक समान घटना भएको अवस्थामा एउटै व्यक्तिले दुवै घटनामा फरकफरक विचार प्रस्तुत गर्छ, जसमा स्वार्थ वा आफन्त वा मित्रजन्य गन्ध निहित नहुने कुरै हुँदैन।
समाज छ भने प्रकरण उत्पन्न भइरहन्छ। प्रकरण उत्पन्न हुनु भनेकै निराकरणको लागि हो। यद्यपि कुनै प्रकरण आकाश छुन्छ भने सोही स्तरको अर्को प्रकरण धर्तीमुनि दब्छ/दबाइन्छ। यसको प्रमुख कारण हो, व्यक्तिको शक्ति, सामथ्र्य र ओहोदा। यस्ता थुप्रै प्रकरण होलान्, जुन सामान्यजनसँग सम्बन्धित होला, जसको आवाज उठाउने माध्यम कोही बन्न चाहँदैन। यद्यपि ओहोदाधारीको कुखुरा हराउँदा पनि ठूलो प्रकरण हुन जान्छ।
अपवादबाहेक विनाकारण घटना हुँदैन। जस्तै बादलको अवस्था परिवर्तन हुने कारण हो, हावा। कुनै पनि घटनाको कारण पत्ता लगाउनाले न्याय निरूपण गर्ने मार्ग प्रशस्त गर्छ। कारणको खोजी गर्दै जाँदा अनेक तथ्य र प्रमाण फेला पर्छन्। अनि तथ्य र प्रमाणको आधारमा न्याय निरूपण गरिन्छ र यो विश्वव्यापी सिद्धान्त हो। यदि व्यक्तिले न्यायको सिद्धान्तविपरीत क्रियाकलाप गर्छ भने त्यो न्यायको आँखामा धूलो झोक्नु हो।
स्वार्थ वा सम्बन्ध अनुसार मानिसको विचार समान प्रकरणमा कसरी भिन्न हुन्छ ? यसै सेरोफेरोमा एक काल्पनिक कथा प्रस्तुत छ। एकअर्काको विपरीत दिशाबाट आइरहेका मोटरसाइकल एकापसमा ठोक्किए। भयङ्कर दुर्घटना भयो। एक पक्षको ज्यान गयो भने अर्को पक्ष घाइते भयो। दुर्घटनास्थलभन्दा केही मिटरको दूरीमा चियापसलमा मानिसहरू चिया पिउँदै गफगाफ गरिरहेका थिए। उक्त चियापसल घटनास्थलभन्दा केही मिटरको दूरीमा थियो। त्यस कारण दुईवटा मोटरसाइकल ठोक्किएको आवाज चियापसलसम्म नपुग्ने कुरै थिएन। चिया गफमा तल्लीन मानिसहरूको घटनास्थलतर्फ ध्यानाकृष्ट भयो। उनीहरूले आआफ्नो विचार प्रकट गर्न थाले। कसैले ती युवाहरूले मापसे गरेको त कसैले तीव्र वेगमा मोटरसाइकल चलाएको विचारसँगै रिसखिस पोख्न थाले।
एकजना मानिस चिच्याउँदै चियापसलमा आएछन्। उनले चियापसलमा उपस्थित मानिसहरूमध्ये एकजनालाई औंलाले घटनास्थल देखाउँदै भने, “त्यहाँ दुर्घटना भएको छ। एकजनाको मृत्यु र तपाईंको छोरा गम्भीर घाइते भएको छ।” यो खबर सुन्ने बित्तिकै अभिभावक तीव्र वेगमा घटनास्थलतर्फ दौडिए, जो केहीबेरअघि नानाथरीका आरोप लगाइरहेका थिए। घटनामा छोरो भएको कुरा थाहा पाएपछि उनको अवस्था कस्तो भयो होला, स्वयम् कल्पना गर्न सकिन्छ। घटनास्थलमा छोराको अवस्था हेर्ने बित्तिकै उनको विचार छोराको पक्षमा प्रकट हुन थाल्यो। उनले मृत्युवरण भएको युवामाथि दोष थोप्न पछि परेनन्।
लगत्तै मृत्यु भएको युवाको अभिभावकजन घटनास्थलमा आइपुुगे। सन्तानको लाश हेर्ने बित्तिकै अभिभावक मूर्छित भए। उनीसँगै आएका आफन्तजनहरूले युवकको लाश र अभिभावकको अवस्था हेरेर विपक्षीमाथि नानाथरीका दोष लगाउँँदै नाराबाजी गर्न थाले। अब दुवै पक्षबीच आरोप–प्रत्यारोपको शृङ्खला शुरू भयो।
दुवै पक्षका आफन्तजन तथा इष्टमित्रहरूले आआफ्नो पक्षको वकालत गर्न थाले। यो प्रकरण सामाजिक सञ्जालमा भाइरल भयो। एक पक्षले अर्को पक्षलाई दोषी ठहर गरिरहेका थिए। सामाजिक सञ्जालमा वाकयुद्ध चल्न थाल्यो। यतिसम्म कि आआफ्नो पक्षमा कोरम पु–याउने विचार सामाजिक सञ्जालमा सम्प्रेषण हुन थाल्यो। यो प्रकरण तथ्यभन्दा कोसौं टाढा पुगिसकेको थियो।
यसैबीच घटनास्थलमा प्रहरी आइपुग्यो। प्रहरीले लाश र घाइतेलाई अस्पताल पठाइसकेपछि कानूनी प्रक्रिया गर्न थाल्यो। घटनाको मुचुल्का तयार पारिरहँदा दुवै पक्षका मानिसहरूले होहल्लासँगै नाराबाजी गर्न थाले। कुनै पनि घटनाको छानबीन तथा प्रमाण जुटाउने काम प्रहरी तथा न्याय निरूपण गर्ने सर्वाधिकार न्यायालयमा निहित छ। कानूनमाथि दबाब सृजना गर्ने हर्कत दुवै पक्षले ग–यो। दुवै पक्षको विचार वास्तविकताभन्दा पर थियो। यद्यपि उनीहरूले त्यसो गर्नुको मुख्य कारण भनेकै घटनासँग सम्बन्धित पात्र उनीहरूका आफन्त, छिमेकी र इष्टमित्रहरू थिए। निस्स्वार्थी मानिसहरू घटनास्थलमा एकछिन रोकिन्थे र मूल्याङ्कन गरेर केही शब्द नपोख्दै आक्रमणमा पर्थे। त्यस कारण अधिकांश मानिस विवादमा पर्नुभन्दा बाटो लाग्थे। समाजसँग एक प्रश्न छ, विवादित पक्षलाई उक्त प्रकरणको फैसला गर्ने अधिकार प्रदान गरियो भने उनीहरूले कस्तो फैसला गर्लान् ?
गएको वैशाखमा जनता समाजवादी पार्टी, नेपालको विखण्डनको खबर आगोझैं फैलियो। उक्त प्रकरण व्यापक चर्चाको विषय बन्यो। जसपा, नेपालको न यात्रा लामो छ, न इतिहास। यद्यपि विभाजनको फेहरिस्त हेर्ने हो भने जसपाले इतिहास रचेकै छ। पछिल्लो समय जसपा टुक्रिएसँगै स्वास्थ्य मन्त्रालयको जिम्मेवारी एक पक्षबाट अर्को पक्षमा सरेको छ। गुटबन्दी र फुटबन्दीको अवस्था अमुक दलमा मात्र छ भन्ने पनि होइन। गुटबन्दी प्रायःजसो सबै दलमा व्याप्त छ। यसको प्रमुख कारणतर्फ विचार गर्ने हो भने नेतृत्व पङ्क्तिको हैकमवादी सोच, स्वार्थ, लोभ र मोह हो भन्ने कारण ठम्याउन कठिन हुँदैन। जीवनपर्यन्त दलको प्रमुख र सरकारमा रहिरहने कुचेष्टा नै गुट र फुटको प्रमुख कारण हो। दलका शीर्षस्थजनले मरणोपरान्त ओहोदा ओगटेर बस्ने प्रणाली प्रायःजसो दलमा छ। अनि उनीहरूकै मुखबाट गणतन्त्रको जयकार सुन्न हामी बाध्य छौं।
राजनीतिक वृत्तमा भ्रातृत्व, अपनत्व र एकता बाहिरी आवरणमा जसरी बोध हुन्छ, सो अनुसार भित्री आवरणमा पाइँदैन। जनताबीच जाँदा जित्ने होड र दलभित्र उछिन्ने होड दलहरूमा व्यापक छ। भित्रैभित्र द्वेषजन्य ज्वालामुखी कसैले पनि नदेख्ने गरी दन्किरहेको हुन्छ। त्यो ज्वाला कतिखेर विष्फोट हुन्छ, कसैलाई थाहा हुँदैन। त्यही ज्वालामुखी बेलाबेलामा विस्फोटको कारण बन्छ। अनि शुरू हुन्छ, वादविवाद। शीर्षजनले सबैथोक आफू हुँ भन्ने सोच विखण्डनको कारणहरूमध्ये प्रमुख हो। दलको अग्रभागमा विराजमान पात्रहरूले पछाडिका व्यक्तिहरूको हकमा अन्याय गर्ने, अनि दल खण्डित हुने बित्तिकै सञ्चारमाध्यम/सामाजिक सञ्जालमार्फत अनेक प्रकारका तर्क सम्प्रेषण गर्ने अवस्था छ।
अहिलेको अर्को ताजा घटना भनेको सिरोहिया प्रकरण हो। यो घटना राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरमा चर्चाको विषय बनेको छ। यो प्रकरणमा सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालमा आरोप–प्रत्यारोपको शृङ्खला थामिनसक्नु छ।
अचेल कुनै पनि प्रकरणमा कानूनको दृष्टिभन्दा बढी व्यक्तिसँग साइनोको मात्रा अनुसार क्रिया–प्रतिक्रिया प्रकट गर्ने होड बढ्दो छ। न्यायालयबाट परिणाम नआउँदै सामाजिक दबाब सृजना गर्ने चलनलाई गणतन्त्रको मानक बनाइँदैछ। स्वार्थ अनुसार विचार र भावना व्यक्त गर्ने सामाजिक मनोरोग झाङ्गिदो छ।
व्यक्तिको हर्कत सामान्य होस् वा जघन्य, कानूनबमोजिम कारबाई हुनैपर्छ भने निर्दोषलाई बाइज्जत बरी गर्नैपर्छ। यद्यपि प्रकरणसँग सम्बन्धित पात्रसँग स्थापित साइनोको आधारमा दबाब सृजना गर्ने विचार अर्थहीन हुन जान्छ। तथ्यहीन र भ्रमपूर्ण विचार भए तापनि ठूलो स्वरमा गर्जनाद गर्ने मनोविज्ञान छताछुल्ल छ। विरोधीले सामान्य हर्कत गर्दा पहाड खसेझैं लाग्ने मस्तिष्कमा आफ्नो मानिसको जघन्य हर्कत सामान्यझैं लाग्नु मानवीय मनोविज्ञानको खराब आचरण हो। हर्कतकर्तासँग कुनै प्रकारको स्वार्थ नबाझिएको व्यक्तिले मात्र उचित/अनुचित ठम्याउन सक्छ। यद्यपि वर्तमान अवस्थामा निस्स्वार्थ व्यक्ति खोज्नु ढुङ्गाको चिउरा चपाउनुभन्दा कठिन छ। समान दुर्ई वा दुर्ईभन्दा बढी प्रकरणमा एउटै व्यक्तिको भिन्न विचार दुःखदायी र हास्यास्पद मात्र होइन, न्यायको सिद्धान्तको विरुद्ध छ। साइनो अनुसार स्यालझैं हुँवा हुँवा गर्ने स्वार्थमा निहित मानवीय मनोविज्ञान भविष्यमा झन् भयावह हुने खतरा प्रबल छ। बाँकी कुरा भगवान्भरोसे छँदैछ।