अन्यथा अर्थ नलागोस्, बुद्ध महाकाव्य लेख्न धेरै कुराले प्रेरित भएको हुँ। केही वर्ष पहिले सर्लाहीको पूर्वी छेउमा, महोत्तरीसित सिमाना जोडिएको गाउँमा, एउटा संस्थाको कार्यक्रम थियो, बज्जिका भाषासम्बन्धी। वास्तवमा त्यहाँ कार्यक्रम राख्नुको उद्देश्य थियो कि सर्लाहीको पूर्वी छेउमा बज्जिका भाषाबारे जनचेतना जगाउनु। यो उद्देश्य पूर्ण सफल भएको छ, यस अर्थमा कि त्यस क्षेत्रका चार पालिकाले यसै शैक्षिकसत्रदेखि बज्जिका भाषामा पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरी लागू गर्दैछ। त्यस कार्यक्रममा मलाई अचानक ‘बज्जिका शिरोमणि’ उपाधि दिइयो। यसबारेमा मलाई अलिकति जानकारी थिएन, अलिकति पनि छनक पाइएको थिएन। यदि पहिले नै जानकारी पाएको भएँ म कार्यक्रममा उपस्थित हुने थिइनँ वा उपस्थित भएर पनि जानकारी पाएको भएँ कार्यक्रमबाट पलायन हुन्थें। मलाई त्यत्ति बेला मात्र होइन, अहिले पनि लाग्छ, त्यो उपाधिलायक म छुइनँ। ‘बज्जिका शिरोमणि’ उपाधिसहित मेरो नामोच्चारको ताम्रपत्र वाचन गरेपछि विस्मित र आक्रोशित दुवै भएको थिएँ। कार्यक्रमको अवस्था यस्तो थियो कि मैले छोडेर हिंडेको भए कार्यक्रम नै भाँडिने थियो, जुन मेरोलागि त जस्तोसुकै होओस् तर बज्जिकाको लागि घातक हुने थियो। वास्तवमा मैले सहेर नै त्यो प्रमाणपत्र लिएर आएको हुँ।
हो, नेपालमा बज्जिका भाषा बोलिन्छ भनेर पहिलो अनुसन्धानमूलक लेख मैले लेखेको हुँ। पहिलो मौलिक रचना र मौलिक कृति नेपालमा मेरै प्रकाशित छन्, बज्जिका भाषामा। साथै मैले बज्जिका व्याकरण लेखेको छु, बज्जिका भाषामा पाठ्यक्रम बनाएर पाठ्यपुस्तक लेखेको छु। बज्जिका शब्दकोशका लागि काम गरेको छु। बज्जिका भाषामा अनुवाद गरेको छु। महाकवि देवकोटाको मुनामदन खण्डकाव्य मैले बज्जिकामा अनुवाद गरेको हुँ। बज्जिका भाषा र साहित्यसम्बन्धी विभिन्न अनुसन्धानमूलक तथा समालोचनात्मक लेख र पुस्तकहरू लेखेको छु। अन्य कोही साहित्यकार तथा भाषासेवीभन्दा यो कार्य केही बढी हुन सक्ला, देखिन सक्ला तर वास्तवमा अझै मैले खास केही गर्न सकेको जस्तो लागेको थिएन। यही पृष्ठभूमिमा जब ‘बज्जिका शिरोमणि’को पगरी गुथाइयो, तब मलाई त्यो पगरी बोझ लाग्न थालेको थियो र केही गर्नैपर्ने तथा त्यसको मान राख्नैपर्ने बोध हुन थालेको थियो।
अन्य मातृभाषाका अग्रज तथा शुभचिन्तक साहित्यकारहरूको पनि सल्लाह हुन्थ्यो– बज्जिका भाषामा कुनै महाकाव्य लेखिएको छैन, नेपालमा। अन्यत्रको अवस्था त सन्तोषजनक होला तर नेपालको बज्जिका भाषामा महाकाव्य हुनु आवश्यक छ। बज्जिका भाषालाई अन्य भाषाका साहित्यकार तथा अभियन्ताहरूले आफ्नो भाषामा दाबी गरेर यसको अस्तित्व स्वीकार गरिरहेका छैनन्। यसैले यस भाषाको साहित्यलाई बलियो बनाउनु उचित हुन्छ। भाषालाई बलियो बनाउने आधारमध्ये व्याकरण, शब्दकोश तथा साहित्य नै हो। अन्य साहित्यको रचना भइरहेको सन्दर्भमा उचित यो पनि हुन्छ कि महाकाव्यहरूको रचना पनि होऊन्। महाकाव्य नै नभएको पनि भाषा हुन्छ र ? कतिपयको सोचाइ यस्तो पनि हुन्छ। यस कारण सकिन्छ भने, सम्भव हुन्छ भने, यस भाषाका साहित्यकारहरूलाई आख्यानमा उपन्यास र काव्यमा महाकाव्य लेख्न प्रेरित गर्नुहोस्।
यसरी सल्लाह दिंदा मलाई लाग्ने गथ्र्यो, म कसलाई भनूँ। मलाई नै महाकाव्य लेख्न भनेका हुन् जस्तो मलाई लाग्दैनथ्यो तर एक दिन यस प्रकारले प्रत्यक्ष नै यो कुरा आयो कि तिमीले एउटा महाकाव्य बज्जिका भाषालाई दिनुपर्छ। मैले गम्भीरतापूर्वक यस कारण लिइनँ कि समयक्रममा कोही न कोही त आइहाल्लान्, जसले महाकाव्य लेख्लान्। एकसेएक उम्दा कविहरू आइरहेका छन् त कसैले महाकाव्य त अवश्य लेख्लान्।
दुर्ई वर्षको कोरानाकालमध्ये दोस्रो वर्षको एक जेठमा म दिउँसो सुतिरहेको थिएँ। घरबाट बाहिर निस्कने कुनै उपाय थिएन। यद्यपि मसित जिल्लाभरि डुल्न पाउने अनुमतिपत्र थियो तर त्यो आवश्यकता महसूस गरिरहेको थिइनँ। घरमा बसेर वेद तथा रामायण र महाभारतसम्बन्धी अन्य ग्रन्थहरू हेर्दै, पत्रपत्रिकाका लागि लेखरचनाहरू लेख्दै तथा गहन कृतिहरूको अध्ययन गर्दै समय काटिरहेको थिएँ। समय व्यर्थ व्यय भइरहेको थिएन। निस्सन्देह उपलब्धिमूलक नै बितिरहेको थियो। यसै क्रममा जेठको अन्तिम हप्तामा दिउँसो तुलसीकृत रामायण पढ्दै निदाएको थिएँ। छातीमा तुलसीकृत रामायण थियो। मैले सपना वा अर्धसपनामा देखें कि मैले केही लेख्नुपर्छ। लेख्ने विषय फु–यो– बुद्ध। लेखिने विधा आयो काव्य। काव्यको आयाम विस्तार भएर पुग्यो महाकाव्य। महाकाव्यको भाषा आयो बज्जिका। र शैली आयो झ्याउरे।
महाकाव्य लेख्ने कुनै योजना नै नभएको अवस्थामा यस प्रकारको सपना आएपछि तुरुन्त बिउँझें र विचारमग्न भएँ। मसित बुद्धका बारेमा कृतिहरू छैनन्। जसको बारेमा खासै जानकारी छैन, उनको बारेमा कसरी लेख्न सकिन्छ र ? दिवास्वप्न त हो। यस्तो सपना कहिले पूरा हुन्छ र ? तर पनि सपनामा देखेको कुराले चिमोट्यो र देखेको कुरालाई कम्प्युटरमा लेखिहालें। कम्प्युटरमा टङ्कन गरेपछि मन अचम्म तरीकाले हलुँगो भयो, लाग्यो कुनै ठूलो बोझ बिसाएको छु। यस्तो अनुभूति सितिमिति हुँदैन। निकै सन्चो र शरीरमा फुर्तीको अनुभव भयो। यो अचम्मको अनुभूतिले मलाई कैयौं दिनसम्म त्यस सपनाको ताजापन दिइरह्यो।
समय बित्दै गयो। म जहाँ जान्थें, त्यहाँ एउटा पुस्तक बुद्धसम्बन्धी पाइहाल्थें। जहाँ पुगे पनि बुद्धसम्बन्धी नयाँ कृति पाउन शुरू भयो। बिस्तारै मसित बुद्धसम्बन्धी किनेको र ल्याएको गरी दर्जनभन्दा बढी महत्वपूर्ण कृतिहरू जम्मा भए। अचम्म, यसभन्दा पहिले मलाई यस्तो कुनै विषय वा शीर्षकसित सम्बन्धित भएर स्वाभाविकरूपमा कृतिको सङ्ग्रह भएको सम्झना छैन। अनि स्वाभाविक पनि हो, जब कुनै नयाँ कृति हात पर्छ, तब पढ्न मन लाग्छ। एउटा विडम्बना यो पनि छ कि अलिकति पढेपछि कतिपय कृतिले मलाई तान्न सक्दैन। कतिपय कृतिले भने मनलाई तानिरहन्छ। बुद्धसम्बन्धी ग्रन्थहरूले मलाई तानिरह्यो। र अलिकति लाग्यो कि अब बुद्धसम्बन्धी अलिकति जानकारीहरू प्राप्त हुन आएका छन्।
खोइ कसरी हो, सपनाले निर्धारण गरेको मार्गको पथिक बनिहालें। मैले नियमित गर्ने गरेका कुनै पनि काम रोकिएन। कुनै पनि काममा बाधा उत्पन्न भएन। सधैं नै नियमित र सबै काममा नियमित रहँदै यो महाकाव्य लेखियो। हो, बरु यस्तो चाहिं भएको हो– छुट्टीमा खूब लेखिएला भन्ने योजना बनाउँदा एक शब्द महीनौंसम्म नलेखिएको हो। अर्थात् यस महाकाव्य लेखनमा अत्यन्त स्वाभाविक समय गएको छ। कुनै दिन एउटा भागसम्म लेखेको छु त कुनै दिन केवल दुई लाइन अर्थात् एक श्लोकमा कैयौं घण्टा बितेको छ। कैयौं हप्तासम्म पनि लेख्न खोज्दा पनि सकिएको छैन। जबकि म आफूलाई नियोजित लेखकको रूपमा यस कारण विश्वास गर्छु कि योजना बनाएपछि र विषय निर्धारित भएपछि लेख्न थाल्छु तर ‘बुद्ध’ महाकाव्यको सन्दर्भका यस प्रकारका सबै कुरा मेरालागि पृथक अनुभूत भए। साँच्चिकै यो कुन समयमा लेखिएको नहोला ?
सुत्ने बेलामा, राति सुतेको बेलामा उठेर केही कोर्दै फेरि सुतेको, यात्रा गर्दा बसमा दुई/चार शब्द कोरेको, आफैं स्कूटी चलाउँदा पनि रोकेर लेखेको बाटैमा, अरूको पछाडि बाइकमा बसेर पनि कुरा गर्दै कुनै श्लोक लेखिएको छ। अनि पूरा सरेह मानवशून्य भएको समयमा एक्लै सानो रूखको छायामा बसेर पनि लेखेको छु, केही श्लोकहरू। वास्तवमा मलाई मेरो ‘बुद्ध’ महाकाव्य प्रकाशन भइसकेपछि लागिरहेको छ– मैले कसरी लेखेको हुँला ?
यस कृतिको प्रकाशनजस्तो सजिलो मलाई अन्य कुनै पनि कृतिको प्रकाशन भएन। करीब दुई दर्जन मेरा कृतिमध्ये यो सबैभन्दा बाक्लो अर्थात् मोटो हो। सबैभन्दा बढी खर्च पनि भएको
हुनुपर्छ तर सबै व्यवस्थापन अत्यन्त समयमा हुँदै आयो। विमोचनमा पनि के होला भन्ने भइरहेको थियो तर निकै राम्रो भयो। सबैभन्दा बढी मिडिया कभरेज भयो। सबैतिर प्रशंसा भइरहेको छ तर मलाई किन हो, यो कृति यस्तो लागिरहेको छ कि मेरा अन्य कृतिमा धेरै दुःख गरेको छु र यो कृति स्वतः हुन गएको हो।