विषको असर र प्रभाव टोकेको जहरको मात्राको समानान्तर हुन्छ। गोमन र करैतले टोकेको ठाउँमा बिसबिसाहट र दुखाइ हुन्छ। विषको असर १५ मिनेटदेखि दुई घण्टामा चक्कर लाग्ने र कमजोरीबाट शुरू हुन्छ तथा मांसपेशीको कमजोरी, वाकवाकी र बान्ता पनि हुन सक्छ। नशा लागेको जस्तो महसूस हुन्छ। मांसपेशीको कमजोरी बिस्तारै पक्षघातमा परिवर्तित हुँदै जान्छ र खुट्टाको पक्षघातले मानिस हिंड्दाहिंड्दै लड्छ। फेरि उठेर हिंड्न चाहन्छ तर फेरि लड्छ। पक्षघातमाथि बढ्छ र शिरमा पुग्छ तथा घाँटी तल झुल्छ। माथिको परेला तल झर्छ, जसलाई आँखाको ड्रपिङ भनिन्छ। त्यसपछि पक्षघात ओठ, मुख र घाँटीमा पुग्छ। घाँटीको पक्षघातले रोगी बोल्न चाहन्छ तर बोल्न सक्दैन। गाढा –याल मुखमा जम्मा हुन्छ र बाहिर आउँछ, जसलाई रोगीले आफ्नो औंलाले हटाइरहेको देखिन्छ किनभने त्यस जहरमा मानिस अन्तिमसम्म चेतनामा हुन्छ। अझ बढी चेतनामा रहन सकोस् भने यस जहरमा मानिसलाई सुत्न दिनुहुँदैन। त्यसपछि फोक्सोको असरले सासको गति सुस्त हुँदै जान्छ र अन्तमा बन्द हुन्छ। मुटु भने त्यसपछि पनि चलिरहेको हुन्छ। यसै कारणले मानिसलाई भ्रान्ति हुन्छ कि रोगी मरेको छैन भनेर अन्धविश्वासले रोगीलाई बोकेर जहाँतहाँ घुमाइन्छ। मृत्युपछि मुखमा प्रशस्त फिज साँपले टोकेको जबरजस्त निसानी हो। करैतले टोकेकोमा मृत्यु पेटको तीव्र दुखाइ र छटपटीले पनि हुन्छ। भाइप्राइडले टोकेको खण्डमा मानिसमा केही मिनेटमा नै लक्षण देखिन थाल्छ र रोगीलाई बेहोशी र पूर्ण चेतना शून्यतामा पु–याइदिन्छ। रिकभर भएपनि टोकेको ठाउँ सड्न थाल्छ र स्वयम् मृत्युको कारण बन्न सक्छ। त्यसमा मृत्यु सेप्टिसेमियाले पनि हुन्छ। गोमनले ०.२ ग्राम, भाइपरले ०.१५ ग्राम र करैतले ०.००२ ग्राम विषलाई एक टोकाइमा इन्जेक्ट गर्छ। जबकि १२ र १५ मिलीग्रामले मात्र मृत्यु गराउन सक्छ। मृत्यु भने गोमनले टोकेमा १५ मिनेटदेखि १२ घण्टा र भाइपरले टोकेमा एकदेखि चार घण्टामा हुन्छ। कहिलेकाहीं त केही मिनेटमा पनि मृत्यु हुन्छ। कहिलेकाहीं त साँपको डरले मात्र मृत्यु घटित हुन्छ र तब साँप विषरहित पनि हुन सक्छ। मुख र शिरमा टोकेको खण्डमा विषको असर चाँडै हुन्छ तथा हात र खुट्टामा टोकेको खण्डमा अलिक बेर लाग्छ।

यदि हातखुट्टामा टोकेको छ भने रोगीलाई सुताएर टोकेको ठाउँमाथि रबरले वा कपडाले बाँधेर रोगीलाई तुरुन्त अस्पतालमा पु–याइदिनुपर्छ। यदि बाँधिएको छैन भने यो काम अस्पतालमा चिकित्सकले गर्छ। त्यसले विषलाई शरीरमा छिटो फैलिन दिंदैन। तर त्यो बन्धन आधा घण्टाभन्दा बढी राखिराख्नुहुँदैन। पटकपटक खोल्दै र बाँध्दै जानुपर्छ। यसले रक्तसञ्चार बाधित हुन पाउँदैन र त्यो अङ्ग लाटो हुँदैन। टोकेको घाउलाई सामान्य पानीले राम्ररी सफा गर्नुपर्छ। त्यसपछि त्यहाँ ठूलो रक्तनली वा हाड नकाटिने गरी एउटा ०.५ सेमीको चिरा लगाउनुपर्छ। त्यसपछि मुखले वा ब्रेस्ट पम्पले त्यस घाउमा रहेको रगत चुस्नुपर्छ तर मुखमा घाउ हुनुहुँदैन नत्र चुस्ने व्यक्तिलाई पनि विष लाग्छ। यो काम तबमात्र गरिन्छ, जब टोकेको एक घण्टा भएको छैन। कसैकसैले भन्छन् कि यसले केही सहयोग गर्दैन। मैले नारायणी अस्पतालमा यस्तो गरेको देखेको छैन। भनिन्छ कि साँप स्वयंलाई चुस्न लगाइयो भने मानिस निको हुन्छ र स्वयंको विष लागेर साँप मर्छ। तर यो केवल एक काल्पनिक कथा हो। विष त साँपको लागि पचाउने रस हो, जसले साँप मर्ने कुरा नै आउँदैन। आजभोलि चुस्ने काम पनि गरिंदैन किनभने आजभोलि मारक एन्टिभेनम उपलब्ध छ। चुस्ने काम जब एन्टिभेनम उपलब्ध थिएन, तबको कुरा हो। भाइपरले टोकेको घाउलाई पोटाशियम परमैग्नेटको घोलले धोइन्छ र कहिलेकाहीं हिपेरिनको इन्जेक्सन पनि दिनुपर्छ ताकि रगतको थक्का जम्न नसकोस्। अलिकति हिपेरिनलाई घाउमा पनि छरिदिनुपर्छ। गोमन र करैतले टोकेको घाउलाई पानी र कार्बोलिक साबुनले धोइन्छ। हाप्किन इन्स्टिच्युटले पोलिभेलेन्ट एन्टिस्नेक भेनम र कसौलीमा एन्टिभेनिन बन्छ। पहिलोमा गोमन, करैत र भाइपर तीनवटैका एन्टिभेनम सुखाएर पाउडरको रूपमा एउटा भायलमा राखिएको हुन्छ। एन्टिभेनिनमा गोमन र रसेल भाइपरको मात्र एन्टिभेनम हुन्छ। पोलिभेलेन्ट एन्टिभेनमको २० एमएल नसामा बिस्तारैबिस्तारै दिइन्छ र हेरिन्छ कि रोगीको लक्षणमा सुधार भयो वा भएन। भएन भने दुई घण्टापछि यसलाई फेरि त्यति नै मात्रामा दोहोराइन्छ। कडा मामिलामा यसलाई प्रत्येक घण्टामा दिंदै गरिन्छ, जबसम्म सबै लक्षण समाप्त हुँदैनन्। हामीले एउटा मामिलालाई अस्पतालको शल्यक्रिया कक्षमा लगेर ठीक गरेका छौं किनभने रोगीको सास बन्द हुन लागेको थियो र ट्रेकियोस्टोमी गरेर आक्सिजन दिनुपरेको थियो। यदि स्वास्थ्य कार्यकर्ता प्रशिक्षित छैन भने ४० देखि ६० एमएल एन्टिभेनम छालामुनि दिए पनि हुन्छ तर त्यो नसामा दिए जस्तो प्रभावकारी हुँदैन। केही एमएल एन्टिभेनम घाउमा पनि दिनुपर्छ ताकि गैंग्रिन हुन नपाओस्। यदि पोलिभेलेन्ट उपलब्ध छैन भने त्यसरी नै एन्टिभेनिन प्रयोग गरिन्छ तर यसको मात्रा ४० एमएल हुन्छ। याद राख्नुस्, पहिले एन्टिभेनमको ०.५ एमएल छालामुनि दिएर सेन्सिटिभिटी टेस्ट गर्नु अनिवार्य हुन्छ। यसको अतिरिक्त एटिएस र एन्टिबायोटिक पनि दिनुपर्छ ताकि टेटनस र अन्य ब्याक्टेरियाको सङ्क्रमण नहोस्। दुखाइ कम गर्न एस्पिरिन सावधानीपूर्वक प्रयोग गरिन्छ। यसको अलावा स्टिरवायड र पक्षघात रोक्नको लागि एड्रिनलिन छालामुनि र कोलिन मासुमा दिने गरिन्छ। एलर्जी रोक्नको लागि एन्टिहिस्टामिनिक पनि दिनुपर्छ। रोगीको लक्षण कम भएपछि तातो चिया वा कफी दिइन्छ। अल्कोहल कदापि दिनुहुँदैन किनभने त्यसले विषको अवशोषणलाई बढाइदिन्छ।

शल्यपरीक्षणमा टोकेको निसान पाइन्छ। रगत धेरै पातलो हुन्छ तर भाइपरको विषमा भित्रै नसामा जमेको हुन्छ तथा छालामुनि पनि देखिन्छ। ब्रेनमा रगत बाहिर निस्केको हुन्छ र सबै भित्री अङ्ग सङ्कुचित भएका हुन्छन्। कहिलेकाहीं व्यापारिक जनावरलाई पनि सर्पविषले मारिन्छ। यस्तो जनावरको मासु खाइयो भने केही हुँदैन तर उसको रगत अलिकति पनि इन्जेक्ट गरियो भने मानिस मर्छ। अब आउनुस् इन्सेक्ट प्वायजनिङमा।

पाठकवृन्द, सर्पदंशको लगत्तै केही विषालु कीटको विवेचना किन ठीक ठान्छु भने कहिलेकाहीं तिनको टोकाइले मानिस मृत्युको नजीक र टोकाइ यदि व्यापक छ भने मृत्युसमेत हुन्छ। हामीले सुनेको हुनुपर्छ कि जङ्गलमा माहुरीको झुन्डले टोकेर मानिसको मृत्यु भयो। एउटाले टोके मात्र त सामान्य प्रभावबाहेक अरू केही हुँदैन र स्थानीय उपचारले ठीक हुन्छ। तर झुन्डका झुन्ड माहुरीले टोके भने अस्पताल पु–याइ उपचार गर्नैपर्छ, अन्यथा लेनाको देना पर्छ। यस्तो कीटमा बारुलो, माहुरी, अरिङ्गाल, बिच्छु र कनसुत्लो मुख्य हुन्। बारुलो पहेंलो हुन्छ र फुसको घरको छानामुनि, अम्बाको रूख वा अन्य रूखमा छाता बनाएर बस्छ। अम्बा टिप्न जानेलाई यसले टोक्छ। जिस्काइयो भने सबैले एकसाथ आक्रमण गर्छन्। यसको पुच्छरमा डङ्क हुन्छ, जसमा फर्मिक एसिड र अन्य विष हुन्छन्। बारुलोले टोकेपछि आफ्नो सुई जस्तो डङ्गलाई छालामुनि छोडिदिन्छ, जसलाई उपचारको क्रममा निकाल्नै पर्छ। अरिङ्गाल, बारुलोभन्दा ठूलो र कालो हुन्छ, जसलाई भोजपुरीमा हड्डा भनिन्छ, जो अक्सर मिठाइपसलमा उडिरहेका हुन्छन्। जिस्काइयो भने बारुलो जस्तै डङ्क छोड्छ र यसको विष बारुलोभन्दा बढी हुन्छ। अधिक विष हेमोलाइटिक र न्युरोटाक्सिक हुन्छ। माहुरी विषयुक्त र विषरहित दुवै प्रकारका हुन्छन् अथवा आक्रामक र कम आक्रामक दुवै हुन्छन्। देहातमा विषयुक्त माहुरीलाई तरेया र विषहीनलाई गइठई भनिन्छ। गइठईबाट केटाकेटी पनि डराउँदैनन तर तरेयासँग सबै डराउँछन्। मह र मोम पनि गइठईको मन पराइँदैन तर तरेयाको अब्बल हुन्छ। गाउँघरमा माहुरीले छप्पर र सिलिङमा आफ्नो घर बनाउँछ। जङ्गली माहुरी जङ्गली जनावर जस्तै बढी आक्रामक हुन्छ। मह उद्योगमा पालिएको माहुरी थरीथरीका हुन्छन्। जिस्काइएन भने माहुरीले केही गर्दैन तर जिस्काइयो भने झुन्डका झुन्ड तपाईंमाथि आइलाग्छन्। अक्सर माहुरी झुन्ड बनाएर एक ठाउँबाट अर्को ठाउँमा सर्छन्। कहिलेकाहीं मानिस त्यस झुन्डमा फस्छ। यदि शिर निहुराएर बसियो भने तपाईंको शरीरभरि बस्छन् तर केही गर्दैनन्। अचल स्थिर बसिएन भने आपत् पर्छ। माहुरीको विषमा हिस्टामिन, मेलिटिन, हाइल्युराइनाइडेज, फस्फोलाइपेज आदि विष हुन्छन्। सिङ्गल स्टिङमा दुखाइ, जलन र त्यो भाग मात्र सुन्निएर आउँछ। तर धेरै स्टिङले एनाफाइलेक्टिक साक (झट्का) जस्तो प्रतिक्रिया दिन्छ, जुन चक्कर, छाती कस्सिएको महसूस हुने, अर्टिकेरिया अर्थात् छालामा रातो चक्टा देखिन्छ, जुन एलर्जीको कारणले हुन्छ। धड्कन, बेहोशी, अनुहार रङ्गिएको, छाला चीसो हुने, थाहै नपाई दिसापिसाब हुने र कहिलेकाहीं पिसाबमा रगत देखिने र न्युराइटिस हुन्छ। झट्काले मृत्युसमेत हुन सक्छ। उपचारमा स्टिङलाई निकाल्न आवश्यक हुन्छ। एलर्जी रोक्नको लागि ०.५ एमएल एड्रिनेलिन छालामुनि दिइन्छ। बिच्छुले टोकेमा न्युरोटाक्सिन, हेमोलाइसिन, एग्लुटिनिन, हेमोह्ेजिन, फस्फोलाइपेज ए, ल्युकोसाइटोलाइसिन, कोगुलिन, फर्मेन्ट, लेसिथिन,  कोलेस्टिनिन आदि थुप्रै विष हुन्छन्। लक्षणको रूपमा टोकेको ठाउँमा एउटा रातो घाउ हुन्छ, जहाँबाट जलनयुक्त घनघोर दुखाइ भएर चारैतिर फैलिन्छ र मूर्छा, मांसपेशीमा कमजोरी, पातलो दिसा, कन्भल्सन, मानसिक गडबडी र कहिलेकाहीं मुटुसमेत बन्द भएको देखिएको छ। टोकेको ठाउँमा सडन, फोक्सो सुन्निने र कहिलेकाहीं पक्षघात पनि देखिन्छ। मृत्यु हुनेहरूमा धेरै पसिना आउने र फोक्सो सुन्निएको देखिन्छ। सर्पले टोकेको जस्तै बिच्छुले टोकेमा पनि टोकाइ भएको माथिल्लो भागलाई कपडाले बाँधिन्छ। चिरा लगाइ पोटाशियम परमैग्नेटको घोलले घाउलाई राम्ररी सफा गरिन्छ र त्यसमा कोकेन दलिन्छ। प्रोकेन इपिनेफ्रिनले  पनि यो काम गरिन्छ। साक छ भने स्लाइनमा हाइड्रोकोर्टिसोन दिनुपर्छ।  यदि स्कोर्पियन भेनम उपलब्ध छ भने अवश्य दिनुपर्छ। १० प्रतिशत डिडिटी छर्कनाले बिच्छु मर्छ। कनसुत्लो दुईदेखि १० सेमीको हुन्छ। यसले डङ्कले होइन मुखले टोक्ने गर्छ, जहाँ धेरै दुखाइको साथ छाला रातो भएर जान्छ। कुनै घाउमा जसरी यहाँ पनि लिम्फनोड बढ्छ। उपचार लक्षणको अनुसार  हुन्छ। अस्तु।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here