प्यालेस्टिनी प्राधिकरणले वित्तीय पतनको सम्भावनाको सामना गरिरहेको विश्व बैंकले जनाएको छ। गाजा युद्धको पृष्ठभूमिमा राजस्व स्रोतहरूको अभाव हुनुका साथै आर्थिक गतिविधिहरू खस्किरहेकाले यस्तो भएको बैंकले जनाएको छ।
प्यालेस्टिनी प्राधिकरणको वित्तीय अवस्था विगत तीन महीनामा नाटकीयरूपमा बिग्रिएकाले वित्तीय पतनको जोखिमलाई बढाएको बैंकले शुक्रवार जारी गरेको विज्ञप्तिमार्फत जानकारी गराएको हो।
बैंकका अनुसार प्यालेस्टिनी प्राधिकरणलाई तिर्नुपर्ने निकासी राजस्व हस्तान्तरणमा कमी र आर्थिक गतिविधिमा ठूलो गिरावटका कारण राजस्व स्रोतहरूमा अत्यधिक कमी आएको हो।
सन् २०२३ को अन्त्यमा ६८ करोड २० लाख अमेरिकी डलर रहेको कोष अन्तर आगामी महीनाहरूमा दोब्बर भई प्यालेस्टिनी प्राधिकरणको घाटा १.२ अर्ब डलर पुग्ने अनुमान गरिएको छ।
प्यालेस्टिनी अर्थतन्त्र ६.५ देखि ९.६ प्रतिशतको बीचमा सङ्कुचित हुने अनुमान गरिएकोमा बैंकका दृष्टिकोणसमेत युद्ध लम्बिंदै जाँदा अनिश्चित बनेका छन्।
बढ्दो विदेशी सहायता र सार्वजनिक कर्मचारी र आपूर्तिकर्ताको थप बक्यौता जम्मा गर्नु प्यालेस्टिनी प्राधिकरणका लागि उपलब्ध वित्तीय विकल्पहरू मात्र भएको बैंकले जनाएको छ।
दक्षिण इजरायलमा अक्टोबर ७ मा भएको प्यालेस्टिनी इस्लामिक समूह हमासको आक्रमणपछि गाजामा युद्ध शुरू भएको थियो। इजरायली अधिकारीहरूले उपलब्ध गराएको तथ्याङ्क अनुसार गाजामा हमासको आक्रमणमा परी एक हजार १७० भन्दा बढी मानिसहरूको मृत्यु भएको थियो।
आक्रमणपछि हमासले २५२ जनालाई बन्धक बनाएको थियो, जसमध्ये १२४ जना गाजामा रहेका र तीमध्ये पनि ३७ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ।
यसैगरी, हमासको नियन्त्रणमा रहेको गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको जवाफी आक्रमणले गाजामा कम्तीमा ३५ हजार ८०० मानिस मारिएकामा अधिकांश महिला र बालबालिका छन्।
हमास र इजरायलबीचको लडाइँका कारण पछिल्लो समय इजरायलले सन् १९६७ देखि कब्जा गरेको वेस्ट बैंकमा पनि हिंसा बढेको छ। वेस्ट बैंकमा प्यालेस्टिनी प्राधिकरणको सीमितरूपमा प्रशासनिक उपस्थिति रहेको छ।
प्यालेस्टिनी अधिकारीहरूका अनुसार अक्टोबर ७ देखि कम्तीमा ५१८ जना प्यालेस्टिनी इजरायली सेना वा वेस्ट बैंक क्षेत्रमा बसोबास गर्ने इजरायलीद्वारा मारिएका छन्।
उक्त अवधिमा प्यालेस्टिनी समूहले गरेका आक्रमणमा वेस्ट बैंकमा कम्तीमा १२ जना इजरायलीको ज्यान गएको छ।
बैंकका अनुसार सन् २०२३ अक्टोबरदेखि युद्धका कारण प्यालेस्टिनी अर्थतन्त्रमा आएको मन्दीपछि करीब पाँच लाख व्यक्तिले रोजगार गुमाएका छन्।
यो अवधिमा गाजा क्षेत्र र वेस्ट बैंकमा बसोबास गर्ने क्रमशः दुई लाख र डेढ लाख मानिसले रोजगार गुमाएको अनुमान गरिएको छ। यसका कारण गरीबी बढेकाले हाल लगभग हरेक गाजावासी गरीबीमा बाँचिरहेको बैंकले उल्लेख गरेको छ। रासस