काठमाडौं, १० जेठ/रासस

चौथो बङ्गबन्धु कप पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन बिहीवार १२ खेलाडीसहित १६ सदस्यीय नेपाली टोली बङ्गलादेशको ढाका प्रस्थान गरेको छ ।

यही मे २६ देखि जून ३ तारिख (जेठ १३ गतेदेखि २१)सम्म हुने प्रतियोगितामा विभिन्न १२ राष्ट्रको सहभागिता रहने अखिल नेपाल कबड्डी सङ्घका महासचिव अरविन्दकुमार झाले जानकारी दिए । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी ‘लिग कम नकआउट’ आधारमा खेल खेलाइनेछ ।

समूह ‘ए’मा नेपालसहित बङ्गलादेश, श्रीलङ्का, इराक, मलेशिया र इन्डोनेशिया रहेका छन् भने ‘बी’मा थाइल्यान्ड, जापान, पाकिस्तान, दक्षिण कोरिया, केन्या र पोल्यान्ड छन् ।

सहभागी खेलाडीमा घनश्याम रोका मगर (कप्तान), गणेश कार्की, मनोज भट्ट कपाडी, जीतेन्द्र अवस्थी, सागर यादव, इसरात मियाँ, कमलेश लोनिया, प्रकाश गिरी, खगेन्द्र जोशी, सुशील चुनारा, रोहन श्रेष्ठ र विशाल थापा छन् ।

टोलीका कप्तान घनश्याम भारतको प्रो–कबड्डी लिग खेलिसकेका खेलाडी हुन् । उनी १०औं संस्करणमा हरियाणा स्लिर्समा १३ लाख भारतीय रुपैयाँमा अनुबन्ध भएका थिए । घनश्यामले १०औं संस्करणमा चार टीमविरुद्ध खेल्ने अवसर पाएका थिए । उनले तेलगु टाइटन्स, गुजरात जाइन्ट्स, यु मुम्बा र बङ्गलुरु बुल्सविरुद्ध खेलेका थिए । घनश्याम प्रो–कबड्डी लिगमा आबद्ध हुने नेपाली खेलाडीमध्ये सर्वाधिक पारिश्रमिक लिने खेलाडी हुन् ।

यसअघि सञ्जय श्रेष्ठ र जयबहादुर बोहराले समान रु आठ/आठ लाख तथा लालमोहर यादव र नागेश्वर चौधरीले समान १०/१० लाख भारतीय रुपैयाँ पारिश्रमिक लिएका महासचिव झाले जानकारी दिए ।

विष्णुदत्त भट्ट प्रशिक्षक, महेश चन्द व्यवस्थापक तथा तर्कराज भट्ट र रमेशचन्द्र ओझा अफिसियलको भूमिकामा टीमसँगै बङ्गलादेश गएका छन् । नेपाली टोलीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले आज आयोजित कार्यक्रममा सफलताको शुभकामना दिंदै बिदाइ गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here