बोइलर कुखुराको मासुको मूल्यवृद्धि भएपछि मासुको खपतमा कमी आएको छ।
पर्सागढी नगरपालिकालगायत ग्रामीण भेगमा बोइलर कुखुराको मासु प्रतिकिलो ४६० देखि ४८० मा बिक्री हुन थालेपछि मासु खानेको सङ्ख्यामा कमी आएको छ।
अत्यधिक गर्मीका कारण बोइलर कुखुराको उत्पादनमा कमी आएको छ भने पर्साको खुला सीमानाका भएर भारतीय बोइलर कुखुराको तस्करीमा कडाइ भएपछि अहिले बोइलर कुखुराको मासुको मूल्य बढ्दै गएको छ।
केही दिन पहिले बोइलर कुखुराको मासुपसलमा मासु किन्नेहरूको भीड देखिन्थ्यो। अहिले मूल्यवृद्धि भएपछि मासु किन्ने ग्राहकहरू निकै कम आउने गरेको एकजना पसलेले बताए।
पर्सागढी नपा–३ स्थित सहनी फ्रेस हाउस सप्लायर्सका सञ्चालक भीम सहनीले बोइलर कुखुराको उत्पादनमा कमी आएपछि मूल्यवृद्धि भएको बताए। उनले मूल्यवृद्धिसँगै मासु खपतमा कमी आएको बताए।उनले अहिले ज्यूँदो बोइलर कुखुराको थोक मूल्य ३६० देखि ३८० रुपियाँ रहेको कारण मासुको मूल्यमा वृद्धि भएको बताए। पहिले ७० देखि ८० किलो मासु बिक्री हुने गरेकामा अहिले मुश्किलले २५ देखि ३० किलो मासु बिक्री भइरहेको उनको भनाइ छ।