इरानको उत्तरपश्चिमी क्षेत्रमा आइतवार दुर्घटना भएको हेलिकप्टरमा सवार इरानी राष्ट्रपति इब्राहिम रायसी, विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियन र अन्य सबैको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
प्रेस टिभीद्वारा सम्प्रेषित समाचारमा भनिएको छ, “हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रायसी, विदेशमन्त्री हुसेन अमिर–अब्दुल्लाहियन, पूर्वी अजरबैजानका गभर्नर मालेक राहमती, इस्लामिक धर्मगुरु मोहम्मद अली अले–हाशेम र अन्य सबै यात्रीको मृत्यु भएको छ।”
इरान–अजरबैजान सीमा क्षेत्रबाट फर्कने क्रममा इरानको उत्तरपश्चिममा रहेको तब्रिज शहरतर्फ जाँदै गर्दा राष्ट्रपति रायसी सवार हेलिकप्टर खराब मौसम (बाक्लो हुस्सु)का कारण दुर्घटनामा परेको थियो। हेलिकप्टरको भग्नावशेष खोयलर गाउँबाट केलेम जाने बाटोमा सोमवार बिहान क्षतविक्षत अवस्थामा फेला परेको हो।
इरानी समाचार संस्था आइआरएनएका अनुसार राष्ट्रपति र विदेशमन्त्रीको निधनपछि तत्काल मन्त्रिपरिषद् बैठक बोलाइएको छ। केही शवहरू पहिचान खुल्न नसक्ने गरी जलेको इरानी अधिकारीहरूले बताएका छन्।
रेड क्रिसेन्टले लिएको भग्नावशेषको ड्रोन फुटेज राष्ट्रिय सञ्चारमाध्यममा प्रसारित गरिएको थियो। सिएनएनका अनुसार फुटेजमा ठाडो जङ्गली पहाडमा दुर्घटनामा परेको हेलिकप्टरको नीलो र सेतो पुच्छरभन्दा बाहेक सबै भाग जलेको वा क्षतिग्रस्त भएको देखिन्छ।
दुर्घटनास्थलको सम्भावित दिशा घोषणा भएपछि उद्धार टोली तुरुन्तै तोकिएको स्थानमा गएको भएपनि हेलिकप्टर फेला नपरेको तस्निम न्यूजले वर्जेकानबाट जानकारी गराएको हो।
उत्तरपश्चिम इरानमा आइतवार दुर्घटना भएको हेलिकप्टरमा राष्ट्रपति रायसीसहित तीन उच्चपदस्थ सरकारी अधिकारी, एकजना इस्लाम धर्मगुरु र चालक दलका सदस्य र सुरक्षा टोली गरी नौजना सवार रहेको तस्निम न्यूजले उल्लेख गरेको छ।
मृत्यु हुने अन्य व्यक्तिमा चालक, सहचालक, चालक दलका प्रमुख, सुरक्षा प्रमुख र एक अङ्गरक्षक रहेको जानकारी दिइएको छ।
इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने
इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतवार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति मोहम्मद मोखबरले कार्यवाहक राष्ट्रपतिका रूपमा पदभार ग्रहण गर्ने सर्वोच्च नेता आयातोल्लाह खामेनीले बताएका छन्।
इरानको संविधानले मोखबरको आन्तरिम नियुक्तिका लागि सर्वोच्च नेता खामेनीलाई अधिकार सुम्पिएको छ। उनी सबै राज्य मामिलामा अन्तिम निर्णायक हुन्।
हालको अवस्थामा स्थायी उत्तराधिकारी छनोट गर्न ५० दिनभित्र राष्ट्रपतीय निर्वाचन गर्नुपर्ने प्रावधान इरानी संविधानमा रहेको छ र सभामुख, न्यायपालिका प्रमुख र उपराष्ट्रपतिले बनेको परिषद्लाई राष्ट्रिय मतदानको आयोजना गर्ने जिम्मा दिइन्छ।
इरानले राष्ट्रपति रायसीलगायतका दुर्घटनामा दिवङ्गत भएका नेताहरूको सम्झनामा पाँच दिनको राष्ट्रिय शोकको घोषणा गरेको छ।
इरानी संविधानले ‘राष्ट्रपतिको मृत्यु, बर्खास्त, राजीनामा, अनुपस्थिति वा दुई महीनाभन्दा बढी बिरामी भएमा’ पहिलो उपराष्ट्रपतिले राष्ट्रपतिको पदभार ग्रहण गर्ने व्यवस्था गरेको छ।
विदेशमन्त्री हुसेन अमिर–अब्दुल्लाहियन र अन्य अधिकारीहरूसँगै आइतवार दुर्घटनामा परेका राष्ट्रपति रायसी आफ्नो चार वर्षीय पहिलो कार्यकालको अन्त्यतिर थिए।
अगस्त २०२१ मा रायसीले कार्यभार सम्हालेपछि ६८ वर्षीय मोखबरलाई उपराष्ट्रपति नियुक्त गरिएको थियो।
सन् २००७ देखि वर्षौंसम्म मोखबरले सन् १९७९ को इस्लामिक क्रान्तिपछि जफत गरिएका सम्पत्तिहरूको व्यवस्थापन गर्ने सरकारी सङ्गठन इमाम खोमेनीको आदेशको कार्यान्वयनको अध्यक्षता गरेका थिए। सन् १९८० को दशकमा स्थापना भएको यो सङ्गठन राज्यको प्रमुख आर्थिक समूह बनेको छ।
सन् १९८० मा इस्लामिक गणतन्त्रको पहिलो मतदानपछि प्रत्येक चार वर्षमा इरानीहरूले राष्ट्रपति चुनावका लागि मतदान गर्दै आइरहेका छन्। संविधानले इरानी राष्ट्रपतिका लागि दुई कार्यकालको सीमा तय गरेको छ।
प्रधानमन्त्रीको प्रावधान नरहेको इरानमा राष्ट्रपतिलाई विभिन्न उपराष्ट्रपतिहरूसँगको सहकार्यमा मन्त्रिपरिषद्को गठन र निर्देशनको जिम्मेवारी दिइन्छ।
इरानी राष्ट्रपति रायसीको मृत्यप्रति विश्वका नेताद्वारा शोक व्यक्त
नयाँदिल्ली/एएनआई) ः
युरोपेली युनियन (इयू), रूस, चीन, भारत, पाकिस्तान, श्रीलङ्का, टर्की, सिरिया, मलेशिया, इन्डोनेशिया, इजिप्ट, युएई, कतार, दक्षिण अफ्रिकालगायत देश र सङ्गठनका प्रमुखले इरानी राष्ट्रपति रायसीको मृत्युप्रति शोक व्यक्त गरेका छन्।
चीनका राष्ट्रपति सी जिनपिङले राष्ट्रपति रायसीको निधनले इरानी जनताका लागि ठूलो क्षति भएको बताएका छन्।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपति रायसीको निधनप्रति दुःख व्यक्त गर्दै इरानले ‘उत्कृष्ट राजनीतिज्ञ’ गुमाएको बताएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति रायसीको निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका
छन्।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रपति रायसीको निधनले आफू स्तब्ध भएको बताएका छन्। रासस