अन्तर्राष्ट्रिय हाफ म्याराथनको उपाधि पुरुषतर्फ राजन रोकाया र महिलातर्फ सुमित्रा चौधरीले जितेका छन्। दुवै विधाका विजेताले जनही रु ५० हजार प्राप्त गरे।
राजनले २१ दशमलव एक किलोमिटर दौड एक घण्टा १६ मिनेट सात सेकेन्डमा पूरा गरे भने खिमबहादुर खत्रीले एक घण्टा १७ मिनेट २४ सेकेन्डमा दूरी पार गर्दै दोस्रो स्थानमा रहे। साथै धर्म महर्जनले एक घण्टा १९ मिनेट ५८ सेकेन्ड खर्चदै तेस्रो भए।
महिलातर्फ सुमित्राले एक घण्टा ३४ मिनेट २६ सेकेन्डमा दौड पूरा गरिन्। उनी पछि पुष्पा भण्डारीले एक घण्टा ४२ मिनेट ५४ सेकेन्डमा दौड पूरा गरेर दोस्रो भइन्। मञ्जु सुनार दुई घण्टा तीन मिनेट आठ सेकेन्डको समयमा तेस्रो भइन् । त्यसैगरी, पुरुष १० किलोमिटर दौडमा ३२ मिनेट ३३.१ सेकेन्डको समयसहित राजेन्द्र तामाङ पहिलो भए। यस्तै, सुरज कार्की ३३ मिनेट ३९.२ सेकेन्डमा दोस्रो र रेम बुढामगर ३४ मिनेट ५३.१ सेकेन्डमा तेस्रो भए।
महिलातर्फ १० किलोमिटर दौडमा फूलमती राना ३८ मिनेट २८.०५ सेकेन्डमा पहिलो, आशा रावत ३९ मिनेट ४.४० सेकेन्डमा दोस्रो तथा सगुन राई ५० मिनेट २० सेकेन्डमा तेस्रो भए।
यस्तै, पुरुष पाँच किलोमिटर दौडमा नागेश्वर अहिर १८ मिनेट ३३.७५ सेकेन्डमा पहिलो, मिङ्मा शेर्पा १८ मिनेट ४२.४० सेकेन्डमा दोस्रो तथा हस्त सुनार १९ मिनेट १५.४० सेकेन्डमा तेस्रो स्थानमा रहे। महिलाको पाँच किलोमिटर दौडमा सीमा चौधरी २२ मिनेट ४८.७० सेकेन्डमा पहिलो भइन्। उनीपछि २३ मिनेट ५०.९ सेकेन्डमा श्रेबी मजर्हन दोस्रो तथा २६ मिनेट ३९.८७ सेकेन्डमा पूर्णिमा श्रेष्ठ तेस्रो भए।
छात्रतर्फ एक किलोमिटर दौडमा सञ्जय नेफाली, सन्तोषविक्रम विष्ट र खगेन्द्र शर्मा क्रमशः शीर्ष तीन स्थानमा रहे । छात्रातर्फ रजिना दुलाल, मनु खड्गी र कृतिका हाउँमिखा पहिलोदेखि तेस्रो स्थानमा रहे।
दौड हीरो लिगको आयोजनामा भएको हो र यसलाई एनआरएस स्पोट्र्स फाउन्डेशनले प्राविधिक सहयोग गरेको थियो। पाटन दरबार स्क्वारमा आयोजित उक्त दौड प्रतियोगितामा एक हजारभन्दा बढी धावकधाविकाको सहभागिता थियो।
त्यसमा विभिन्न १५ देशका धावकधाविक सहभागी थिए। कृष्णमन्दिरबाट शुरू भएको दौड पाटनका विभिन्न स्थान भएर त्यहीं आएर टुङ्गिएको थियो। ललितपुर उपमहानगरपालिकाका प्रमुख चिरीबाबू महर्जनले दौड प्रगियोगिताको शुभारम्भ गरेका थिए।
उक्त प्रतियोगिताको विजेता खेलाडीलाई प्रमुख महर्जनसँगै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले पदक तथा पुरस्कार वितरण गरेका थिए।