आचार्य चाणक्यले भनेका छन्, “शिक्षक कहिले पनि साधारण हुँदैन। प्रलय र उत्पत्ति दुवै उसको काखमा फल्ने फुल्ने गर्छ।” यो कुरा आज पनि त्यत्तिकै सान्दर्भिक छ। शिक्षा यदि सही दिशामा दिइयो भने मानिसलाई देउता बनाइदिन्छ र यदि गलत दिशामा प्राप्त भयो भने राक्षस सरह। नेपालको शिक्षा सन्दर्भमा कुरा गर्दा कैंयन प्रश्नमध्येको एउटा प्रश्न के हो भने के वास्तवमा हामीसँग विश्वस्तरीय शिक्षक र शिक्षण संस्थानहरू छन् त ? के विद्यार्थीहरूको सङ्ख्याको तुलनामा हामीसँग पर्याप्त र योग्य शिक्षकहरू छन् ? यहाँ कुरा सङ्ख्याको होइन, शिक्षाको गुणस्तरीयताको पनि छ। यी सबै कुराहरू भन्दा माथि एउटा शिक्षक कस्तो हुनुपर्छ र त्यसका लागि तय मानकको आधारमा के हामीले शिक्षक तयार गरेका छौं त ?
नेपालको वर्तमान शिक्षा व्यवस्थाको सबैभन्दा ठूलो समस्या के हो भने आजको शिक्षा व्यवस्था विभेदकारी छ। एकातिर पैसा हुनेहरूको लागि पाँचतारे संस्थागत विद्यालय छ, त्यहीं मध्यम वर्गको लागि सार्वजनिक विद्यालय छ। अर्कोतिर संस्थागत विद्यालयको नाममा धन सोहोर्ने संस्थागत विद्यालयहरू पनि छन्, जहाँ प्रचार एउटा कुराको गरिन्छ तर खोज्ने हो भने त्यहाँ अर्कै कुरा फेला पर्छ। बाँकी गाउँदेहातका विद्यालयको स्थिति कसैसँग लुकेको छैन। गाउँदेहातका धेरैजसो संस्थागत विद्यालय अनुमतिबेगर नै नोट छापिरहेका छन्। यस्तै अवस्था र स्तर धेरैजसो शिक्षकहरूको पनि छ। वैदिककालको त कुरै नगरौं, इतिहास हेर्दा भारतस्थित नालन्दा विश्वविद्यालयमा प्रवेश गर्नुपूर्व विद्यार्थीहरूले त्यहाँस्थित द्वारपालसँग साक्षात्कार गर्नुपथ्र्यो, अनिमात्र प्रवेश पाउँथे।
माथिको उदाहरणले के प्रस्ट हुन्छ भने जहाँ द्वारपालद्वारा लिइएको साक्षात्कारपछि मात्र विद्यार्थीहरूले प्रवेश पाउँथे, त्यहाँका शिक्षकहरू कति विद्वान् थिए होलान् भन्ने कुराको कल्पना गर्नु पनि कठिन छ। आज जहाँ पाँचतारे विद्यालय वा सर्वश्रेष्ठ कोचिङ संस्थानमा उत्कृष्ट र सीपयुक्त शिक्षकहरू छन्, त्यहीं गाउँदेहातमा वा सात/आठ हजारमा पढाउने संस्थागत विद्यालयका शिक्षकहरू कस्ता होलान् ? तर आज पनि धेरै यस्ता शिक्षकहरू छन्, जो सुविधा वा असुविधाबाट प्रभावित नभएर मौन साधक जस्तै आप्mनो पूर्ण क्षमताको प्रयोग गर्दै विद्यार्थीहरूलाई पढाइरहेका छन्। खाँचो यस्तै उत्साह र जोश हरेक शिक्षकमा ल्याउनु रहेको छ।
यसबाहेकको एउटा उल्लेखनीय कुरो के छ भने शिक्षक वा शिक्षणको स्तर जस्तोसुकै भए तापनि कुनै पनि तहमा अब कसैले पनि संस्कारमाथि ध्यान दिंदैन। भन्न के खोजिएको हो भने संस्कार अब शिक्षा व्यवस्थामा नै कहीं छैन। संस्कारको शिक्षा दिने विद्यालय नेपालमा धेरै न्यून छन्। आज अभिभावक दिवसमा हुने समारोह होस् वा विद्यार्थीहरूको बिदाइ कार्यक्रम, त्यहाँ हुने नृत्य र गीतले के प्रस्ट गर्छ भने अब संस्कारबाहेक यिनै कुराहरूलाई विद्यालयले प्राथमिकता दिने गर्छ। अब के लाग्छ भने विद्यालयहरूले पनि समाज र राष्ट्रको लागि हैन, मोबाइलमा जथाभावी रील कसरी बनाउने भन्ने शिक्षा दिइरहेका छन्।
हामी भाषण वा छलफलमा जे कुरा गरे तापनि त्यो व्यवहारमा देखा पर्दैन। अर्थात् संस्कारविहीन शिक्षा पाउनु भनेको पुच्छरविनाको जनावर बन्नु जस्तो नै हो। यस कारण वर्तमानको खाँचो यस्तो शिक्षक तयार गर्नु रहेको छ, जो आप्mनो विषयमा दक्ष हुनुका साथै नैतिक शिक्षा र संस्कारबाट पनि ओतप्रोत होस्।
१) आदर्श व्यक्तित्व : शिक्षकको सबैभन्दा ठूलो जिम्मेवारी राष्ट्रनिर्माणको लागि विद्यार्थीहरूमा राम्रो गुण विकसित हुने खालको शिक्षा दिनु रहेको छ किनभने विद्यालयबाट नै देशको भविष्य निस्किन्छन्। यस कारण शिक्षक चरित्रवान् हुनुपर्छ, जसलाई आदर्श मानेर विद्यार्थीहरू पनि त्यस्तै आचरण अपनाउन प्रेरित होऊन्। अभिभावकले विद्यार्थीलाई पढाइ सँगसँगै व्यक्तित्व निर्माणको लागि पनि विद्यालय पठाउँछन्।
२) सर्वगुण सम्पन्न : एउटा शिक्षकमा विषयगत ज्ञान हुनुका साथै सामान्य ज्ञानको स्तर पनि राम्रो हुनुपर्छ किनभने हिजोआजका विद्यार्थीहरूले शिक्षकभन्दा बढी ज्ञान राख्न थालेका छन्। यस परिवेशमा आज शिक्षकहरूले विद्यार्थीहरूबाट पनि चुनौती पाउन थालेका छन्। यस कारण शिक्षकहरूले पनि आफू्सँग भएको ज्ञानलाई अद्यावधिक गरिराख्नुपर्छ। आजका विद्यार्थीहरू पहिलेका तुलनामा बढी जानकारी राख्छन् किनभने उनीहरूको हातमा मोबाइल र गूगल छ।
३) विद्यार्थीलाई आदेश होइन निर्देशन दिनुपर्छ : एउटा असल शिक्षकले विद्यार्थीहरूसँग आदेशात्मक भाषामा कुरा नगरी विनम्रतापूर्वक निर्देशन दिन्छ। आवश्यकता परेको बेला फटकार नलगाइ मायाले सम्झाउँछ। उसको व्यवहार विद्यार्थीहरूसँग साथीजस्तै हुन्छ। शिक्षक र विद्यार्थीबीच अनुशासन आवश्यक छ तर यस परिवर्तित समयमा मित्रताको पनि खाँचो छ। यसबाट विद्यार्थीहरू शिक्षकसँग सहज हुन्छन्।
४) समानताको भाव : एउटा राम्रो शिक्षकले सबै विद्यार्थीसँग समान व्यवहार गर्छ र सबैको आत्मविश्वास बढाउने काम गर्छ। सबै विद्यार्थी एकनासका हुँदैनन्। तर शिक्षकले के सोच्नुपर्छ भने यदि कमजोर विद्यार्थीहरूमाथि ध्यान दिइएन भने उनीहरू जीवनभरि सङ्घर्ष गरिराख्छन्। अभिभावकले सन्तानमाथि ध्यान देओस् वा नदेओस् तर शिक्षकले विद्यार्थीहरूमाथि विशेष ध्यान दिनुपर्छ।
५) रोचकतापूर्ण अध्यापन : शिक्षा दिने काम प्रायः सबै शिक्षकले गर्छन् तर त्यस्ता शिक्षकलाई मात्र विद्यार्थीहरूले आफ्नो स्मरणमा राख्छन्, जसले आफ्नो काम रोचक ढङ्गले गर्छन्। रोचकताले नै विद्यार्थीहरूको ध्यान अध्ययनतिर आकर्षित हुन्छ। यस कारण शिक्षकले प्रत्येकपटक पढाउने क्रममा केही नयाँ गर्दै रहनुपर्छ।
६) अनुभव साटासाट गर्नुपर्छ: शिक्षकको काम मात्र पाठ्यक्रम पूरा गर्नु नभई आफ्नो अनुभवलाई पनि विद्यार्थीहरूमा बाँड्नुपर्छ। एउटा राम्रो शिक्षकले विद्यार्थीहरूलाई जीवनमा असल/खराबको पहिचान, उज्ज्वल भविष्यका आवश्यक कुराहरू, व्यवहार र मानवताको शिक्षासमेत दिन्छ।
७) धेरैजसो विद्यार्थी शिक्षक बन्न किन रुचाउँदैनन् : यदि कुनै कक्षामा विद्यार्थीहरूसँग भविष्यमा के बन्ने भनेर प्रश्न सोधियो भने शायद एउटै विद्यार्थीले भन्ला, “म शिक्षक बन्न चाहन्छु।” धेरै सर्वेक्षणहरूले के देखाएको छ भने १० वटा पेशामध्ये ‘शिक्षण’ आठौं वा नवौं क्रममा आउँछ। यसको कारण एउटा शिक्षकले बुझ्नुपर्ने हुन्छ। हिजोआज सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरूबीच ठूलो अन्तर देखा पर्छ। आज दक्ष र सीपयुक्त शिक्षक पाउन गार्हो भइसकेको छ। शिक्षामा दक्ष, सीपयुक्त र प्रतिबद्ध शिक्षकहरूको खाँचो छ किनभने शिक्षण नै यस्तो पेशा हो, जसमाथि सबै पेशा निर्भर रहेको हुन्छ।
८) उदाहरण र कथा : एउटा राम्रो शिक्षकले आफ्नो कुरालाई उदाहरण र कथाद्वारा प्रस्तुत गर्छ। यसले विद्यार्थीहरूको सिकाइलाई सजिलो बनाउँछ र यस प्रकारको सिकाइ दीर्घकालसम्म रहिरहन्छ।
९) समय र अनुशासन : एउटा राम्रो शिक्षक समय र अनुशासनप्रति प्रतिबद्ध हुन्छ किनभने शिक्षकलाई हेरेर नै विद्यार्थीहरूले अनुशासन र समयको पालना गर्न सिक्छन्। शिक्षकहरू समयमैं विद्यालय पुग्नुपर्छ, समयमैं कक्षामा प्रवेश गर्नुपर्छ र समयमैं कक्षा छोड्नुपर्छ। सँगसँगै विद्यार्थीहरूलाई पनि सरल भाषामा अनुशासनको पाठ सिकाउनुपर्छ।
१०) आत्मसम्मान : यदि शिक्षकमा नै आत्मसम्मान छैन भने उसलाई हेरेर विद्यार्थीहरूले के सिक्छन् ? एउटा राम्रो र प्रभावशाली शिक्षक विद्यार्थीहरू, प्रधानाध्यापक वा अन्य कसैको सामु गलत कुरोको लागि झुक्दैन। कुनै प्रकारको अन्याय सहन गर्दैन। कुनै पनि गलत कुरासँग सम्झौता गर्दैन। जो आफ्नो काम र अधिकारप्रति सचेत रहन्छ, उसले नै आफ्नो आत्मसम्मानको रक्षा गर्न सक्छ।
अन्त्यमा के भन्न चाहन्छु भने “एउटा सामान्य शिक्षकले पढाउँछ, एउटा औसत शिक्षकले सम्झाउँछ, एउटा राम्रो शिक्षकले प्रयोग गरेर देखाउँछ तर एउटा असल शिक्षकले विद्यार्थीहरूलाई प्रेरित गर्छ।” एउटा असल शिक्षकले विद्यार्थीहरूको प्रतिभालाई चिनेर उसलाई पुष्पित र पल्लवित गर्छ। सँगसँगै उसलाई सङ्घर्षको आँधीबेहारीसँग सजिलै सामना गर्न प्रेरित गर्छ। संस्कारको बलियो जगमाथि उभिएको ज्ञानरूपी ऊर्जा वा आप्mनो आचरणले विद्यार्थीहरूलाई प्रेरित गर्ने शिक्षक नै देशको अमूल्य धरोहर हो र देशलाई वर्तमानमा यस्तै शिक्षकको खाँचो छ। यसतर्फ सम्बन्धित सबै पक्षले ध्यान दिनु आवश्यक छ, अनिमात्र शिक्षामा सुधार ल्याउन सकिन्छ।