ताप्लेजुङ, ६ जेठ/रासस

ताप्लेजुङ पर्यटन महोत्सव अन्तर्गत आइतवार भएको डोको क्यारी रन (डोको बोकेर दौडिने) प्रतियोगितामा फक्ताङ्लुङ गाउँपालिकाका–२ का छत्रबहादुर कार्की प्रथम भएका छन्।

सदरमुकामदेखि सुकेटारस्थित सानो पाथीभरा मन्दिर पुगेर फर्किनुपर्ने करीब १४ किलोमिटरको निर्धारित दूरी एक घण्टा १५ मिनेटमा पार गर्दै कार्की प्रथम भएको आयोजक समितिले जनाएको छ।

यस्तै, पाँचथरको फिदिम नगरपालिका–१४ का विशाल राई एक घण्टा १९ मिनेटमा निर्धारित दूरी पार गर्दै द्वितीय भएका छन् भने मिक्वाखोला गाउँपालिकाका–३ का मिङ्मा शेर्पा एक घण्टा २० मिनेटमा दूरी पार गरेर तृतीय भएका छन्।

चौथोदेखि क्रमशः १०औंसम्म फक्ताङ्लुड्ढा सञ्चबहादुर शेर्पा, मिक्वाखोलाका फुर्वालाक्पा शेर्पा, मैवाखोलाका पासाङ बाङ्गल शेर्पा, फुङ्लिङ नगरपालिकाका दीपेन्द्र सुजी, मैवाखोलाका लाक्पानुर्वु शेर्पा र मैवाखोलाकै आसकुमार लिम्बू रहेका छन्।

प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ भने चौथोदेखि १०औंसम्मका लागि जनही रु एक हजारसहित प्रमाणपत्र प्रदान गरिएको आयोजक समितिले जनाएको छ।

महोत्सव अन्तर्गत यसअघि दुना टपरी गाँस्ने, धुप बाट्ने, वक्तित्वकलालगायतका प्रतियोगिता सम्पन्न भएका छन् भने महोत्सवको अन्तिम दिन सोमवार पाथीभरा म्याराथन हुने आयोजक समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here