प्रस, वीरगंज, ४ जेठ/
ज्येष्ठ नागरिक सङ्घ, पर्साको आयोजनामा शुक्रवार स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न भएको छ ।
प्रत्येक महीनाको पहिलो शुक्रवार स्वास्थ्य परामर्श कार्यक्रम नियमितरूपमा हुँदै आएको सङ्घका सचिव विनयराज गौतमले बताए । आजको स्वास्थ्य परामर्शमा डा शिवकुमार झाले ज्येष्ठ नागरिकहरूलाई नियमित स्वास्थ्य परीक्षण गर्न सुझाव दिए । उनले उमेर हदको कारण ज्येष्ठ नागरिकहरूले नियमितरूपमा स्वास्थ्य परीक्षण गराउनुपर्ने र चिकित्सकको परामर्शमा मात्र औषधिसेवन गर्नुपर्ने सुझाव दिए ।
डा झाले केही ज्येष्ठ नागरिकहरूले आफूखुशी औषधिसेवन गरिरहेका सुन्नमा आएको भन्दै त्यस्तो कार्य नगर्न र चिकित्सकको परामर्शमा मात्र औषधिसेवन गर्न सुझाव दिए । उनले ज्येष्ठ नागरिकहरूले पौष्टिक आहार सेवन गर्नुपर्ने र मधुमेह भएका ज्येष्ठ नागरिकहरूले पनि फलफू नियमितरूपमा सेवन गर्नुपर्ने सल्लाह दिए । उनले मधुमेहका बिरामीहरूले फलफूल खानुहुन्न भन्ने मानसिकता त्याग्नुपर्ने भन्दै यो उमेरमा फलफूल नखाँदा कमजोरी हुन सक्ने बताए ।
सङ्घका अध्यक्ष श्यामकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य एवं मधेस प्रदेशका संयोजक जगदीशप्रसाद शर्मा, शाखा उपाध्यक्ष बैधनाथ कोइरी, सहसचिव रामप्रसाद पडित र सदस्यहरू आशा गौतम, बिन्दु शर्मा, जानकी शर्मा, उदयराज शर्मा, रमेश दत्त, सुरेन्द्रलाल श्रेष्ठ, जीतेन्द्रपुरुष ढकाललगायतको सहभागिता थियो ।