इतिहासको पाना पल्टाउने हो भने मधेसी लोकजीवनमा अनेक उपयोगी संसाधनहरू प्रयोग हुने गरेको पाइन्छ । ती संसाधनहरूमध्ये गम्छा, लाठी, टर्च र छाताको इतिहास रोचक छ । सामान्य लाग्ने यी संसाधनहरूको महत्व अवर्णीय मात्र हैन, अद्भुत पनि छ । उहिलेका प्रसङ्ग अहिलेका पुस्तालाई अनौठो लाग्न सक्छ भने पुरनियाहरूको मानसपटलमा स्पर्श गर्न सक्छ । त्यति बेला मानिसहरू घरबाट प्रस्थान गर्दा सुरक्षाकवच साथमा लिएर हिंड्थे । किनभने कतिबेला कुन संसाधनको आवश्यकता आइपर्छ, यसबारे उनीहरू जागरूक थिए ।

गम्छा, लाठी, टर्च र छाताको संक्षिप्त इतिहास जानौं ।

गम्छा : मधेसी लोकजीवनको आधारभूत संसाधनहरूमध्ये एक थियो, गम्छा । शरीरको शोभा बढाउने परिधानको रूपमा प्रयोग हुने गम्छा अनेक कार्यमा उपयोगी थियो । नुहाइसकेपछि गम्छाले शरीर पुछ्ने, कपडा फेर्ने, बिछ्याएर आराम गर्ने, योग गर्ने, शरीरमा परेको धूलो सफा गर्ने, घाममा हिंड्दा शिरमा मुरेठा/पगरी बाँध्ने वा ओढ्ने, खाना खाइसकेपछि भिजेको हात तथा गर्मीयाममा पसिना पुछ्ने संसाधन थियोे, गम्छा । त्यस कारण घरबाट निस्किंदा उक्त परिधान घाँटीमा झुन्ड्याउने वा काँधमा राख्ने चलन थियो ।

अहिले पनि पुरनियाहरूको काँधमा गम्छा हेर्न सकिन्छ । त्यसैगरी, वर्तमान अवस्थाको कुरा गर्ने हो भने गम्छाकोे मर्यादा राजनीतिक क्षेत्रमा अनुभूत गर्न सकिन्छ । अर्को सुखद पक्ष भनेको साउन महीनामा गम्छाको महत्वबारे ज्ञात हुन्छ । किनभने लामो दूरीको यात्रामा कम्मरमा गम्छा बेरेर हिंड्नुभन्दा आरामदायक अरू कुनै परिधान हुन सक्दैन । बोलबमको यात्राको क्रममा शरीर भिंजेको खण्डमा पुछ्ने, नुहाएर कपडा फेर्ने, कम्मरमा बेरेर हिंड्ने र बिछ्याएर आराम गर्ने संसाधनको रूपमा गम्छाको प्रयोग गरेको देख्न सकिन्छ । त्यसैगरी, हिंड्दा, पानीमा भिज्दा र गर्मीयाममा पसिनाले आन्तरिक अङ्गको वरिपरि काछ (छालाजन्य रोग) लाग्छ । उक्त अवस्थामा सुखानुभूति प्रदान गर्ने परिधान भनेकै गम्छा हो ।

लाठी : उहिले मधेसी लोकजीवनामा लाठी अपरिहार्य र अनिवार्य संसाधन मानिन्थ्यो । एक ठाउँबाट अर्को ठाउँको यात्रा अपवादबाहेक पैदल गरिन्थ्यो । घरबाट निस्किंदा लाठी नभई नहुने संसाधन थियो । लाठीको प्रयोग कहाँ र कसरी प्रयोग गर्नेबारे पुरनियाहरू विज्ञ थिए । लाठी बनाउने बाँस भिन्दै हुन्थ्यो । लाठीलाई बलियो र टिकाउ बनाउनको लागि शुद्ध तोरीको तेल लगाएर प्रतिदिन चुलोमाथि झुन्ड्याइन्थ्यो । चुलोबाट निस्किने धूवाँले लाठी बलियो र चम्किलो हुन्थ्यो । लाठी लोकजीवनको सुरक्षाकवच थियो ।

यात्राको क्रममा कुकुर, स्याल, सर्प आदि अनेकौं प्रकारका जीवजन्तुहरूको आक्रमणबाट बचाउने संसाधन थियो, लाठी । सम्भावित बाधाबाट मुक्ति दिलाउने संसाधन लाठीको महत्व वर्णन गरेर साध्य छैन । एक गाउँबाट अर्को गाउँमा जाँदा, बाटोमा वा गाउँमा पस्दा सबैभन्दा बढी कुकुरहरूको डर हुन्थ्यो । साथमा लाठी भएपछि कुकुरहरूको आक्रमणको डर हुन्थेन । हावामा लाठी लहराएपछि कुकुरहरू अन्तध्र्यान हुन्थे । हातमा लाठी भएपछि कोरोनाकालझैं कुकुरहरू आवश्यक दूरी कायम राखी भुक्छन् वा भाग्छन् ।

पैदल यात्राको क्रममा नदी–खोला तर्नुपर्ने परिस्थिति आउँथ्यो । त्यस बेला खोलाको गहिराइ र पानीको अवस्था मापन गर्ने उपयुक्त संसाधन थियो, लाठी । लाठीको मदतले पानीको अवस्था मापन गरेपछि खोला तर्ने वा नतर्नेबारे निर्णय लिन सजिलो हुन्थ्यो ।

कामविशेषले शहर वा गाउँदेखि टाढाको यात्रा पैदल तय गर्नुपथ्र्यो । घर फर्किंदा प्रायःजसो अबेला र रात पथ्र्यो । त्यतिन्जेल बाटोमा लुटपाटको सम्भावना अत्यधिक थियो । त्यस कारण चोर/डाँकाहरूको प्रतिकार गर्ने संसाधन थियो, लाठी । त्यस बेला युवाहरू कुश्तीसँगै अग्रजहरूबाट लाठी चलाउने (स्थानीय भाषामा लाठी भजाउने) सीप सिक्थे । मनोरञ्जनको रूपमा मेलामा लाठी भजाउने सीप प्रस्तुत गरिन्थ्यो । खासगरी करबोलाको मेलामा बजिरहेको तासा (स्थानीय वाद्ययन्त्र)को अगाडि लाठी भजाउने कला प्रस्तुत गरिन्थ्यो ।

टर्चः जीवनोपयोगी आधारभूत संसाधनहरूमध्ये टर्च पनि एक थियो । रातिको समय अँध्यारोमा टर्च नभई नहुने संसाधन थियो । रातिको समय शौच जान टर्च आवश्यक थियो । त्यति बेला विद्युत् सबै ठाउँमा पुगिसकेको थिएन र शौचालय घरदेखि केही दूरीमा हुन्थ्यो । शौच जाँदा सर्प वा कीराफट्याङ्ग्राहरूको सम्भावित जोखिमबाट बच्ने संसाधन टर्च नै थियो । त्यसैगरी, रातिको समयमा कुनै प्रकारको आपदा वा घटनाको बेला तुरुन्त उज्यालो उपलब्ध हुने संसाधन थियो, टर्च । भोजपुरीमा एक लोकोक्ति नै छ, ‘चोर सही अँजोर ।’ चोरीको घटना हुँदा चोरलाई खोज्ने उपक्रम थियो, टर्च । भागिरहेको चोरहरूलाई गाउँलेहरूले लखेटिरहेको अवस्थामा चोरको शरीरमा टर्चको प्रकाश पर्ने बित्तिकै उनीहरूको वेग हेर्नलायक हुन्थ्यो ।

टर्च दुर्ई, तीन र पाँच ब्याट्रीको पाइन्थ्यो । आवश्यकता अनुसार मानिसहरूले खरीद गर्थे । प्रयोग गरे अनुसार ब्याट्रीको खपत हुन्थ्यो । टर्चको ब्याट्री खरीद गर्नु त्यति बेला चानचुने कुरो थिएन । कतिपय मानिसहरूले ब्याट्री नगलेसम्म प्रयोग गर्थे । पाँच ब्याट्रीको टर्च हुने व्यक्तिहरूलाई हेर्ने सामाजिक दृष्टिकोण भिन्दै थियो । किनभने पाँच ब्याट्रीको टर्च खरीद गर्नु आम मानिसको हैसियतभन्दा बाहिर पथ्र्योे ।

छाता : घाम होस् वा वर्षा, छाता नभई नहुने संसाधन हो । छाताको इतिहास झन्डै चार हजार वर्ष पुरानो छ । अझ चाखलाग्दो कुरा त के हो भने कुनै समय छाता महिलाहरूले मात्र प्रयोग गर्ने संसाधन उनीहरूको फेशनको हिस्सा थियो । त्यति बेला इजिप्ट, ग्रीस, चीनमा मानिसहरू घामबाट बच्नको लागि छाताको प्रयोग गर्थे ।

युरोपमा छाता भिœयाउने श्रेय युनानीहरूलाई जान्छ । यद्यपि पानीबाट बच्नको लागि प्रथमतः छाताको प्रयोग रोम निवासीहरूले गरेको इतिहास छ । मध्य युगीनमा युरोपमा छाताको प्रयोग बन्द भइसकेको थियो । तर १६औं शताब्दीको अन्त्यतिर इटालीमा पुनः प्रयोग हुन थालेको इतिहास छ । त्यस बेला छाता राजा र सम्भ्रान्त वर्गको सम्मान र शासनको प्रतीक मानिन्थ्यो ।

१७औं शताब्दीमा छाताको प्रयोग फ्रान्समा सीमित थियो भने १८औं शताब्दीमा युरोपभरि फैलियो । छातालाई आम मानिसमाझ प्रख्यात बनाउने श्रेय जोनास हेनवे नामका व्यापारीलाई जान्छ । उनी सम्पन्न तथा धनाढ्य व्यापारी थिए । सन् १७५० को समयमा वर्षात् होस् वा घाम उनी छाता लिएर बेलायतका सडक र गल्लीहरूमा घुम्थे । यो देखेर मानिसहरूले ठट्टा गर्थे । तर बिस्तारै मानिसहरूले छाताको महत्व बुझ्न थाले ।

अब कुरा गरौं मधेसी लोकजीवनको । घामपानीबाट बच्नको लागि स्थानीय स्रोत साधनले निर्माण गरिएको संसाधनलाई ‘छतरी’ भनिन्थ्यो । बाँसको बाती र जङ्गली पातले बनेको गोलाकार छतरी घामपानीबाट बच्ने उपयुक्त संसाधन थियो । बिस्तारै चेरापुञ्जी ब्रान्डको छाता बजारमा उपलब्ध हुन थाल्यो । चेरापुञ्जी भारतको मेघालय राज्यमा अवस्थित पहाडी एक गाउँ हो । यो विश्वको सर्वाधिक वर्षा हुने क्षेत्र हो । यसै स्थानको नामबाट भारतमा छाताको उत्पादन शुरू भएको मान्यता छ । त्यस बेला चेरापुञ्जी ब्रान्डको छाता भारतसँगै नेपाली बजारमा प्रसिद्ध थियो । यद्यपि छाता खरीद गर्नु सामान्य मानिसको हैसियतभित्र थिएन । अधिकांश मानिस घामपानीबाट बच्नको लागि स्वनिर्मित छतरी प्रयोग गर्थे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here