महेन्द्रनगर (कञ्चनपुर), ४ जेठ/रासस
नेपाली सेनाले भलिबल खेलाडीहरूलाई सहयोग गरेको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित भलिबल प्रशिक्षण केन्द्रमा आश्रित सुदूरपश्चिमका विभिन्न जिल्लाका खेलाडीलाई सेनाले खाद्यान्नलगायत सामग्री सहयोग गरेको हो ।

कञ्चनपुर जिल्ला भलिबल सङ्घले लामो समयदेखि खेलाडी एकत्रित गरेर यहाँस्थित प्रशिक्षण केन्द्रमा भलिबलको अभ्यास तथा उनीहरूलाई पढ्न सहयोग गर्दै आएको छ । खेलाडीको नियमित प्रशिक्षणका दौरान उनीहरूको खानपिनको व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले यहाँस्थित सेनाको श्री नं २५ वाहिनी अड्डा भगतपुर ब्यारेक, रुद्रध्वज गण र श्रीदल गुल्मले चामल, तेल, मसला, बिस्कुटलगायतका सामाग्री सहयोग हो ।

श्री नं २५ वाहिनी अड्डाका वाहिनीपति सहायकरथी मनोज थापाले उक्त सामग्री भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टलाई हस्तान्तरण गरेका थिए । सो अवसरमा वाहिनीपति सहायकरथी थापाले खेलाडीलाई अनुशासित, लगनशील र मेहनतका साथ प्रशिक्षणमा लगाव राख्न तथा भलिबल खेलमार्पmत विश्वभर नेपाललाई चिनाउन सफल हुने विश्वास व्यक्त गरे ।

नेपाली सेनाले यसअघि भलिबल प्रशिक्षण केन्द्रको भवन निर्माणदेखि विभिन्न प्रतियोगितामा समेत सहयोग र सहकार्य गर्दै आएको भलिबल प्रशिक्षक भट्टले बताए । हाल प्रशिक्षण केन्द्रमा झन्डै एक सयको हाराहारीमा खेलाडी प्रशिक्षणरत छन् । १५ खेलाडी प्रशिक्षण केन्द्रमैं बसेर अध्ययन तथा भलिबलको अभ्यास गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here