टोकियो, ३१ वैशाख/सिन्ह्वा
जापानले खरीद गरेको कोभिड–१९ मौखिक औषधिको ७७ प्रतिशत प्रयोग नगरी नष्ट गर्ने तयारी गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
जापान सरकारले महामारीको समयमा ५६ लाख मानिसका लागि मौखिक औषधि सुरक्षित गरेको थियो । त्यसमध्ये ४३ लाख मानिसका लागि औषधि प्रयोगविहीन रहेको क्योदो न्यूजले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार जापानले २० लाखका लागि शिओनोगी एन्ड कम्पनीले उत्पादन गरेको एक्सोभा ट्याब्लेट, १६ लाखका लागि मर्क एन्ड कम्पनीले बनाएको लागेभ्रियो क्याप्सुल र २० लाखका लागि फाइजर इन्कले उत्पादन गरेको प्याक्सलोभिड चक्की सुरक्षित गरेर राखेको थियो ।
औषधिका लागि भुक्तानी गरिएको रकम प्रतिवेदनमा खुलाइएको छैन । तीन खर्ब येन (करीब एक अर्ब ९३ करोड अमेरिकी डलर) मूल्यको अनुमानित बाँकी औषधि म्याद सकिएपछि नष्ट गरिनेछ । जापानले पहिले नै प्रयोग नगरिएका कोभिड–१९ खोपका २४ करोड डोज डिस्पोज गरिसकेको छ । यसको मूल्य छ खर्ब ६५ अर्ब ३० करोड येन (लगभग चार अर्ब २७ करोड डलर) रहेको क्योदो न्यूजले जनाएको छ । रासस