शिष्य : (गुरुको चरणस्पर्श गर्दै) गोड लागतानी गुरुजी ।
गुरु : (शिष्यको शिरमा हात थाप्दै) खुशी रह चेला । गुणी आ संस्कारी व्यक्ति बनीह । देवी सरस्वती के कृपा सदा बनल रहो ।
माथिको संवाद अभिवादनको क्रिया र प्रतिक्रिया हो । यसमा एकअर्काप्रति श्रद्धा, सद्भाव, स्नेह र प्रेम सन्निहित छ, जुन शब्दमा वर्णन गरेर साध्य छैन । सनातन संस्कृतिमा अनुजले चरणस्पर्श गर्ने र अग्रजले शुभभावना व्यक्त गर्ने परम्परा सदीयौंदेखि छ । सामाजिक मान्यता अनुसार नाता र उमेरमा आफूभन्दा जेठो व्यक्तिलाई श्रेष्ठ मानिन्छ । यद्यपि वर्तमान समयमा अपवाद बाहेक धन, सम्पत्ति, पद र पैसा श्रेष्ठताको मानक बनेको छ । एउटा अर्को उदाहरण पनि हेरौं ।
विद्यार्थी : गुड मर्निङ सर ।
शिक्षक : गुड मर्निङ ।
आयतित उपरोक्त अभिवादनमा क्रिया र प्रतिक्रिया एक समान छ । यसमा श्रद्धा अनुभूत गर्न सकिन्न । जबदेखि अङ्ग्रेजी शिक्षाको नाममा शिष्यलाई ‘स्टुडेन्ट’ र गुरुलाई ‘टीचर’ सम्बोधन गर्ने होड चल्यो, तबदेखि गुरु–शिष्यबीच सम्बन्ध बोध गर्न कठिन छ ।
शिष्य एकलव्यले गुरु द्रोणाचार्यलाई गुरु दक्षिणामा औंला अर्पण गरेको पौराणिक इतिहास अवगत नै छ । गुरु र शिष्यबीचको त्यो अन्तरङ्ग सम्बन्ध शब्दमा वर्णन गरेर साध्य छैन । बालबालिकाहरूको पहिलो पाठशाला हो, घर । त्यसैगरी, दोस्रो विद्यालय र त्यसपछि समाज । त्यस कारण परिवार, विद्यालय र समाज, नैतिक/सामाजिक शिक्षाका महासागर हुन् । अनि महासागरमा जे पाइन्छ, बाल मस्तिष्कले ग्रहण गर्ने पनि त्यही हो । उहिले महासागर संस्कारजन्य सुगन्धले भरिपूर्ण थियो । आज आयातित शिक्षा, संस्कार र संस्कृति हावी छ । बालमस्तिष्कमा जे थुपारिन्छ, उसले त्यहीं ग्रहण र अनुसरण गर्छ । आयातित कुरा ग्रहण गरी त्यो बालक एकदिन युवक बनेर महासागरबाट निस्कन्छ । फलस्वरूप उसले ग्रहण गरेको कुरा उसको सन्ततिमा अङ्कुरित हुन्छ नै । यसरी नै समाजमा बाह्य अनुकरण फैलिंदो छ । यस्तै परिवेश रह्यो भने भविष्यमा उपभोग्य वस्तुझैं आयातित शिक्षा, संस्कार र संस्कृतिमा पनि परनिर्भरता नबढ्ने होइन ।
चरणस्पर्श
देशकाल र समुदाय अनुसार अभिवादन गर्ने प्रक्रिया फरक–फरक हुन सक्छ । यद्यपि सनातन संस्कृतिको अभिवादन, पौराणिक परम्पराहरूमध्ये ‘चरणस्पर्श’ पनि एक हो ।
वैज्ञानिकहरूका अनुसार क्रियाको प्रतिक्रिया हुन्छ । तसर्थ, चरणस्पर्श क्रिया हो भने आशीर्वचन प्रतिक्रिया हो । मानव–मानवबीच भेट हुँदा र छुट्टिंदा अभिवादन गर्ने परम्परा छ । उहिले शिक्षार्जनको थलो गुरुकुल थियो । गुरुकुलमा धार्मिक र संसारिक शिक्षासँगै नैतिक र सामाजिक शिक्षा अनिवार्य मानिन्थ्यो । सोही नैतिक शिक्षामध्ये चरणस्पर्श पनि एक हो । गुरुकुलमा शिष्यले गुरुजनको चरणस्पर्श गर्थे । अनि गुरुजनले शिष्यलाई आशीर्वाद दिन्थे । एकअर्काप्रति श्रद्धा, आत्मीयता, माया र स्नेह प्रवाहित गर्ने ग्रहणयोग्य शिक्षा अनुसरण र समय क्रममा पुस्तान्तरण हुँदै आइरहेको छ ।
अग्रज र अनुजको मानक
अनुज र अग्रजको भेद छुट्याउने दुर्ई विधि छन् –उमेर र नाता । परिवार, आफन्त, गाउँँघर र टोलछिमेकमा अग्रज र अनुजको मानक ‘नाता’लाई मानिन्छ । उदाहरणको लागि मानौं काकाभन्दा भतिजको उमेर बढी छ तर पनि काका पर्ने व्यक्ति आफन्त वा छिमेकी, जे भए पनि अग्रज हो । त्यसैले भतिजले काकाको चरणस्पर्श गर्नुपर्छ । हजुरआमा–हजुरबुबा, बुबा–आमा, काका–काकी, चाचा–चाची, दाइ–भाउजू, छोरा–छोरी, छोरी–ज्वाइँ, छोरा–बुहारी, भजित–भतिजी, भदहा–भदही, भान्जा–भान्जी आदि अनेक नाता कालान्तरदेखि स्थापित छन् । नातामा अनुज पर्ने व्यक्तिले अग्रज पर्ने व्यक्तिको चरणस्पर्श गर्ने र आशिर्वाद प्राप्त गर्ने सामाजिक नियम छ ।
त्यसैगरी परिवार, आफन्त, छिमेकीबाहेक बाहिरी दुनियाँमा अग्रज र अनुजको मानक हो–उमेर । त्यस कारण दुर्ईजना अपरिचित व्यक्ति भेट हुँदा उमेरको ख्यालगरी अनुजले अग्रजलाई चरणस्पर्श, नमस्ते वा प्रणाम गर्ने सामाजिक चलन छ ।
नाता अनुसार अनुजले अग्रजको चरणस्पर्श गरिरहँदा ती अनुज अरूका लागि नातामा अग्रज हुन सक्छन् भने अग्रज पनि कसैको सामुन्ने अनुज हुन सक्छ । त्यस कारण अमुक व्यक्ति सधैं अग्रज वा सधैं अनुज हुन्छ भन्ने हुँदैन । स्थान, समय र व्यक्ति अनुसार अग्रज र अनुजको भेद स्वयं छुट्याई सो अनुरूप क्रिया गरिन्छ ।
अचेल घुँडास्पर्श
युवा : (वृद्धको घुँडा स्पर्श गर्दै) गोड लागतानी, बाबाजी ।
वृद्ध : बबुवा खुशी रह । केतना पढले बाड हो ? ठेहुन (घुँडा) छु के प्रणाम करे के कहाँ सिखले बाड ? के सिखवले बा ?
उपरोक्त संवाद व्यर्थ अभिवादनको उदाहरण हो । यहाँ युवकले रीत पु-याइ गरेको अनुभूत हुन्छ । अनि युवकको अर्थहीन शैली वृद्धलाई मन पर्ने कुरै भएन । यहाँ क्रिया जस्तै प्रतिक्रिया प्रवाहित भएको पाइन्छ । धार्मिक स्थलहरूमा देवीदेउताप्रति नतमस्तक हुने र चरण स्पर्श गर्ने मान्यता छ । यद्यपि आधुनिक युवायुवतीहरूले एक हातले मूर्ति स्पर्श गरी तीव्र वेगमा आफ्नो छाती र शिरमा फटाफट स्पर्श गर्ने बानी विकसित भएको छ । यो कोरम औपचारिकताबाहेक केही होइन । यसमा न समर्पण, न श्रद्धा न एकाग्रता अनुभूत गर्न सकिन्छ ।
अभिवादन
अभिवादनका विभिन्न स्वरूप छन् । जस्तै चरणस्पर्श, प्रणाम, नमस्कार, नमस्ते आदि । यी शब्दहरूको उत्पत्ति संस्कृत भाषाबाट भएको हो । हाय, हेल्लो, टाटा, बाय र गुडमर्निङजस्ता अभिवादन आयातित हो । यसमा केवल औपचारिकता पूरा हुने कुरा बोध गर्न कठिन छैन । अभिवादन भन्नाले अग्रज/श्रेष्ठ व्यक्तिको अगाडि झुक्नु हो । अभिवादनले व्यक्तिको नम्रता, सभ्यता, र सद्गुण व्यक्त गर्दछ । त्यसैले अभिवादन शिष्टताको प्रतीक हो । एकअर्काप्रति सम्मान र आत्मीयताको भावना जाग्रत नहुने अभिवादनको कुनै अर्थ छैन ।
चरणस्पर्श संसारमा अन्य कतै नदेखिने परम्परा हो । धार्मिक ग्रन्थहरूका अनुसार देब्रे खुट्टालाई देब्रे हातले र दाहिने खुट्टालाई दाहिने हातले छुनु नै चरणस्पर्श हो । शरीरमा सकारात्मक र नकारात्मक दुवै ऊर्जा हुन्छ । हृदयले सकारात्मक ऊर्जा ग्रहण गर्ने बित्तिकै प्रतिक्रियास्वरूप सकारात्मक ऊर्जा प्रवाह गर्र्छ । अतः चरणस्पर्शले अनुजको सकारात्मक भाव अग्रजको हृदयमा प्रवेश गर्छ र सो हृदयबाट आशीर्वादको रूपमा शब्दमार्पmत सकारात्मक ऊर्जा प्रवाहित हुन्छ ।
अनुजले चरणस्पर्श गर्दा अग्रजको हात अनुजको शिरमा पुग्छ र यो क्रियाले सकारात्मक ऊर्जाको एउटा चक्र बन्दछ । पुरातनकालमा यो प्रक्रिया गुरुकुलको विशिष्ट क्रियाकलापमध्ये एक थियो ।
माथिका तथ्यहरूले अभिवादन गर्ने कार्य धार्मिक वा आध्यात्मिक मात्र नभएर वैज्ञानिक आधारले पनि प्रमाणित हुन्छ । मानव कल्याणको लागि ऋषिमुनिहरूद्वारा उचित अभिवादनको व्यवस्था गरिएको पाइन्छ । आज धेरै अनुपयुक्त र अर्थहीन अभिवादनहरू विकसित भएका छन् । यद्यपि यसले हाम्रो अभिवादनको पुरातन संस्कार महŒव भने कम हुँदैन । पौराणिककालको अभिवादनको वैज्ञानिक पद्धति हो, चरणस्पर्श । यसको उपादेयता कल्पना भन्दा पर छ । त्यसैले यो पद्धति ग्रहण, अनुसरण र पुस्तान्तरण किन नगर्ने ? परिवार, समाज र विद्यालय तहमा अनिवार्य लागू किन नगर्ने ?