पोखरिया नगरपालिका–४ पोखरिया बजारमा वैशाख २८ गतेदेखि सञ्चालित नौ दिने विष्णु महायज्ञमा सो वडाका सातजना दलित वेदी पूजामा सहभागी भएका छन् । उनीहरूलाई महायज्ञ आयोजक समितिले वेदी पूजालगायतका कार्यक्रममा सहज सहभागिता गराए । महायज्ञका लागि दुई महीनादेखि गरिएको चन्दा सङ्कलन, यसै महीनाको ३ गते गरिएको ध्वजारोहण र हिजो गरिएको कलशयात्रामा पनि दलितहरूको सहभागिता थियो । पोखरिया नगरपालिका अहिले
पर्सा जिल्लामा दलित सहभागिता गराउने पालिकामा निर्विवाद देखिएको छ । यसअघि पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकाको मिर्जापुरमा वैशाख ८ गतेदेखि शुरू भएको लक्ष्मीनारायण महायज्ञको वेदी पूजामा दलितलाई बस्न निषेध गरिएको थियो । आफूहरूलाई वेदी पूजामा सहभागी नगराइएपछि त्यहाँको दलित समुदायले कलशयात्रा बहिष्कार मात्र गरेनन्, पूजाका अन्य कार्यक्रम पनि बहिष्कार गरे । उनीहरूले महायज्ञका पूजालगायतका कार्यक्रम बहिष्कार गरे पनि महायज्ञ बिथोल्ने कुनै काम गरेनन् ।

नेपालको संविधानले छुवाछूत स्वीकार गरेको छैन र यसको बर्खिलाप जानेलाई कानूनी कारबाहीको व्यवस्था गरेको छ । पर्साका दलितहरूले भने संविधानमा गरिएको यो व्यवस्था लागू गर्ने अधिकार प्राप्तिका लागि स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदै आएका छन् । तर पनि स्थानीय प्रशासन र महायज्ञ आयोजना हुने पालिकाका जनप्रतिनिधिहरूले दलितहरूलाई यस कुरामा न्याय दिलाउन सकेका भने छैनन् । भन्नका लागि महायज्ञ विश्वशान्ति, देश र समाज शान्तिका लागि आयोजना गरिएको उद्घोष गरिन्छ । तर समाज, देश र विश्वमा नै अपहेलित दलित समाज भने शान्तिको कामना गर्न आयोजित महायज्ञहरूमा नै अपहेलित हुन बाध्य पारिएका दृष्टान्तहरू निरन्तर देखिंदै आएका छन् । वेद, पद्धति र शास्त्रले कर्मको आधारमा ब्राह्मण, क्षत्री, वैश्य र शूद्र गरी चार वर्ण मात्र छुट्याएका छन् । तर हामीकहाँ धर्म, कानून दुवै मान्य छैनन् । यज्ञकर्ता विद्वान् पण्डितहरूले पनि यो कुराको प्रतिवाद गर्नुपर्ने हो तर समाज विरुद्धमा देखिएपछि उनीहरूले पनि शास्त्र र कानूनविपरीत हुने यस प्रकारका गतिविधिविरुद्ध सशक्त आवाज उठाउन सकेका छैनन् । पर्सा जिल्लामा दलितहरूलाई वेदी पूजामा सहभागिता नगराउँदा गत वर्ष पनि विवादहरू भएका थिए ।

वीरगंज महानगरपालिका–१७ अलौं र सखुवाप्रसौनीमा दलितहरूलाई महायज्ञको अन्य कार्यमा सहभागिता गराइयो तर वेदी पूजा गर्न निषेध गरियो । अलौं र सखुवाप्रसौनीका दलितहरूले समाजले गरेको कानून र शास्त्रविरोधी कार्यको सशक्तरूपमा प्रतिकार गर्न सकेनन् र कलशयात्रामा सहभागिता जनाए । त्यहीं छिपहरमाई गापाका दलितहरू चन्दा सङ्कलनमा सहभागी भए, चन्दा दिए तर वेदी पूजामा नबसाउने निर्णय भएपछि कलशयात्रासमेत बहिष्कार गरे । धार्मिक गतिविधिहरू विवादरहित हुनुपर्छ, धर्मले जात, लिङ्ग, वर्ण छुट्याउँदैन, त्यसमा अधर्म गर्ने दुस्साहस कसैले गर्नै हुँदैन । सबैको भलो होस् भन्ने अभिप्रायले गरिने महायज्ञमा पनि सबैको सहभागितामा गरिनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here