नयाँ दिल्ली, २८ वैशाख/एएफपी
उडान तालिकामा दुर्ई दिनको गम्भीर अवरोधपछि विमान सेवाका कर्मचारीको हडताल समाप्त भएको एयर इन्डियाले जनाएको छ ।
ऋणमा डुबेपछि उक्त एयरलाइन्सलाई निजीकरण गर्ने सरकारी प्रयासपछि सन् २०२२ मा भारतीय टाटा समूहले एयरलाइन्सको स्वामित्व लिएको थियो ।
मिडिया रिपोर्टका अनुसार टाटा समूहले कर्मचारीको भर्ती र पदोन्नति जस्ता विषयमा नयाँ नीति सार्वजनिक गरेसँगै कर्मचारीले त्यसको विरोध गरेका थिए ।
एयर इन्डिया एक्सप्रेसका दर्जनौं केबिन क्रू कर्मचारीहरू मङ्गलवार रातिदेखि बिरामी परेको भन्दै काममा आएका थिएनन् । जसले गर्दा एयरलाइन्सले कम्तीमा १७५ वटा उडान ढिलाइ तथा रद्द गर्नुपरेको थियो ।
बिहीवार जारी विज्ञप्तिमा एयरलाइन्सका प्रवक्ताले कर्मचारीसँगको बैठकपछि समयतालिकालाई जतिसक्दो चाँडो लयमा फर्काउन काम गरिरहेको जनाइएको छ । विज्ञप्तिमा अनपेक्षित अवरोधहरूबाट सेवाग्राहीमा पुगेको असुविधाप्रति क्षमा मागिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार एयरलाइन्सले बर्खास्त गरेका कम्तीमा २० जना हडताली कर्मचारीलाई पुनः काममा फर्काएको छ । रासस