प्रस, रौतहट, २७ वैशाख/
मध्यमाञ्चल सिंचाइ डिभिजन कार्यालय नं १ रौतहटका प्रमुख अरुणलाल कर्ण भूमिगत भएका छन् । राजनीतिक दल तथा ठेकेदारको धाकधम्की सहन गर्न नसकेर कार्यालय प्रमुख कर्ण भूमिगत भएको बुझिन आएको छ ।
सङ्घ र प्रदेश सरकारबाट भएका योजना छनोटमा विभिन्न राजनीतिक दलले आफूले सो योजना ल्याएको र आफूले भनेको मानिस सम्मिलित उपभोक्ता समिति गठन गर्न दबाब दिने क्रम बढेपछि सो दबाब सहन गर्न नसकेका प्रमुख कर्ण भूमिगत भएका मध्यमाञ्चल सिंचाइ डिभिजन कार्यालय नं १ रौतहट स्रोतले जनाएको छ ।
कार्यालय कक्षमा रहेका योजनाका पत्रहरू वैशाख २५ गते साँझ जसपाका नेता, कार्यकर्ताहरूले जोरजबरजस्ती खोसेर लगेका थिए । कार्यालय स्रोतका अनुसार दलका नेता, कार्यकर्ताहरूले आफ्नो मानिसको नाममा उपभोक्ता समिति गठन गर्न लगाउने र उपभोक्ता समितिले गर्ने काम ठेकेदारलाई कमिशन लिएर बिक्री गर्ने प्रवृत्ति पछिल्लो समयमा निकै बढेको छ ।
स्रोतले नेता, कार्यकर्ताहरूले एउटा योजना बिक्री गरेर १० देखि २० प्रतिशतसम्म कमिशन लिने गरेका छन् । उपभोक्ता समिति सम्बन्धित वडाध्यक्षको रोहबरमा गठन गर्नुपर्ने प्रावधान छ र वडाध्यक्षहरूले पनि अहिले कमिशनविना उपभोक्ता समिति गठन प्रक्रिया अगाडि नै नबढाउने गरेको बताइन्छ । कमिशन लिने र त्यसपछि योजना सम्पन्न गर्नेतर्फ ध्यान नै नदिने जस्ता कार्यले योजनाका कामहरूमा ढिलासुस्ती बढेको बताइन्छ ।
अहिले सो कार्यालयमा योजनाको नाममा ब्रह्मलुट मचेको छ । आएका योजनाहरू कसरी सफल तरीकाले सम्पन्न गर्ने र विकास प्रक्रियालाई अगाडि बढाउनेभन्दा पनि दलका नेता, कार्यकर्ता अनि जनप्रतिनिधिहरू योजनामा कमिशनकै लुँछाचुँडीमा लागेका छन् ।
मध्यमाञ्चल सिंचाइ डिभिजन कार्यालयका एकजना कर्मचारीले भने–राजनीतिक दलबाट योजना खरीद गर्न १० देखि २० प्रतिशतसम्म कमिशन बाँडिन्छ, वडाध्यक्षलाई उपभोक्ता समिति गठन गर्न पाँच प्रतिशत वितरण हुन्छ, ओभरसियर, इन्जिनीयर र लेखालाई १०/१० प्रतिशत वितरण हुन्छ । त्यसपछिको रकममा विकास कार्य भइरहेको छ, यसैबाट कामको गुणस्तरीयता मापन हुने ती कर्मचारीले बताए ।