प्रस, ठोरी, २५ वैशाख/
ठोरीमा जङ्गल सफारी प्रारम्भ भएको छ । ठोरी–२ मा रहेको जङ्गल रिसोर्टबाट जङ्गल सफारी शुभारम्भ गरिएको हो । ठोरी गापा–२ का अध्यक्ष अमृतकृष्ण सापकोटाको आतिथ्यमा निर्मल ठोरी मध्यवर्ती समितिका अध्यक्ष बालकुमार बस्नेत नेतृत्वको टोलीले जङ्गल सफारीको परीक्षण गरेको थियो ।
जङ्गल रिसोर्टबाट शुरू भएको सफारी इच्छानगर हुँदै शिकारीवास, बुद्धनगरबाट हुलाकी मार्ग हुँदै जङ्गल रिसोर्टमा आई सम्पन्न भएको थियो ।
जङ्गल सफारी परीक्षणको रूपमा सञ्चालन भएको र केही दिनभित्र कानूनी प्रक्रिया मिलाइ नियमितरूपमा सफारी शुरू गरिने निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बस्नेतले जानकारी दिए । जङ्गल सफारी सञ्चालन गर्न सडक मर्मतका लागि समितिबाट रु आठ लाख खर्च गरी कार्य सम्पन्नसमेत गरेको अध्यक्ष बस्नेतले बताए ।
जङ्गल सफारीले ठोरी क्षेत्रमा पर्यटन विकासमा नयाँ आयाम थप्ने, ठोरीको पर्यापर्यटनका लागि थप आकर्षक हुने ठोरी–२ का अध्यक्ष सापकोटाले विश्वास व्यक्त गरे ।
भारतीयहरू र वीरगंजलगायत अन्य स्थानहरूबाट आउने पाहुनाहरूका लागि जङ्गल सफारी अत्यन्त प्रभावकारी हुने, ठोरीको जङ्गलभित्र र बाहिरका बस्तीहरूसमेत यसबाट प्रत्यक्ष लाभान्वित हुने अध्यक्ष बस्नेतले आशा व्यक्त गरे ।
जङ्गल सफारी गर्ने टोलीमा अध्यक्ष बस्नेत, वडाध्यक्ष सापकोटा, नेका ठोरीका सभापति सन्तोष श्रेष्ठ, निर्मल मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष चीनबहादुर श्रेष्ठ, नेकपा एमाले ठोरीका सचिव जोगेन्द्र पौडेल, अमृतधारा होमस्टेका अध्यक्ष यादवराज कुँवर, ठोरी जङ्गल रिसोर्टका सञ्चालक धीरसिंह घिमिरे, रेन्जर दिनेश यादवलगायत सहभागी थिए ।