प्रस, पोखरिया, २५ वैशाख/
छिपहरमाई गाउँपालिकास्तरीय मेयरकप टी–२० क्रिकेट प्रतियोगिता मङ्गलवारदेखि शुरू भएको छ । छिपहरमाई गापाको सहयोग र युवा समाज भिस्वा क्रिकेट क्लबको आयोजनामा आजदेखि सञ्चालित प्रतियोगिताको गापा अध्यक्ष मनोजकुमार गुप्ताले उद्घाटन गरेका थिए । सो अवसरमा उनले युवाहरूलाई खेलकूदमा दत्तचित्त भएर लाग्न आग्रह गरे । उनले खेलकूदको माध्यमबाट युवाहरूको शारीरिक र मानसिक विकास हुनुका साथै अनुशासनको शिक्षा पनि पाउने बताए । उनले खेलकूदको माध्यमबाट पालिका, प्रदेश र देशको नाम विदेशमा चिनाउने सकिने बताए ।
प्रतियोगिता अन्तर्गत पहिलो खेल आयोजक क्रिकेट क्लब भिस्वा र पकहामैनपुर गापा सबैठवाबीच भएको थियो । तर वर्षाको कारण आजको खेल स्थगित भएको थियो । सो खेल भोलि खेलिने आयोजक कमिटीका मनोज पटेलले बताए ।
कार्यक्रममा गापा उपाध्यक्ष लीलावतीदेवी कानू, प्रमुख प्रशासकीय अधिकृत अशोक रौनियार, सशस्त्र प्रहरी बल लहावरथकरीका सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमबहादुर कठायत, वडाध्यक्ष कामेश्वर यादव, महेन्द्र साह कलवार, दीपेन्द्र सिंहलगायतको सहभागिता थियो ।
प्रतियोगितामा आठवटा टीमले भाग लिएको आयोजक कमिटीका पटेलले बताए ।